मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

टीका रोएको त्यो दिन र सलमान हाँसेको यो दिन

टीका रोएको त्यो दिन र सलमान हाँसेको यो दिन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्ससको अर्भिङ सिटीमा ‘बाजेको सेकुवा’ नामको एउटा रेष्टुरेन्ट छ । काठमाडौंबाट न्यूयोर्क हुँदै टेक्सस झरेको बाजेको सेकुवा यो साता सबसे चर्चित थलो भयो । बाजेको सेकुवामा उभिएर लिइएको केही थान फोटाहरुले अमेरिकाको नेपाली समुदायदेखि लिएर नेपालसम्मै चर्चा पायो । 
 
रेष्टुरेन्टमा खाना मात्र खाइदैन । कहिलेकाँही विशेष जमघट, भेला भैरहन्छन् । अमेरिकाको नेपाली समुदायले सानातिना कार्यक्रमहरु पनि रेष्टुरेन्टमै गर्दै आएका छन् । कार्यक्रमपछि सम्झनाका लागि फोटोसेसन गर्ने चलन नौलो पनि होइन । तर बाजेको सेकुवाको फोटोसेसन निकै महंगो साबित हुनपुग्यो । पाकिस्तानी मुलका, युलेस सिटी निवासी सलमान भोजनीले फोटोसेसन नगरेको युलेसका कुनै नेपाली बाँकी छैनन् । सन् २०१७ र २०१८ मा भएका सिटी काउन्सिलको चुनावमा उनी हरेक नेपालीका घर पुगे । उनले डोरबेल नथिचेको कुनै नेपालीको घर, अपार्टमेन्ट शायद छैनन । 
 
तर यसपटक टेक्ससको नेपाली समुदायले गिनेको, चुनेको व्यक्तिहरु ‘भोजनी फर टेक्सस’ लेखिएको फ्लेक्स बोकेर भएको फोटोसेसन बाहिरिएपछि सुरु भएको तरंग आजका दिनसम्म पनि साम्य भएको छैन । फोटोमा भोजनी र उनी पत्नी निमा भोजनी प्रफुल्लित मुद्रामा हाँसेर उभिएका छन् । 
 
अमेरिका संसारमा प्रजातान्त्रिक प्रकृयाको उत्कृष्ठ अवलम्बन गर्ने मुलुक हो । यहाँ नेता हुन जेलनेल खेपेको रेजुमी चाहिँदैन । वर्षौदेखि राजनीतिलाई पेशा नै बनाएको हुन पनि जरुरी छैन । मात्र पार्टीका सदस्य र जनताले विश्वास गरेर मतदान गरे भने शासनसत्तामा पुग्न पाउने मुलुक हो अमेरिका । 
 
यस्तो मुलुकलाई कर्मथलो बनाएका नेपालीहरुले दक्षिण एसियाली मुलुकमा पर्ने पाकिस्तानी मुलको व्यक्तिलाई समर्थन गर्न कसैले अवरोध गर्न सक्दैन । तर मुख्य कुरा भोट कस्लाई दिने भन्ने भन्दा पनि हाम्रो समुदाय अब एकजुट नहोला कि भन्ने चासो हो । 
 
समुदायबाट अघि सारिएका अमेरिकाको नेपाली समुदायलेनै प्रसंशा गरिएका प्रोजेक्टहरु सहज रुपमा सम्पन्न हुन कुनै अवरोध त आउँदैन भन्ने चिन्ता पनि हो । अनि संसारभरि छरिएर रहेका नेपालीले उदाहरण दिने गरेको ड्यालसको नेपाली समाज विभाजित भएकोमा सरोकार पनि हो । 
 
यसका लागि अब केही विगत कोट्याउनु पर्ने हुन्छ । 
 
टेक्ससको राजनीतिः
अमेरिकी समुदायमा एउटा व्याप्त भनाई छ–’एभ्रीथिङ्स इज बिग इन टेक्सस’ । अर्थात टेक्सस भूगोलको हिसाबले अलास्का पछिको ठूलो राज्य हो । औद्योगिकीकरणको हिसाबले अमेरिकामा त्यतिकै ठूलो राज्य हो । स्टेटले आयकर नलिने कारणले गर्दा लगानीकर्ताहरु ओइरिएका छन् । टेस्ला होस् या टोयोटा, एमेजन होस् या एप्पल सबैले टेक्ससलाई आँखामा गाडेका छन् । टेस्ला र टोयोटा त औपचारिक रुपमै टेक्सस सरिसके । अरु धेरै पाइपलाइनमा छन् । 
 
पेट्रोलियमको ठूलो स्रोत हो टेक्सस । भनिन्छ ५० वर्षका लागि पुुग्ने पेट्रोलियम पदार्थ टेक्ससको गर्भमा छ । 
 
राजनीतिक रुपमा दुई दशकदेखि रिपब्लिकनको गढ बनिरहेको छ टेक्सस । वर्तमान राष्ट्रपति जो बाइडेनलाई समेत कहिलेकाँही चुनौति दिदै टेक्सस गर्भनर ग्रेग एबट बोलेको सुन्दा यो राज्य कति दह्रो छ भन्ने पुष्टी हुन्छ । गत वर्ष भएको जनगणनाले टेक्ससमा जनसंख्या थपिएको देखायो । हरेक क्षेत्रले टेक्सस बलियो र ठूलो हो भन्ने तथ्यलाई पुष्टी गर्दै गएको छ । 
 
टेक्ससको जनसंख्या वृद्धि अमेरिकी तल्लो सदन कंग्रेसमा दुई वटा थप सिट पायो । न्यूयोर्कले गुमाएको एउटा सिट यता थपियो । त्यो थपसँगै स्टेटको चुनावी डिस्ट्रिक्टको नक्सा समेत व्यापक फेर बदल हुनपुग्यो । पहिले एउटा क्षेत्रमा भएको सिटी अहिले अर्कै निर्वाचन क्षेत्रमा पुगेको छ । 
 
त्यही घटनाले पाकिस्तानी मुलका अमेरिकी नागरिक सलमान भोजनी र नेपाली मुलका अमेरिकी नागरिक दिनेश शर्माबीच सिधा टकराव हुने अवस्था उत्पन्न भयो । सन् २०१८ मा युलेस सिटी काउन्सिलमा नेपाली अमेरिकी मतदाताको सहायताले जितेका भोजनीको आँखा टेक्सस स्टेटको माथिल्लो सदन सिनेटमा थियो । विगतको सिनेट डिस्ट्रिक्ट नम्बर ९ बाट तयारी गरेका थिए उनले । तर म्याप मात्र बदलिएन क्षेत्र ठूलो र प्रचार प्रसार कठिन हुने देखेपछि भोजनीले आफू उम्मेदवार नहुने भनेर पछि हटे । 
 
नेपालीमुलका दिनेश शर्माले भने तल्लो सदनको डिस्ट्रिक्ट ९२ बाट प्राइमरीमा उम्मेदवारी दिने तयारी गरिसकेका थिए । यसमा बंगलादेशीमुलका काजी चौधरीले चाहना व्यक्त गरेका थिए । तर नेपाली समुदाय, हिमालय डेमोक्रेटिक क्लब, साउथ एसिएनहरुको जमघट पछि चौधरी डिस्ट्रिक्ट ९३ मा जान तयार भए । जुन ९३ मा उनी प्राइमरीमा डेमोक्रेटिक पार्टीबाट निर्विरोध भएका छन् । 
 
अब चुनावमा उठ्दिन भनेर तयार गरिसकेका निर्वाचन सामग्री स्टोर रुपमा थन्काएका भोजनीले एक सातापछिनै तल्लो सदनमा उठ्ने घोषणा गरे । जुन निर्णयले सिधै दिनेशसँगको टकरावको अवस्था सिर्जना गर्यो । 
 
प्राइमरीमै भीडन्तः
टेक्ससको तल्लो सदनको डिस्ट्रिक्ट ९२ डेमोक्रेटिक पार्टी र तिनका उम्मेदवारका लागि सबैभन्दा सुविधायुक्त क्षेत्र मानिन्छ । त्यही भएर यो डिस्ट्रिक्टमा डेमोक्रेटिक पार्टीको टिकटका लागि तीनजना उम्मेदवार खडा छन् । सिनेटको तयारी गरेका भोजनी तल्लो सदनमा झरेर उम्मेदवारी दावी गर्नुमा यो क्षेत्र डेमोक्रेटिक पार्टीका लागि जित्नका लागि सहज ठानेर नै हो ।
 
यो एउटै क्षेत्रमा डेमोक्रेटिक पार्टीको टिकट दावी गर्दै यतिखेर दिनेश, भोजनी र अफ्रिकन अमेरिकी समुदायकी ट्रेसी स्कट खडा भएका छन् । आउँदो मार्च १ तारिक यी तीन जनाबीच चुनाव हुँदैछ । यो चुनावलाइ प्राइमरी भनिन्छ । ‘प्राइमरी चुनाव’ भनेको पार्टीका रजिष्टर्ड भोटर्सले आफ्नो दलको तर्फबाट फलानो उम्मेदवारलाई टिकट दिनु उचित हुन्छ भनेर भोट दिने प्रकृया हो । यो क्षेत्रमा रिपब्लिकन पार्टीको तर्फबाट एउटैमात्र उम्मेदवार जोय लिभिङ्स्टन छन् । 
 
प्राइमरीमा जम्मा खसेको मतको ५१ प्रतिशत जस्ले ल्याउछ उसैले पार्टीको टिकट पाउँछ । पहिलो चरणमा तीन जनाबीच हुने प्राइमरीमा कसैले पनि ५१ प्रतिशत ल्याउन नसकेमा सबैभन्दा बढी मत पाउने दुई जनाबीच दोस्रो चरणको मतदान हुन्छ । जस्लाई ‘रनअफ’ भनिन्छ । नेपालमा जस्तो दलको केन्द्रले जस्ले टिका लगाएर टिकट दिन्छ उही उम्मेदवार हुन पाउने व्यबस्था यहाँ छैन । पार्टीका कार्यकर्ताबीचनै चुनाव भएर आउनुपर्छ ।
 
सामान्यतया प्राइमरी चुनावमा एउटा पार्टीका उम्मेदवार छान्ने विषयमा अर्को पार्टीका रजिष्टर्ड भोटर्सले मतदान गर्दैनन् । यसको अर्थ डेमोक्रेटिक पार्टीको प्राइमरीका उम्मेदवारलाई रिपब्लिकन पार्टीमा आस्था राख्नेले मत खसाल्दैनन् । तीनजना उम्मेदवार मध्य कस्लाई डेमोक्रेटिक पार्टीले टिकट दिन उचित हुन्छ भनेर छान्नका लागि नै मार्च १ मा प्राइमरी चुनाव हुन लागेको हो । अधिकांश नेपाली अमेरिकी मतदाताहरु डेमोक्रेटिक दलप्रति आस्था राख्ने भएकोले उनीहरुले मत हाल्ने विश्वास गरिएको छ ।
 
भोजनी प्रति नेपाली रुष्टः
सन् २०१८ मा नेपाली अमेरिकी मतदाताको उत्साहनजनक सहभागिता र मतले भोजनी युलेस सिटी काउन्सिमा जितेका थिए । जितेर सिटी काउन्सिलमा पुगेपछि उनी नेपाली समुदायबाट टाढिए । तीन वर्षे कार्यकालमा उनले के गरे त्यहाँ कुनै पनि सार्वजनिक गरेनन् । 
 
गत वर्ष अर्थात सन् २०२० मा भएको सिटी काउन्सिलको सदस्यमा पाकिस्तानीमुलकै मुबासेरलाई उनले खुलेर सहयोग गरेनन् । सन् २०२१ मा भएको चुनावमा नेपाली मुलका टीका पौडेललाई समेत उनले सहयोग गरेनन् । पौडेलका विपक्षी उम्मेदवारलाई सहयोग गरेको चर्चा चल्यो । दोस्रो चरणमा मतदानस्थलमा देखिए । तर उनले आफ्नो समुदायका मतदाताहरु समक्ष पौडेललाई जिताउनका लागि कुनै सकृयता देखाएनन् । जसले गर्दा टीका पौडेल भोजनीको भूमिका देखेर रुन मात्र सकेका थिएनन् । 
घरि सिनेटको उम्मेदवार, घरि उम्मेदारनै नहुने घोषणा र डिस्ट्रिक्ट ९२ सहज देखेपछि त्यही प्रतिस्पर्धा गर्न उत्रिने उनको स्वभावले धेरै नेपाली चिढिएका छन् । सन् २०१७ र २०१८ मा नेपाली समुदायबाट सबैभन्दा बढी खटेर सहयोग गर्ने प्रभात दीक्षित यतिखेर भोजनी विरुद्ध छन् । 
 
कानुन विषय अध्ययन गरेका र त्यसैको प्राक्टिसमा संलग्न भोजनी प्रति नेपाली समुदायको गुनासो छ–‘उनी आपूmलाई पर्दा नेपाली समुदायलाई ढोग्न पनि तयार हुन्छन् । तर अरुलाई केही आवश्यक पर्यो भने फोन समेत रिसिभ गर्दैनन् ।’ 
 
डिस्ट्रिक्ट ९२ 
युलेस सिटीको दक्षिणी भाग (हार्डउड भन्दा दक्षिण), बेडफोर्डका केही भाग, उत्तरी आर्लिङ्गटन, ग्राण्डप्रेरीका केही भाग टेक्सस हाउस डिस्ट्रिक्ट ९२ मा पर्छन् । 
 
विगतको भन्दा यसपटक यो क्षेत्र बढी समावेशी भएको छ । ४३ प्रतिशत गोरा, २३ प्रतिशत स्पानिस, २५ प्रतिशत अश्वेत र ६ प्रतिशत एसिएन यो क्षेत्रमा बस्छन् । विगतको डिस्ट्रिक्ट ९२ मा ६४ प्रतिशत गोराहरुको बाहुल्यता थियो । 
 
२०२० को राष्ट्रपति चुनावमा अहिले तयार भएको डिस्ट्रिक्ट ९२ बाट डेमोक्रेटिक पार्टीले अत्यधिक मत पाएको थियो । यो डिस्ट्रिक्टबाट बाइडेनले ६१ प्रतिशत मत पाएका थिए । डोनाल्ड ट्रम्पले ३७ प्रतिशत मात्र पाएका थिए । यो तथ्यांकको आधारमा पनि डेमोक्रेट पार्टीका उम्मेदवारका लागि निकै सुविधाजनक विजय प्राप्त गर्ने डिस्ट्रिक्टका रुपमा यसलाई लिइएको छ । त्यसले गर्दा पनि डेमोक्रेटिक पार्टीका तर्फबाट टिकटका लागि तीनजना चुनाावी मैदानमा उत्रिएका हुन् । 
 
यो क्षेत्रबाट अहिले रिपब्लिक पार्टीका जेफ कासनले प्रतिनिधित्व गर्दैछन् । उनी पुनः उम्मेदवार नहुने भएका छन् । 
 
यो निर्वाचन क्षेत्र भौगोलिक रुपमा जति सानो छ, नेपालीहरुको बसोबासको हिसाबले घनत्व त्यत्तिनै बढी पनि छ । युलेस, भेरिडिएन, बेडफोर्ड जस्ता नेपालीहरुको बढी बसोबास भएको सिटी यही क्षेत्रमा पर्ने कारणले शर्माले बढ्ता फोकस गरेका छन् ।
 
पदावधि र सुविधाः
अमेरिकाको स्टेटको सांसद पद सुन्दा खेरि जति ग्लामर छ, तर यथार्थतामा यो पद स्वयम्सेवी पद भन्दा फरक पर्दैन । हाउसका सांसदले बर्षभरिमा पाउने पारिश्रमिक ७ हजार २ सय डलर मात्र हो । बैठक चलेको दिनमा दुईसय २१ डलर पाउँछन् । 
 
त्यसोहुँदा राज्यको सांसद हुनका लागि आफूले गरिरहेको सरकारी वा कुनै पनि प्राइभेट क्षेत्रको काम छोड्नु पनि पर्दैन । एक पटक चुनिएपछि दुई वर्षका लागि मात्र उनीहरु कायम रहन्छन् । स्टेट सांसदको मुख्य भूमिका राज्यको कानुन बनाउने, विधयेकहरु पारित गर्ने नै हो । 
 
स्टेटको कानुन अनुसार टेक्ससको तल्लो सदन हाउसमा एकसय ५० सदस्यहरु रहन्छन् । ती मध्य रिपब्लिकन पार्टीका ८५ छन् भने डेमोक्रेटिक पार्टीबाट निर्वाचित ६५ सदस्य छन् । माथिल्लो सदन सिनेटमा भने ३१ सिट छन् । ती मध्य १८ सिपब्लिकन र १३ डेमोक्रेटिक दलका छन् । सिनेटरको पदावधि भने ४ वर्षको हुन्छ । 
 
छान्ने कस्लाई ?
संसारका कुनै पनि कुनामा हुने चुनावमा आफूलाई मन लागेको उम्मेदवारलाई मत दिने सर्वमान्य सिद्धान्त हो । त्यसमा पनि चिनेजानेकोलाई प्राथमिकता दिने मानवीय स्वभाव पनि हो । तर अमेरिकाको प्रणालीमा एउटा सांसदले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर सिन्को पनि भाँच्न मिल्दैन । सांसदबाट व्यक्तिगत रुपमा कसैलाई गर्न मिल्ने सहयोग,काम पनि केही हुँदैन । नेपालमा जस्तो पदको दुरुपयोग गरेर अपराधीलाई उम्काउन सकिने, आर्थिक लाभ हाँसिल गर्न मिल्ने कुनै पनि प्रावधान अमेरिकामा छैन । 
 
राज्यको सांसदले गर्ने भनेको राज्यका विकास, निर्माण, मुद्धाहरुमा केन्द्रित रहेर गभर्नरलाई दवाव दिने मात्र हो । विधयेकहरु लैजाने, आफ्नो कम्युनिटीको हितका लागि केही विषयहरु उठान गर्न भने सक्छन् । 
 
आफ्नै समुदायको कोही उम्मेदवार भएको अवस्थामा भेगीय हिसाबले, भाषागत हिसाबले, सांस्कृतिक हिसाबले सहयोग गर्दा समुदायलाई कुनै घाटा अवश्य छैन । बरु मातृभूमिको नाम चिनाउन मद्धतनै पुग्न । औपचारिक रुपमा कुन देशबाट आएको ? कुन धर्म मान्ने ? भन्ने जस्ता विषयमा अमेरिकाको माथिल्लो वर्गमा नत कुराकानी हुन्छ । नत वहशनै । तथापी हिजोका दिनमा आफ्नै समुदायका टीका पौडेललाई युलेस सिटीमा जिताउन अमेरिकी नागरिकता लिएर मतदाता भएका नेपाली हुन् या ग्रीनकार्डमै मात्र बसेका नेपालीहरु हुन् । सबैको साथ र सहयोग रह्यो । तर त्यही निर्वाचनमा भोजनीबाट जुन हिसाबले गुनको चुक्ता हुने अपेक्षा नेपाली समुदायले राखेको थियो त्यो नभएको तथ्य जगजाहेरनै छ । 
 
आज नेपाली समुदायकै दिनेश शर्मासँग जतिसुकै विमति भएपनि, विवाद भएपनि उनी नेपाली समुदायप्रति टाढा र असहयोगी अनि सलमान भोजनीले आज नेपाली समुदायलाई जतिसुकै चासो देखाएपनि र सहयोगी जस्तो भान पारेपनि भोलीका दिनमा सलमान भोजनी नजिक र दिनेश शर्मा टाढा हुनै सक्दैनन् । 
 
अमेरिकी नागरिकता लिइसकेपछि नेपाली भनेर निकट ठान्नु र अरु देशको आप्रवासी या लामो समयदेखि अमेरिकामै बस्दै आएका आप्रवासी भन्नु विभेदकारी नीति हो भन्न पनि सकिएला । तर संस्था, समुदायको आवश्यकता नै यस्तै समयका लागि त हो । अरु बेला त एकाध जना हुँदा पनि फरक पर्दैन । समाजमा सदस्यलाई यस्तै बेलामा सहयोग गर्नु अरु सदस्यहरुको कर्तव्य पनि हो । 
 
नेपालबाट आएको व्यक्ति अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गर्न चाहन्छ भने सहयोग गर्दा समुदायलाई कुनै नोक्सानी छैन । चाहे डेमोक्रेटिक दलबाट होस् या रिपब्लिकन दलबाट होस्, उम्मेदवार भएकालाई सहयोग गर्दा समाजसेवाको एक खुड्किलो उक्लिन्छ भने सहयोग गर्नु हाम्रो सनातन धर्म संस्कृतिले सिकाएको संस्कार पनि हो । 
 
नेपाली समुदायको सकृयता र मायाँ, अनि अमेरिकी समुदायको विश्वासले जितेका टीका पौडेलले आँशु खसालेको त्यो दिनलाई सम्झिउँ । अनि नेपालीबीचनै फाटो आउँदा मुस्कुराउँदै फोटो सेसन गर्ने सलमानलाई सम्झिउँ । कस्लाई मत दिनु उपयुक्त हुन्छ ? तपाई हामी आफैँ विवेकशील छौँ ।