मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

युलेसमा भव्य रूपमा मार्च १९ तारिक शनिबारका दिन होली खेलिने

युलेसमा भव्य रूपमा मार्च १९ तारिक शनिबारका दिन होली खेलिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युलेस (टेक्सस)- युलेसनिवासी नेपालीहरुले वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको रुपमा मनाइने होली कार्यक्रम आयोजना गर्ने भएका छन् । युलेस सिटी नेपालीको ठुलो जनसंख्या रहेको स्थान हो । डीएफडब्लू अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलेस सिटीमा करिब दश हजार नेपालीको बसोवास रहेको अनुमान छ ।

युलेस नेपाली समाज र हिमालय खबर डटकमले संयुक्त रुपमा विगतमा जस्तै यस वर्ष पनि आगामी मार्च १९ तारिक शनिबारका दिन दिउँसो २:०० देखि बेलुका ६:०० बजेसम्म युलेसस्थित बियर क्रिक पार्क (1951 Bear Creek Pkwy, Euless, TX 76039) मा होली कार्यक्रम आयोजना गर्न लागेको युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेल र हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले बताउनुभयो । 
 
यो कार्यक्रम विशुद्ध रुपमा पारिवारिक जमघट र मनोरञ्जनका लागि आयोजना गरिएको हो । आयोजकका अनुसार यस्ता कार्यक्रमले एकअर्काप्रति भाइचारा सम्बन्ध कायम हुनुका साथै मित्रवत् सद्भाव सदैव कायम रहने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो । नेपाली समुदायका भावी पुस्तालाई नेपाली धर्मसंस्कृतिका बारेमा जानकारी दिन र यिनीहरुको संरक्षण गर्नका लागि नेपाली समाजले होली कार्यक्रम गर्दै आएको प्रोग्राम कोनिनेटर लिला श्रेष्ठ, बिकास भण्डारी, रामकृष्ण सेडाइ, राम चन्द्र भट्ट, बाबुराम दाहाल लगाएतले बताउनु भयो ।
 
युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले युलेस, डालस, फोर्टफोर्थस्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्ध‍िजीवी, व्यवसायी, समाजसेवी, पत्रकार, बुबा-आमा, दाजु-भाइ, दिदी-बहिनी एवम् नेपाल र नेपालीको संस्कृतिप्रति आस्था र चासो राख्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई एकआपसमा होली खेलेर नेपाली धर्म-संस्कृतिको पहिचाहन एवं संरक्षण गराउने कार्यक्रमलाई सहयोग गर्न अनुरोध गरेका छन् । 
 
असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतिकको रुपमा मनाइने होली नेपालमा फागुन शुक्ल अष्टमीको दिन वसन्तपुरस्थित गद्दिबैठकअगाडि रङ्गीचङ्गी पारेर गाडिएको चीरमा पूजा गरेपछि विधिवत् रुपमा सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने गरिए पनि विशेषगरी नेपालको पहाडी क्षेत्रमा फागुन पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपालसँगै भारत, पाकिस्तान, जापान, थाइल्यान्ड, अस्ट्रेलिया, इङ्गल्यान्ड, अमेरिकालगायतका देशहरुमा भव्यताका साथ मनाइन्छ । तर, परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले यसको अगाडि वा पछाडिको शनिबार तथा आइतबार पारेर मनाउने चलन रहेको छ । 
 
दैत्यराज हिरण्यकशिपु विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा बस्न लगाउँदा आगोले होलिका आफैँ भष्म भएको तर विष्णुभक्त प्रह्लादलाई  केही नभएकाले त्यही बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलिका मारिएको खुसियालीमा होली खेल्ने चलन चलेको हिन्दुशास्त्रमा उल्लेख गरिएको छ । त्यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंसद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा विष लगाएर कृष्णलाई दूध चुसाउँदा कृष्ण मर्नुको सट्टा पुतना आफैँ मरेकाले त्यो खुसीको उपलक्ष्यमा ब्रजवासीले फागु अर्थात् होली मनाउन थालेको जनश्रुति रहेको छ ।