विचार / ब्लग

न्ह्यू बज्राचार्यको दुईसय पचहत्तर रुपैयाँको गितार

प्रकाशित |
न्ह्यू बज्राचार्य परिचय गराउनु पर्ने नाम होइन। उनको नाम आफैं उनको परिचय बनिसकेको छ। फराकिलो परिचय भएकाहरुसंगको छोटो परिचय र भलाकुसारी साँघुरो परिचय भएकाहरुका लागि कति अविषमरणीय हुन्छ त्यो भन्नै परेन। नेपालबाट आएका कलाकार, साहित्य/सङ्गीत सर्जकहरुसंग मन साट्न पाउनु प्रवासमा बसेर भावनामा नेपाल बाँच्नेहरुका लागि कति ठूलो अवसर हो भन्नै पर्दैन।
 
श्रीमती सुनिमा र छोरी भलसासंग पारिवारिक भ्रमणका लागि टेक्ससको ह्युस्टन आइपुगेका न्ह्यूसंग स्थानीय ‘काठमाण्डु करी’ रेष्टुँरामा भेटौं है भन्ने तारादाइको सन्देशले ल्याएको खुसी सायदै व्यक्त गर्न सकिएला। सोमवार मेरी साथी (श्रीमती) घरमै हुने भएकोले प्राय छिट्टै कामबाट घर फर्कन रुचाउने मलाई सोमवार साँझ सातबजेका लागि तय गरिएको न्ह्यूसंगको भेट्घाटले लोभ्यायो। साथीलाई पनि लिन आउँछु, संगै जाउँ भन्दा रुगा लागिरहेकोले जान चाहिनन्। श्रीमती र छोरीसंगै आएका निकै सरल न्ह्यूसंग भेटेर कुराकानी हुन थालेपछि भने साथीलाई लग्न नपाएकोमा थक्क थक्क लाग्यो।
 
न्ह्यूसंग हामी सबैको पहिलो प्रत्यक्ष साक्षात्कारको मौका मिलाएका थिए- ह्युस्टनका सामाजिक अगुवा एवम् अग्रज पत्रकार जोडी तारा बराल र बिटु केसीले। तारा दाइ र बिटु भाउज्यूको आतिथ्यतामा ह्युस्टनमा आएकाबेला उहाँहरुकै आग्रहमा केही सीमित व्यक्तिहरुसंग ‘डिनर’ भेटघाटका लागि तयार भएका न्ह्युको परिवारसंगको केही घण्टाको साक्षात्कार सम्झिरहने खालको भएको छ।
ह्युस्टनका सामाजिक अगुवा एवम् अग्रज पत्रकार जोडी तारा बराल र बिटु केसी
ह्युस्टनका सामाजिक अगुवा एवम् अग्रज पत्रकार जोडी तारा बराल र बिटु केसी
नेपाली रेष्टुँरामा नेपाली परिकारसंगै मन पर्ने ‘कम्पोजर’संग गफिन पाउनु पनि कम्ता मज्जाको कुरा होइन। नेपाल बाहिर नेपाली सङ्गीतको चाख लिनेहरुको भीड्ले तानेर त नेपाली गीत-सङ्गीतका हस्तिहरुलाई प्रवासका नेपालीहरुकाबीच ल्याइदिन्छ। यो आशक्ति दोहोरो छ। देशबाट टाढा भएकाहरुले देश बाँच्ने भनेकै नेपाली भाषा, कला-संस्कृति र नेपाली सङ्गीतहरुका साथमा हो। भावनामा देश बोकेर बसिरहेकाहरुसंग त्यही देश बोक्ने एउटा माध्यम बनेको सङ्गीतका कुरा गर्न पाउनु सर्जकहरुका लागि पनि अवसरकै कुरा हो। सायद हामीले न्ह्यूसंग करिब तीन घण्टा त्यही देश बाँच्यौं, देशका कुरा गऱ्यौं अनि समकालीन नेपाली गीत-सङ्गीतको चिरफार गऱ्यौं।
 
न्ह्यूसंग कुरा गर्ने अनि ‘नेपाल आइडल’ र ‘सारेगमप लिटिल च्याम्पका’ कुरा नगर्ने भन्ने त हुनै सक्थेन। न्ह्यूको नेतृत्वमा रहेको निर्णायक समूह हुँदाको तेश्रो सिजनसम्मको नेपाल आइडल र हालै मात्र सकिएको चौथो सिजनको नेपाल आइडलबीचको भिन्नता, दर्शकको हैसियतको हाम्रो चासोका कुरा पनि भए। चौथो सिजनले खासै प्रवासी नेपालीहरुको ध्यान खिच्न नसकेको हामी छलफलमा सहभागी धेरैलाई लागेको रहेछ। अघिल्ला तीन सिजनसम्म सकेसम्म कुनै इपिसोड् नछोड्ने म आफैंले चौथो सिजनको समापन भैसकेको चारदिन पछि मात्र थाहा पाएको हो। बरु यो पाली न्ह्यूको निर्णायक टोली सारेगमप लिटिल च्याम्पतिर लागेपछि हाम्रो ध्यान पनि त्यसैले खिच्यो। नेपाली बाल-प्रतिभालाई उजिल्याउन न्ह्यू र निर्माण समूहको योगदान निकै कदरयोग्य छ।
 
फरक धारको सङ्गीत सृजनालाई प्राथमिकतामा राखेर तीनदशक भन्दा बढी समयदेखि नेपाली गीत-सङ्गीतको श्रीबृद्धिमा लागेका सङ्गीत सर्जक न्ह्यू बज्राचार्यले गरेका सङ्गीत कर्मका बारेमा थोर बहुत खोतल्नु सान्दर्भिक नै हुने ठानेकाले उनका साङ्गीतिक यात्रालाई नियाल्ने पनि यो आलेखमा प्रयास गरिएकोछ।
 
करिअरको सुरुवाति दिनहरु
साथी रोशन शाक्यले रेडियो नेपालमा गाएको गीत ‘बचन देउ मेरी माया’का लागि साथी बलराजसंग मिलेर गरेको सङ्गीत नै उनको पहिलो संगीत सृजना थियो। पहिलो पटक सङ्गीत दिएको गीत रेडियो नेपालमा रेकर्ड भएको कुरा कैयनलाई आफैं सुनाउँदै हिंडेको कुरा सम्झँदा रोमान्चित हुने बज्राचार्यको कुनैबेला रेडियो नेपालमा निकै बज्ने गीत ‘नआउ सपना भरी’ गीतले भने उनलाई सङ्गीत सृजनामा लाग्न उत्प्रेरित गरिरह्यो। यस अघि करिअरको शुरुवात तिरै करिब तीन दशक अघि महजोडीको ‘पन्ध्र गते’ टिलिसिरियलमा समावेश ‘सय थरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ गीतका लागि उनले दिएको सङ्गीतले न्ह्यूलाई नेपाली सङ्गीत जगतमा चिनाउने काम गरेको थियो।
 
ओराली लागेको हरिणको चाल भो, फूलको आँखामा फूलै संसार, लैजा चरी मेरो खबर, तिमी आएनौ क्या बोर भो, शान्ति लुकाउँ कहाँ?, आधि बाटो हिंडेपछि, नआउ सपना भरी, जस्ता दर्जनौं उच्चकोटीका गीतहरुमा सङ्गीत भरेका न्ह्यू संभवत समकालीन नेपाली सङ्गीत क्षेत्रका सबभन्दा रुचाइएका संगीतकार हुन् भन्दा फरक पर्दैन। नारायण गोपाल, नातीकाजी, गोपाल योन्जन, शिवशंकर, जस्ता सङ्गीतिक अग्रजहरुलाई आदर्श मानेर सङ्गीत क्षेत्रमा लागेका बज्राचार्यले अरुणा लामा, योगेश्वर अमात्य देखि रामकृष्ण ढकाल, उदय-मनिला सोतान, आनी छोइङ्ग डोल्मा र नेपाल आइडलले जन्माएका नयाँ पुस्ताका गायक/गायिकाका चर्चित गीतहरुमा समेत सङ्गीत गरेका छन्।
 
न्ह्यूको पहिलो गितार
न्ह्यूको पहिलो गितार
न्ह्यूको पहिलो गितार
तारा दाइको परिवार बाहेक हामी सबैले न्ह्यूलाई पहिलो पटक भेटेको भएपनि उनी अत्यन्त सहजरुपमा प्रस्तुत भए। भलाकुसारीका क्रममा कहीं कतै उनले नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो अग्लो परिचयलाई अगाडि ल्याएनन्। जाडो विदामा फर्पिंग स्कूलको होस्टलबाट घर आएका बेला आमाले गितार किन्न पैसा दिन्छु भन्दा खुसीले रातभरी आँखा झिमिक्क नपारी बिहानै गएर आफ्नै शिक्षकसंग २७५ रुपैयाँमा पहिलो गितार किनेका न्ह्यूले त्यो बेला अहिलेको न्ह्यू बज्राचार्य बन्ने त कल्पना समेत गरेका रहेनछन्।
 
न्ह्यूको बारीको कान्लो
बारीलाई कान्लो चाहिएको छ। खेतलाई आली चाहिएको छ। मेरो देशको सिमानामा भने पर्खाल होइन, नेपाली चाहिएको छ। ‘बारीको कान्लो’ शीर्षकको गीत बज्न सुरु गर्दा सुनिने यो छोटो तर निकै ओझिलो उद्धरण सुन्दा नै गीतले बोकेको महान राष्ट्रिय भावनाले सगरमाथा छोइसकेको हुन्छ। न्ह्यूको बेजोड् सङ्गीतमा तयार भएको र बज्राचार्य आफैं सहित गीतकार निष्प्रभ साजी र समूहको राष्ट्रिय जागरण गीत ‘बारीको कान्लो’ संभवत एक दशक भित्र बनेको सबभन्दा सशक्त देशभक्तिपूर्ण गीत हुनुपर्छ। युवाहरुको रगत तताउने गीत ‘बारीको कान्लो’का शब्दहरु पनि कम ‘ताप’ दिने खालका छैनन्।
 
‘बारीको कान्लो मिचियो, केही बोलिन,
त्यो छिमेकी थियो, 
गाह्रो पर्दा काम लाग्ने, त्यही त थियो।
खेतको आली मिचियो, केही बोलिन,
त्यो गाउँले थियो,
मर्दा पर्दा काम लाग्ने, त्यही त थियो।
यसपाली त अचम्मै भो, देश मिचियो,
देशै मिचियो मेरो, देशै मिचियो।
 
बारम्बार विभिन्न हर्कत मार्फत नेपाली सीमा मिचिरहने भारतीय गतिविधिसंग सम्बन्धित बज्राचार्यको सङ्गीत रहेको गीत ‘बारीको कान्लो’ भारतीय हस्तक्षेपका विरुद्ध नेपाली संगीतकर्मीहरुको बुलन्द प्रस्तुति हो। ‘बारीको कान्लो’मा उत्कृष्ट सङ्गीत भरेर न्ह्यूले आफ्नो अब्बलता मात्र देखाएका थिएनन्, युवाहरुलाई देशका विरुद्ध आइलाग्नेहरु माथि जाइलाग्ने उर्जा समेत भरेका थिए।
 
दर्जनौं नेपाली सिनेमाहरुमा समेत संगीत गरेका बज्राचार्यका सयौं सदाबहार कर्णप्रिय गीतहरुले नेपाली सङ्गीत क्षेत्र धन्य भएको छ।
 
आफू धेरै मिलाएर बोल्न नजान्ने भन्ठान्ने न्ह्यूले तीन घण्टा भन्दा बढी समय हामीसंग आफ्नो सङ्गीत सृजनाका कुरा संगै ‘नेपाल आइडल’ र ‘सारेमगमप लिटिल च्याम्प’मा ‘प्रमुख जज’ हुँदाका अनुभव भने मज्जाले खुलेर सुनाए। नेपाली सङ्गीत जगतमा लोकप्रिय भइसकेका न्ह्यूलाई सङ्गीत ‘रियालिटी सो’ नेपाल आइडलले झनै लोकप्रिय र स्थापित गर्न मद्धत गरेको उनको आफ्नै अनुभव पनि रहेछ।
 
न्ह्यूसंग हिमालयखबरका सह-सम्पादक सुजन पण्डित
न्ह्यूसंग हिमालयखबरका सह-सम्पादक सुजन पण्डित
साङ्गीतिक रियालिटी सोहरुमामा हामीले देख्न नपाएका कुराहरु सुन्ने हाम्रो इच्छा पनि न्ह्यूले सहजै पुरा गरिदिए।’रियालिटी सो’हरुले प्रतिभावान नयाँपुस्तालाई साङ्गीतिक आकासमा फैलन मद्धत पुगेको विश्वास न्ह्यूको रहेछ। हुन पनि लगातार तिन वटा नेपाल आइडलमा जज भएर न्ह्यू, इन्दिरा र कालीप्रसादको निर्णायक समूहले दर्जनौं नवप्रतिभालाई जन्माइदिएको छ भन्दा फरक पर्दैन। बुद्ध लामा, रवि ओद र सज्जा चौलागाईंलाई नेपाल आइडल बनाउन मात्र होइन निशान भट्टराई, अस्मिता अधिकारी, सुमित पाठक, विक्रम बराल, प्रविन बेडवाल, पवन गिरीहरुलाई गायन क्षेत्रमा चिनाउन पनि न्ह्यूहरुकै योगदान छ। अहिले गायन क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी रचना रिमाललाई न्ह्यूले नै झापाबाट नेपाल आइडलको मन्चमा ल्याएका थिए।  गायक/गायिकाको गलाको स्तरलाई मापन गरेर सङ्गीत सृजना गर्नसक्ने कला भएका सङ्गीत सर्जक न्ह्यू बज्राचार्यले नेपाली सङ्गीत क्षेत्रलाई लगाएको गुन तीन दशकदेखि नेपाली गायक/गायिकाहरुले उनको धुनमा गाएर तिरिरहेका छन्।
 
हामीजस्ता स्रोता/दर्शकहरुले भने उनको धुनको गीतको रसस्वादन गरेर मज्जा लुटिरहेका छौं। दुर्गालाल श्रेष्ठको सुन्दर रचना ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’मा उनले आनीको लागि बनाएको धुन मात्र होइन, नेपाली गीत-सङ्गीतप्रति मोह बढाउने सृजनात्मक योगदान समेत गरेका छन्। ‘रामकृष्ण ढकालको चर्चित गीत  ‘ओराली लागेको हरिणको चाल भो’ जस्तो हिट नम्वर न्ह्यू कै सृजना थियो, जसले रामकृष्ण ढकाललाई मात्र होइन न्ह्यू आफैंलाई पनि नेपाली साङ्गीतिक फाँटमा अगुवा साबित गरेको थियो। चलिरहेको भन्दा पृथकशैलीको सङ्गीत सृजनामा न्ह्यूले छलाङ नै लगाएका हुन्। फरक धारलाई पछ्याएर करिअर बनाउन कस्सिनु पनि कम्ता जोखिम थिएन होला। त्यो सबै जोखिम मोलेर त अहिले मदन कृष्णले आफ्नी धर्मपत्निलाई समर्पित गरेको र न्ह्यूकै धुनको मार्मिक गीत ‘अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे’को धुन जस्तै करोडौ नेपालीहरुको मन मिल्ने भएकाछन् सङ्गीतकार भएकाछन्—लोकप्रिय न्ह्यू बज्राचार्य।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया