मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

रुइबाः एउटा दमित आवाजको ज्वारभाटा

रुइबाः एउटा दमित आवाजको ज्वारभाटा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वी नेपालको इलाम जिल्ला जन्मस्थान भई काठमाडौँ र चीनको बेइजिङलाई मुख्य कर्मथलो बनाएर पत्रकारिता पेशामा जमेका चेतनाथ आचार्यको एक सशक्त उपन्यास हो ‘रुइबा’। रुइबा खास गरेर नेपाली विपन्न वर्गको एक पीडित महिलाको आत्मकथामा आधारित सामाजिक यथार्थवादी उपन्यास हो। यस आलेखमा पङतिकारले उपन्यासको संक्षिप्त समीक्षा गर्ने प्रयास गरेको छ।
 
नेपालको वागमती प्रदेशमा पर्ने धादिङ जिल्लाको पाबाङ गाउँकी एक तामाङ समुदायकी चेली ‘न्याउली’ को जीवनका आरोह र अवरोधका पीडा बताउने एक सशक्त सामाजिक यथार्थवादी उपन्यासका रुपमा रुइबालाई लिन सकिन्छ। गरिब परिवारकी न्याउली धन कमाउने प्रलोभनमा परेर विदेसिने निर्णयमा पुग्छिन्। त्यो निर्णयसँगै उनी चीनको जेलसम्म पुग्नुपर्ने वाध्यतामा परेको कहालीलाग्दो कहानीको चिरफार गरेको छ रुइबाले।
 
जीवनमा पीडा, अभाव र दुःख सिवाय केही भोग्न नपाएकी न्याउली बरु खोलेफाँडो खाएर भए पनि आफ्नो गाउँमै खुशीसँग बसेकी थिइन्। यो उपन्यास नेपालका विपन्न आदिवासी जनजाति महिलाको आम आत्मकथा बोकेको उपन्यास हो। न्याउली त केबल एउटी प्रतिनिधि पात्र मात्र हो। यस्ता अरु हजारौँ न्याउलीहरुको कथा कसले ओकलिदिने?
 
जे होस् आख्यानकारले कम मात्र लेखकको पहुँच हुने ठाउँसम्म पुगेर नेपाली दूताबासको सहयोगमा न्याउलीको कथा सार्वजनिक गरिदिएकामा उनलाई सबैले धन्यवाद दिनैपर्छ।
 
यो उपन्यासमा केवल न्याउलीको कथा मात्र चित्रण भएको छैन बरु तामाङ समुदायको संस्कृति र परम्परालाई समेत सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। समाजका सिमान्तकृत वर्गभित्र पर्ने तामाङ समुदयाभित्र रहेका छोरी चेलीलाई हेर्ने दृष्टिकोण र उनीहरुको जीवन कति कष्टकर छ भन्ने सजीव वर्णन पनि छ। अर्कातिर उपन्यासले चीनको पनि सामाजिक सांस्कृतिक पक्षलाई समेट्ने प्रयास गरेको छ। 
 
यो उपन्यास विल्कुल फरक सामाजिक परिवेशमा जेलिएको छ। पाबाङ गाउँ जो एउटा निकै पिछडिएको तर प्राकृतिक रुपमा अत्यन्त सुन्दर ठाउँको परिवेशलाई उपन्यासमा अत्यन्त सजीव र कलात्मक रुपमा चित्रण गरिएको छ। वास्तवमा पाबाङले समग्र नेपालको ग्रामीण अवस्थालाई प्रतिनिधित्व गरेको छ भन्दा अत्युक्ति हुँदैन।
 
ग्रामिण परिवेशको मुख्य समस्या गरिबी र अभाव हो भने कथित सहरिया समजाको मूल समस्या मानवीय चेतनाको अभाव हो। यही दुईवटा पाटोलाई उपन्यासले विश्लेषण गर्ने प्रयास गरेको छ। 
 
समृद्धिको प्रलोभनमा परेर कसरी मानव तस्करहरुले हाम्रा अबोध ‘न्याउली’हरुको बेचबिखन गरिरहेका छन् भन्ने कुरालाई उपन्यासले पर्दाफास गरेको छ। मानव तस्करी कसरी हुन्छ र यसका लागि सेटिङको भूमिका कसरी फस्टाएको छ भन्ने एउटा ज्वलन्त उदाहरुण हो न्याउलीको भोगाइ। उपन्यासको मूल मर्म पनि यही हो।
 
मानव तस्करको चङ्गुलमा परेर चीनको जेलमा विना कसुर भोग्नुपरेको सजायको कति मूल्य होला? हाम्रो समाजमा मौलाएको अपराधीलाई राजनीतिक संरक्षण गरिने घिनलाग्दो परिपाटी पनि उपन्यासले समेटेको भए अझै सशक्त हुने थियो। तथापि यो पक्षलाई पनि केही हदसम्म सम्बोधन गर्ने प्रयास गरेको छ रुइबाले।
 
मानव तस्कर र लागू पदार्थ कारोबारीको चङ्गुलमा परेर आफ्नो रोजीरोटीका लागि उनीहरुको सामान ओसारपसार गर्दा अज्ञानतावस लागू पदार्थ बोक्नु उनको रहर होइन वाध्यता हो। जीवन बाँच्ने आशा हो। अर्कातिर यस उपन्यासले नेपालबाट चीनमा हुने गरेको लागू पदार्थको कारोबारको पक्ष समेत उजागर गरेको छ। मानवीय मूल्य र मान्यताहीन पैसा पिपासु दलालहरुको चङ्गुलमा परेर आफ्नो संवेदनशील अङ्गको प्रयोग गर्दै लागू पदार्थ ओसारपसारको अपराधमा आजीवन चीनको जेलमा बिताउनुपर्ने जेल सजाय कम भावुक कथा हैन।
 
जब न्याउली चिनियाँ जेलमा पुग्छिन्, उनको नाम र पहिचान बदलिन्छ। उनी न्याउलीबाट ‘स्याउन्याओ’ हुन्छिन्। यहाँ आख्यानकारले नेपाली तामाङ संस्कृति र चिनियाँ संस्कृतिको तुलना गर्न खोजेको भान हुन्छ। चिनियाँ शब्दहरुको प्रयोग चिनियाँ पर्व ‘चुङ छ्यो च्ये’ लाई प्रतिनिधिका रुपमा लिन सकिन्छ। 
 
उपन्यासमा २९ वटा विभिन्न शीर्षकमा कथाहरु जोडिएका छन्। २९ कथामध्ये गणेश हिमालको काखमा, औँशीमय आमा, मायाका बिरुवा, हड्डी बाहेक सबथोक दोर्जेको, घामछाया, निःशब्द छ्योर्तेन, निभेको बत्ती र आङीका आँशु ८ वटा कथा धादिङको पाबाङ र आसपासमा जन्मिएका छन्। यी कथाले तामाङ संस्कृतिमा जन्मदेखिका संस्कारहरुलाई स्थानीय पात्रका माध्यमबाट पाठकलाई भरपूर जानकारी दिएका छन्। तामाङ समुदायको बाहुल्य रहेको उत्तरी धादिङका बासिन्दाको आपसी मेलमिलाप, पाबाङको प्रकृति चित्रण, भूगोल, परिवेशलाई सजीव र कलात्मक ढङ्गको प्रस्तुतिले सो क्षेत्रको भूगोललाई पाठकका आँखाका पर्दामा ठोक्काउने गर्छ। 
 
उज्यालोको खोजीमा, कंक्रिटभित्र एउटा मन, जिउँदो लाश, इमानदार साथी, ब्वाँसा र हुँडारको बथानमा, उक्किएको खाटो गरी ६ वटा कथाले काठमाडौँको विद्रुप चित्र बोलेका छन्। लेखकले पाबाङ र काठमाडौँलाई तुलना गरेका छन्। कहाँको पाबाङको स्वच्छ हावा, कहाँको काठमाडौँको दूषित बायु! सहरको आधुनिक पहिचानले मानवता गुमाएको, काठमाडौँ खाल्डो अपराधको कुण्डमा परिणत भएको, आर्थिक अभावमा पिल्सिएका व्यक्तिको जीवनभन्दा कुकुरको जीवन राम्रो रहेको जस्ता कुरालाई बिम्ब र घटनाबाट पुष्टि गर्न खोजेका छन् लेखकले। यदि साँच्चै उपन्यासमा वर्णन गरेजस्तै काठमाडौँ उपत्यकाको पहिचान स्थापित हुँदै जाने हो भने यो अन्तर्राष्ट्रिय लज्जाको विषय हो। यद्यपि यो आख्यान हो र लेखकको निजी विचार पनि। 
 
उपन्यासमा वर्णित अन्य १५ वटा कथाहरुले चिनियाँ परिवेश बोकेका छन्। सपनाको उडान, पिँजडामा, जीवन दर्शन, नेपाली चिया, सानी चरी, भरोसा, मृत्यु कुर्नु रे, मनका कुरा, ममता, फूलको प्रतीक्षा, आयुको बोझ, धोको, हेराइ, निरर्थक प्रयास र न्याउलीको बिरह मार्फत पाठकले चीनका बारेमा अहिलेसम्म थाहा नपाएका जानकारी प्राप्त गर्दछन्। नेपाल र चीन छिमेकी मित्रराष्ट्र भए पनि चीनका बारेमा यथेष्ट जानकारी नेपालीहरुमा छैन। रुइबा उपन्यासले चीनका बारेमा यस्तो जानकारी दिएको छ जुन इन्टरनेटमा खोजेर पनि प्राप्त गर्न सकिँदैन। नितान्त नवीन र चाखलाग्दो कुराको जानकारीले उपन्यासलाई थप गहकिलो बनाएको छ। 
 
रुइबा उपन्यासले विगत ७२ वर्षदेखि कम्युनिष्ट सत्ता बोकेको चिनियाँ समाजको अवस्था, हजारौँ वर्षदेखि प्रचलनमा रहेको चिनियाँ मान्यता र विश्वास, चिनियाँ समाजमा महिलालाई हेरिने दृष्टिकोण अनि यौन र आर्थिक चाहनाले ल्याउने पारिवारिक विच्छेद जस्ता चिनियाँ समाजका नवीन कुराको जानकारी बोनसका रुपमा दिएको छ।
 
रुइबा उपन्यासमा कहीँ पनि लेखक बोल्दैनन्। सबै ठाउँमा न्याउलीले आत्मकथा भनेकी छन्। न्याउली एउटा निरक्षर महिलाको लवज परिवर्तन हुँदै जान्छ। पाबाङबाट काठमाडौँ पुगेपछि तामाङ भाषाको लवज फेरिएपछि उनी शुद्धसँग नेपाली बोल्न थाल्छिन्। अनि चीनको जेलमा पुगेपछि उनले तामाङ भाषा र नेपाली भाषा बिर्सदै गएर चिनियाँ भाषामा अभ्यस्त हुन्छिन्। 
 
कतिपय उपन्यासमा लेखकले कोरा आदर्श व्यक्त गर्ने अथवा पाठकलाई उपदेशको भारी बोकाउने काम गरेका हुन्छन्। तर रुइबा उपन्यासमा चेतनाथ आचार्यले केही बोलेका छैनन्। उनी त न्याउलीका संवाद मात्र पोख्छन्। न्याउलीका संवाद सामान्य छन्। पात्रभित्र पसेर उनका अन्तरकुन्तरका भावनालाई तान्न सक्नु आचार्यको खुबी हो र उपन्यासको केन्द्रीय भाव पनि यही हो। उपन्यासको सुरुमा आउने ‘सूत्रपात’ र अन्तिममा रहेको ‘जलेको हिमाल’ दुईवटा च्याप्टरमा मात्र लेखक बोलेका छन्। 
 
उपन्यासको अन्तिममा न्याउलीको विरह शीर्षकमा उनले गरेका विलौना र उनका यथार्थ चित्रणले पाठकलाई रुवाउँछ। आफ्ना छोराछोरीको अनुहार कस्तो भयो होला, आमा बाँचेकी छन् कि मरिसकिन् न्याउलीलाई केही थाहा हुँदैन। आफ्नै छोरीको फोटो देखाउँदा पनि चिन्दिनन् उनी। बाल मन्दिरमा आफूले दान दिँदाकी तीन वर्षे बालिकाकै रुप उनको दिमागमा बसेको छ। 
 
रुइबा उपन्यासभित्र वियोगान्तका थुप्रै कथा उनिएका छन्। पाठकलाई बारम्बार भावुक बनाउने र छिनछिनमा रुवाउने संवाद र घटनाले क्लान्त बनाउँछ। न्याउलीको जिन्दगीमा पाइलैपिच्छे ठेस लाग्छ। जीवनका हरेक घुम्तिमा उनी हण्डर खान्छिन्। आमा र लामाले उनलाई विश्वास गर्न सिकाएका छन्। तर, त्यही विश्वासले उनलाई हरेकपटक भडखालोमा हाल्ने गर्छ। गणेश हिमालको संरक्षणमा बालापन बिताएकी न्याउलीलाई त्यही हिमालका सामुन्ने लुछिन्छ, धुतिन्छ, च्यातिन्छ र क्षतविक्षत बनाइन्छ। तै पनि उनी भन्छिन् ‘अरुको कुभलो चिताउनु हुँदैन।’
 
उपन्यासको नाम किन रुइबा रह्यो भन्ने कुरा थाहा पाउनलाई पूरै उपन्यास पढ्नुपर्छ। धेरै नेपालीलाई यो शब्द थाहा नहुन सक्छ। अझ कतिपय तामाङ समुदायका व्यक्ति पनि रुइबाको बारेमा बेखबर हुन सक्छन्। रुइबा तामाङ भाषाको शब्द हो र यसले तामाङ संस्कारमा गहन अर्थ बोक्ने गर्छ। छोटकरीमा भन्नुपर्दा रुइबाको अर्थ वंशज हो। उपन्यास छिचोलेपछि मात्र रुइबाको अर्थ पाठकको दिमागमा पस्ने गर्छ।