मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेयर बालेनलाई जितको बधाई !

मेयर बालेनलाई जितको बधाई !

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँमा यो चुनावमा जे हुनुपर्ने थियो त्यही भयो । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) मा बालेन (बालेन्द्र) शाहले जिते । चुनाव हुनु करिब एक साताअघि हिमालयखबरले बालेनले यस पटक जित्नुपर्छ भनेर सम्पादकीय लेखेको थियो । राजनीतिक दल र तिनका आबद्ध कार्यकर्ताको सेन्डिकेटलाई तोड्न पनि बालेनले यस पटक जित्नुपर्छ भन्ने हाम्रो भनाइ थियो । यो लेख्दा हामीले थुप्रै प्रतिक्रिया पायौँ । केही सकारात्मक थिए केही नकारात्मक । चुनावपछिका प्रारम्भिक सर्वेक्षणहरुले बालेनले जित्छन् भन्ने देखाएको थियो । हामीले यही समाचार बनाएका थियौँ । 
 
अहिले चर्चामा रहेको गायक प्रकाश सपुतको पछिल्लो सिर्जना पिरले नेपाली समाजको एउटा यथार्थ उजागर गरेको थियो । राजनीतिक पार्टीको असफलतालाई सपुतले आफ्नो गीतमा चित्रण गरेका थिए । प्रजातन्त्र आयो, गणतन्त्र आयो तर, कयौँ मानिसको जीवन अझै कष्टकर छ । फेरिएको छैन । युवाहरु रोजगारका लागि विदेश पलायन हुन बाध्य छन् । तर, राजनीतिले यसलाई रोक्न सकेको छैन । राजनीतिक पार्टी र तिनका कार्यकर्ताको सेन्डिकेट बढ्दै छ । जसले सेन्डिकेट बनाएका छन् उनीहरु मात्र फाइदामा छन् । 
 
स्थानीय निकायका पदाधिकारी काम आफ्नो सहर वा गाउँलाई राम्रो बनाउने हो । देशको नीति बनाउने होइन । त्यहाँ राजनीतिक दलका उमेदवार नहुँदा पनि हुन्छ ।  स्वतन्त्रले जितेमा प्रजातन्त्र कमजोर हुन्छ । प्रतिगामी शक्तिले टाउको उठाउँछने भन्नेहरु पनि देखिए । यो भनाइ सही होइन । हामीसँग राजनीतिक पार्टीले राजनीति गर्ने यसभन्दा माथिल्ला निकाय पनि छन् । स्थानीय निकायपछि प्रदेश सरकार छ । त्यसपछि केन्द्र सरकार छ । प्रजातन्त्र प्रणालीको सफल प्रयोग गरिरहेको संयुक्त राज्य अमेरिकामा पनि स्थानीय तहमा राजनीतिक पार्टीका उमेदवार हुँदैनन् । पार्टीको आधारमा चुनाव हुँदैन । राज्य र संघीय सरकारका लागि जता भोट हाले पनि स्थानीय निकायमा स्वतन्त्र भनेरै उठ्नुपर्छ । ढिलो वा चाँडो यो नै सही प्रयोग हो । 
 
नेपाली समाज अति राजनीतिले थलिएको छ । ससानादेखि ठूलो नियुक्ति र विकास निर्माण कार्यमा समेत राजनीति हुने गरेको छ । शिक्षा क्षेत्रमा राजनीति छ । स्वास्थ्य क्षेत्रमा राजनीतिक छ । राजनीति हुन नपर्ने थुप्रै क्षेत्रलाई राजनीतिले थला पारेको छ । राजनीतिक पार्टी र नेताले यसलाई आफ्नो सुविधाका रुपमा लिएका छन् । बालेनको जित यसमाथि प्रहार हो । जनता राजनीतिक पार्टीका रैती पनि होइनन् । 
 
बालेनको जित जनताको विद्रोह पनि हो । हाम्रा सहकर्मी तथा अग्रज विष्लेषक शैलेश आचार्यको विष्लेषणमा पञ्चायती व्यवस्था हुँदा नानीमैंया दाहालले राष्ट्रिय पञ्चायत सदस्यमा जितेकी थिइन् उनको जितलाई त्यसबेलाका शासकले बुझेनन् नबुझ्दा पञ्चायत फालियो । अहिले बालेनको जितलाई नबुझ्ने हो भने धेरै बढाडिरन सक्छन् । 
 
मेयर बालेन बधाईका पात्र हुन् । तर, उनले पनि केही गरेर देखाउन सक्नुपर्छ । काठमाडौँका मतदाताका ठूलो आशा पनि छैन । फोहर व्यवस्थापन होस, नगरपालिका र वडाले दिने सेवासुविधा सजिलो होस्, सडक बनुन् यी र यस्तै हुन् । बालेनले पनि चुनावमा ठूला सपना बाँडेका थिएनन् । तर, उनले भनेका केही योजना महत्त्वकांक्षी खालका पनि छन् ।

काठमाडौँवासीले गरेको विद्रोह सही थियो भनेर देखाउने जिम्मेवारी बालेनको हो । मेयर बालेनलाई नयाँ सुरुवातको शुभकामना !