मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रामप्रसाद खनालले सार्वजनिक गरे श्रीमान् र श्रीमती बिचको सन्देश मूलक गीत

रामप्रसाद खनालले सार्वजनिक गरे श्रीमान् र श्रीमती बिचको सन्देश मूलक गीत

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो चौध वर्षको अमेरिकाको बसाइलाई पनि रामको १४ वर्षको वनवास जस्तै भनेर तुलना गर्ने अग्रज लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनालले यस पटक गाएको आफ्नो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत “तिम्री आमा, मेरी आमा” भर्खरै सार्वजनिक गरेका छन् । 
 
नेपालका अहिलेका चलेका देखी जाने मानेका सम्म धेरै लोक दोहोरी गायक, गायिकाका पथ प्रदर्शक, गुरु, र उनीहरूलाई टेलिभिजन स्क्रिनमा सिकाइ सिकाइ पहिलो टेक दिने खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये पहिलो कोसेली  “हे कृष्ण, हे राम” धार्मिक भजन गत साता नै सार्वजनिक गरेका थिए । अग्रज लोक गायक, दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् ।
 
 उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दोहोरी प्रबेश गरेको थियो भने डान्स, गजल रेस्टुरेन्टहरुलाई दोहोरी साँझमा परिणत गर्दै त्यसलाई ब्यबसायीकरण गरिएको थियो । उनै खनालले शुरु गरेको लोक दोहोरी अभियानका  कारण लोक गीत र दोहोरी गीत गाउने हजारौं कलाकारहरु रोजगार प्राप्त बन्न सफल भएको सबैले देखे जानेकै कुरा हो ।   
 
आउनुस कुरा गरौं खनालको सार्वजनिक भएको गीतको एउटा पङ्ती बाट :
तिम्री आमा मेरी आमा उस्तै उस्तै होइनन् र ?
तिम्रा बा र मेरा बा नि दुवै उस्तै छैनन् र ?
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
 भतभती मन पोल्यो मैले मुखै खोलेँ आज 
 
गीत सङ्गीत, कलाकारिता, साहित्य र पत्रकारिताका एक जना अब्बल धरोहर खनालले भर्खरै सार्वजनिक गरेको उनको गीतको यो चार लाइन मात्र होइन पुरै गीतमा खनालले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती हरू बिचका तेरो र मेरो भन्ने भावना लाई प्रतिबिम्बित गरेको छ । 
 
तिम्रा दाइ भाइ मेरा दाइ सोचे उस्तै होइनन् र ?
तिम्रा दिदी बहिनी जस्तै मेरा पनि छैनन् र ?
तिमीलाई कति प्यारा लाग्छन् तिम्रा छोरा छोरी
सासू लाई नि त्यस्तै होला खोइ बुझेकी मोरी !
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
 भतभती मन पोल्यो मैले मुखै खोलेँ आज 
 
गीतका शब्द शब्दमा खनालले श्रीमान् बनेर श्रीमती लाई सम्झाउँदै मात्रै छैनन् हरेक श्रीमान् र श्रीमतीका बिच पारिवारिक कलह नहुने गरी सम्झाउँदै बुझाउँदै सन्देश दिन खोजेका छन् । खनालको आफ्नै शब्द र स्वर रहेको यो सामाजिक र सन्देश बोकेको गीत अहिलेको भाइरल खोज्ने युगका लागि कस्तो हुन्छ थाहा छैन तर यसले हरेक दम्पती जोडीलाई सन्देश दिन सफल हुनेछ भन्ने खनालको विश्वास छ ।
 
 प्रस्तुत गीतमा खनालका पुराना साथी सुरेश अधिकारीको सङ्गीत रहेको छ भने यो गीतको म्युजिक भिडियोमा निर्मल शर्माको निर्देशन, राजु केसीको छायाङ्कन, गौतम राज खड्काको सम्पादन  रहेको छ ।म्युजिक भिडियोमा गायक खनाल आफैले मुख्य भूमिकामा अभिनय गरेका छन् भने खनाललाई लोकप्रिय कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । निर्मल शर्मा र अन्य कलाकारहरूको पारिवारिक भूमिका रहेको
 यो गीतमा खनाल गीतमै सन्देश दिँदै अगाडि भन्छन् :
घर माइती दुवै तिर समान गर्नै पर्छ
समान व्यवहार गर प्रिय एक दिन मर्नै पर्छ
घर माइती एउटै ठान म नि एउटै ठान्छु
मैले भन्या तिमीले मान मैले पनि मान्छु
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
 भतभती मन पोल्यो मैले मुखै खोलेँ आज 
 
श्रीमतीहरूले होस वा श्रीमानहरूले होस आफ्नो घर र माइती वा ससुराललाई समान व्यवहार गर्नुपर्छ भनेर सन्देश दिँदै गीतको अन्त्यमा खनाल यसरी गाउँछन् :
 
हामी दुवै बुझ्ने भए घरै स्वर्ग बन्छ
घरै स्वर्ग बने पछि कसले के नै भन्छ
तपाईँ हामी सबैले नै मनन गरौँ यी कुरा
तेरो मेरो भन्न छाडौँ हाम्रा बनाऊँ सब कुरा
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
 भतभती मन पोल्यो मैले मुखै खोलेँ आज
लोक गीत, दोहोरी गीतका प्रवर्द्धक, अग्रज गायक खनालको यो गीत मात्र होइन उनले गाएका हरेक गीतमा समाज झल्किएको देखिन्छ । खनाल भन्छन् – “म भाइरल वा चर्चित हुन कहिल्यै गीत गाएको पनि छैन र गाउने पनि छैन । म एउटा लोक गायक, दोहोरी गायक हुँ त्यसैले मैले लेख्ने, गाउने, अभिनय गर्ने कुनै पनि गीत वा सिर्जनामा मैले लोकको इज्जत र सम्मान गर्नुपर्छ । म त भन्छु लोकका कलाकार हुँ भन्ने हामीले गाउने अभिनय गर्ने कुरामा मात्र होइन लाउने, खाने, बोल्ने हर कुरामा लोकको सम्मान हुने गरी सोँच्नु पर्छ, व्यबहार गर्नुपर्छ । हरेक परिवारले हजुर बा, हजुर आमा, बा, आमा, परिवार सबै जना सँगै बसेर हाम्रा गीत सुन्न हेर्न सक्ने खालका हुनुपर्छ नत्र हामी के को लोक गायक ? के को कलाकार ?”
स्मरण रहोस् अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले हाल सम्म एक हजार दुई सय भन्दा बढी लोक, दोहोरी, आधुनिक, राष्ट्रिय, भजन, तीज लगायतका सबै जसो बिधाका गीत गाइसकेका छन् भने बाउन्न वटा गीति एल्बम प्रकाशित गरिसकेका छन् । छापा पत्रकारिता देखी रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता सम्म पोख्त खनालका पन्ध्र सय भन्दा बढी कविता, गजल, मुक्तक र विभिन्न १८ वटा पुस्तक प्रकाशित छन् । खनालले यस पटक गाएका सात गीत मध्ये बाँकी गीत क्रमशः रिलिज गर्दै जाने बताएका छन् ।
 
खनालको भर्खरै रिलिज भएको गीत यो लिंकमा हेर्न सक्नुहुन्छ I