मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएसटीमा भोट कस्लाई– मेरो चाहि उहाँलाई

एनएसटीमा भोट कस्लाई– मेरो चाहि उहाँलाई


सन् २०१७ को बडादशैंको अवसरमा नेपाली समाज टेक्सस (एनएसटी) ले अर्भिङ सिटीमा एउटा कार्यक्रम राखेको थियो । कार्यक्रमका लागि नेपालका ख्यातीप्राप्त हाँस्य कलाकार मनोज गजुरेल उपस्थित थिए ।
 
अर्भिङ्गमलको झण्डै आठसय जना अटाउने हलमा आयोजना भएको कार्यक्रममा मुस्किलले दुईसय सहभागी थिए । त्यतिखेरनै भनिन्थ्यो–ड्यालसको सेरोफेरोमा झण्डै ४० हजार नेपालीभाषी छन् । नेपालीभाषी भन्दा नेपालबाट आएका नेपाली र पुनर्वास कार्यक्रम अन्तगरत आइओएमले ल्याएका नेपालीभाषी भुटानी समेत भनेर बुझ्नुपर्छ ।
 
कलाकार गजुरेलले अमेरिकामा रहेका नेपालीकै लागि भनेर तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचरको तयारी गरेका थिए । जुन निकै चर्चित पनि थियो । तर ज्यादै न्यून सहभागिता देखेपछि गजुरेलले टिप्पणी गरे–‘ड्यालसमा किन उपस्थिती पातलियो यो रहस्यको विषय भयो । यात मेरो पसल (अभिनय कलाकारिता) चल्न बन्द भएको संकेत हो यो । यात आयोजक नेपाली समाज टेक्ससप्रतिको यहाँका नेपालीहरुको विकर्षण हो यो ।’

मनोज गजुरेलको कार्यक्रम मात्र होइन । सन् २०१८ को बीचतिर नेपाली समाजले नै आयोजना गरेको सिस्नुपानी नेपालको कार्यक्रम त्यस्तै फ्लप कार्यक्रमका रुपमा चिनिन पुग्यो । चोटिला कवि अर्जुन पराजुली, लक्ष्मण गाम्नाङे लगायतको कार्यक्रममा पनि सहभागिता निकै पातलो थियो ।
 
नेपालबाट आउँदा निकै तयारी र जोश बोकेर आएका मेरा परममित्र गाम्नाङेले छेउमा आएर सोध्नुभयो–‘नेपालीहरु यहाँ धेरै छन् भनेको सुनेको थिएँ ।’ उहाँको आशय ज्यादै पातलो सहभागिता प्रति लक्षित थियो ।
 
नेपाली समाज टेक्सस स्थापना भएको २३ वर्ष पुरा भयो । २३ वर्ष भनेको वयष्क र परिपक्व उमेर हो । तर जतिजति परिपक्वता आउँदैछ संस्थाले गर्ने कार्यक्रममा सहभागिता र सकृयता त्यतिनै पातलो हुँदै गएको महसुस यो क्षेत्रमा लामो समयदेखि बसोबास गर्ने हरकोही गरेका छन् ।
 
‘कुनै समय मदनकृष्ण र हरिवंश आचार्यको सहभागितामा कार्यक्रम हुँदा मानिसहरु बाहिर ढोकामा बसेर हेरेका थिए । अब उहाँहरु फेरि आउनुहुने भयो भने डेढसयको सहभागिता भयो भने पनि भव्य सफल मान्नुपर्ने अवस्था छ’ समाजकै एक पूर्ब अध्यक्षले गरेको यो टिप्पणीले संस्थाको हविगत प्रष्ट हुन्छ । संस्थाप्रति स्वस्फूर्त लगाव, माया ममता धेरैमा देखिदैन । कार्यक्रम आयोजना हुँदा सहभागितामा देखिनै नैराश्यता, प्रभावविहिन पनि यसको संकेत हो ।
 
कुनै बेला कलकार भुवन केसीले रित्तो सिडी बेच्दा किन्नका लागि भिडाम्भीड हुने ठाउँ पनि यही ड्यालस थियो । तर अहिले नेपालबाट ख्यातिप्राप्त कलाकार आउँदा समेत लाजमर्दो र निराशाजनक सहभागिता हुन्छ ।
 
संस्थाको चुनावको समयमा मात्र तातिने मौसमी राप छ । अधिकांश पूर्व पदाधिकारीहरु समेत संस्थाप्रति चासो नराख्नेमा देखिन्छन् । एकजना पूर्ब अध्यक्षले नै आफ्नो सदस्यता नविकरण नगरेको तर कुनै उम्मेदवारको प्रस्तावक बन्न अघि सरेको ताजा घटनानै यो संस्थाको हविगत बुझ्न यथेष्ट छ । जो संस्थामा पुगे तिनले आफूलाई ‘महाराज’ ठान्ने र सदस्यहरु त छाडौं पूर्ब अध्यक्षलाई समेत भुसुना ठान्दै सामाजीक सञ्जालमा अपशव्द प्रयोग गर्ने चलन नयाँ पनि होइन । अगुवा भनिएकाहरुकै दन्तबझान संस्था प्रति विकर्षणको अर्को जिम्मेवार पक्ष हो । एकले अर्कालाई असहयोग र असफल तुल्याउन हुने गरेको भित्री चलखेल पनि संस्थालाई भुत्ते बनाउन मद्धत गर्ने तत्व हुने गरेका छन् ।
 
यतिखेर फेरि पनि यही एनएसटीको चुनावी सरगर्मी छ । पछिल्लो समयमा टेक्सस अमेरिकामा रहेका नेपाली समुदायका लागि आकर्षण र चर्चाको शिखरमा छ । अमेरिकाका बाँकी ४९ वटै राज्यबाट टेक्सस बसाई सर्नेहरु छन् । रोजगारी होस् या व्यबसायका लागि टेक्सस सरेर यो राज्यको चारै कुनामा नेपालीहरु पुगेका छन् । ओक्लाहोमा नजिक रहेको गेइन्सभील होस् या अर्कान्सससँग जोडिएको टेक्सरकाना होस् । कोलोराडो नजिकै रहेको अमारिलो होस् या न्यूमेक्सिकोसँग जोडिएको मिडल्याण्ड ओडेसा होस् नेपाली नपुगेको कुनै ठाउँ बाँकी छैन । ठूला शहरहरु ह्युस्टन, अस्टिन, सानएन्टेनियो, लबक, वेकोमा पनि ठूलो संख्यामा नेपाली छन् । यद्यपी सबैभन्दा बढी नेपालीभाषी भने ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा बस्दै आएका छन् ।
 
एनएसटीको निर्वाचनः
भोली आइतबार हुने नेपाली समाज टेक्ससको चुनावलाई निकै चासोका साथ यहाँका समुदायले लिएका छन् । यसका दुईवटा कारण छन् । पहिलो, कुन समूहको वर्चश्वमा आउँदो दुई वर्ष टेक्ससको पुरानो संस्था जान्छ । अर्को, नेपालको राजनीतिको वैशाखी टेकेका कुन चाँही वर्ग बलियो रहेछ भनेर मापन गर्ने ।
 
सन् २०१७ अघि लामो समयसम्म नेपाली समाज टेक्ससमा एउटै समूहको बोलवाला थियो । २०१७ को डिसेम्बरमा जब सुमन थापा अध्यक्षमा छानिए परम्परागत समूह किनारामा पर्यो । त्यही परिणामले हरेक समरयाममा नेपाली बालबालिकाहरुका लागि आयोजना हुँदै आएको समर क्याम्प विभाजित भयो । नेपाली समाज टेक्ससलाई नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर) सँग झण्डै अलग गराइयो । समुदायमा दुईवटा धार बन्यो । एउटा एनएसटी र एनसिएससी अर्थात नेपाली मन्दिर ।
 
सन् २०१९ मा दिनेश शर्मा नेतृत्वको टीम आएपछि दुई संस्थाबीचको द्वन्द्व अलिकति मत्थर भए जस्तो देखियो । तर यी दुई संस्थामा कसको हैसियत ठूलो भन्ने अन्तरद्वन्द्व भने मेटिएन । नेपाली समाजकै पहलमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको स्थापना भएको हो । चेम्बरको स्थापना पनि नेपाली समाजकै सकृयतामा भएको हो । तर नेतृत्वमा भैरहने उतारचढाव, व्यक्तिगत इगो, वैरभावले गर्दा संस्थाहरुबीच अन्तरद्वन्द्व मौलाइरहेको प्रत्यक्ष महसुस गर्न सकिन्छ ।
 
नेपालबाट अमेरिका आएका हामी सबै आफ्नो शरिरसँगै उतैको विचार बोकेर आएका छौं । त्यही विचार यहाँ हामीबीच अन्तरद्वन्द्वको मुख्य कारक बनिरहेको छ । त्यसैमा खेल्दै केही समूहहरु पुरानो मुद्धा व्युँताउन र रिसइवी साँध्न सकृय हुँदा द्वन्द्व अझै चर्किन मद्धत पुगेको महसुस यहाँका हरेकले गर्दै आएका छन् ।
 
नेपाली समाज टेक्ससको नेतृत्वका लागि यतिखेर दुई समूह प्यानलै बनाएर अघि बढेका छन् । भोली लाइन लागेर मतपत्रमै मतदान हुने भएको छ । चुनावी मैदानमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब उपाध्यक्ष कमल सापकोटाले नेतृत्व गरेको समूह छ । एकसाता अघिसम्म सापकोटाको ठाउँमा एनआरएनए टेक्ससका पूर्ब अध्यक्ष राजेश अर्याल  खडा हुने लगभग निश्चित थियो । तर अर्याल आफू पछि हटेर सापकोटालाई अघि सारे ।
 
अध्यक्षका दुई प्रत्याशीहरु नेपालको राजनीतिक रुपमा दुई धारको प्रतिनिधित्व गर्छन । सापकोटाको परिवार नेपालमा कांग्रेस राजनीतिमा निकै पुराना हुन् । उनका पिता कृष्णलाल सापकोटा केही वर्ष अघि चितवन कांग्रेसका नेता तथा जिविस सभापति थिए । वाग्ले भने नेपालमा पेशाले प्राध्यापन गर्थे । उनलाई नजिकबाट चिन्नेहरु वाग्ले राजनीतिक रुपमा वाम खेमा निकट रहेको र विगतमा प्रवासी मञ्च टेक्सस च्याप्टरमा रहेर काम गरेको बताउँछन् ।
 
तर दुबै प्यानलमा रहेका उम्मेदवारहरु भने छ्यासमिसे छन् । सापकोटाको टीमबाट महासचिवमा उम्मेदवार भएकी आइसा ओझा प्रवासी नेपाली मञ्चका नेता कमल ओझाकी छोरी हुन् । उता वाग्लेको टीमबट उम्मेदवार भएका सन्देश उप्रेती नेपाली कांग्रेस निकट हुन् । वाग्लेको टीममा अधिकांश उम्मेदवारहरु कांग्रेस निकटस्थहरु छन् । 
 
विहीबार साँझ बसेको कांग्रेस निकटहरुको संस्था जनसम्पर्क समितिले सापकोटा प्यानललाई आफ्नो आधिकारिक भनेर घोषणा गरिसकेको छ । प्रवासी मञ्चका नेताहरु खुलेरै वाग्ले समूहको प्रचारमा छन् ।
 
भोट कस्लाई ?
नेपाली समाज टेक्ससको आगामी दुई वर्षे कार्यकालका लागि प्रतिस्पर्धारत दुबै व्यक्तिहरु सामाजीक रुपमा चीर परिचित व्यक्तित्व हुन् । सापकोटा र वाग्ले दुबैले आफ्नो कार्यकालमा खोट रहित रुपमा काम गरेर तत्कालिन अध्यक्षहरुलाई भरपूर सहयोग गरेका छन् । दुबै जनाले नेतृत्वको लागि दावी गर्नुलाई कुनै पनि कोणबाट अस्वभाविक ठान्नुपर्ने अवस्था छँदैछैन ।
 
सापकोटा सन् २०१५/१७ को तत्कालिन कृष्ण लामिछानेको नेतृत्वको कार्यकालमा संस्थालाई मर्दा र पर्दाको साथी बनाउन निकै खटेका थिए । राजनीतिक रुपमा सुशिक्षित परिवारका जन्मिएका सापकोटाको बोली र व्यबहारमा खोट लगाउने ठाउँ नरहेको उनलाई जान्नेहरु बताउँछन् । सबैसँग समान व्यबहार गर्ने, नम्र बोली, मिठास, मिजासिलो स्वभावले उनी टेक्ससमा सबैसँग परिचित छन् ।
 
वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले अमेरिका बसाईको छोटो समयमा पनि आफ्नो सकृयताले समाजमा निकै चिनिएका व्यक्ति हुन् । टेक्सस र ओक्लाहोमाको सीमा नजिकको शरमन सिटीमा व्यबसाय गरेर बसेका उनी त्यहाँको टेक्सोमा नेपाली सोसाइटीका संस्थापक अध्यक्ष पनि हुन् ।
 
नेपाली समुदायलाई अमेरिकी मुलधारको राजनीतिमा संलग्नता बढाउन, व्यबसायमा आवद्ध गराउन उनी निकै सकृय छन् । विगत दुई वर्षको अवधिमा उनले नेपाली समाज टेक्ससको वरिष्ठ उपाध्यक्षको हैसियतले संस्थालाई चलायनमान बनाउन निकैनै प्रशंसनीय कामहरु गरेको कार्यसमितिकै सदस्यहरुले बताएका छन् । उनी डेमोक्रेटिक पार्टीमा पनि सकृय छन् ।
 
दुबैका कमीकमजोरी नभएका होइनन् । दुवै दुधले धोइएका पनि छैनन् । हरेक मानव कोही पनि पूर्ण हुँदैनन् । पूर्ण त भगवान मात्र हुन् । दुबै उम्मेदवार काविल र सक्षम हुनुहुन्छ । सापकोटा नरमपन्थी स्वभावका छन् भने वाग्लेको सांगठनिक कार्यशैली आक्रामक खालको छ । सापकोटालाई राजनीतिक रुपमा बढ्ता आशक्त भनेर टिप्पणी गर्नेहरु छन् भने वाग्लेलाई कडा मिजासको र रुखो भन्नेहरु पनि छन् । तर समुदायलाई परेको बेलामा दुबैले खटेर गरेको सहयोगका कारण यी नकारात्मक पक्षलाई गौण रुपमा लिनुपर्छ भन्नेहरु धेरै छन् ।
 
अध्यक्षका दुबै प्रतिस्पर्धीहरु समाजका लागि केही गरौं भनेर मरिहत्ते गर्ने व्यक्तिहरु हुन् । दुबैले नेपाली समाज टेक्ससलाई आउँदो दुई वर्षका लागि एजेण्डा दिएका छन् । तर जित्ने एउटैले मात्र हो । नेपाली समाज टेक्ससमा आवद्ध, जो संस्थाका गतिविधिप्रति निरन्तर सकृय छन् दुबैका बारेमा जानकारनै छन् । त्यसोहुँदा व्यक्तिगत रुपमा फलानोलाई नै मत दिनुपर्छ भन्ने मेरो धारणा होइन । अमेरिकामा आएर यहाँको सिस्टम बुझेका सबैजना प्रजातान्त्रिक प्रकृया, मूल्य र मान्यताप्रति जानकारनै छन् । कस्ले कति योगदान गरेको छ ? को कति क्षमतावान छ ? र कसको विगतको कृयाशीलता कस्तो थियो भन्ने कुरा यहाँ चर्चा गरिरहन खासै जरुरी छैन । सबैजना आफ्नो विवेक प्रयोग गर्न स्वतन्त्र छन् ।
 
चुनावी मैदानमा खडा भैसकेपछि दुई वर्षका लागि जित्नेले संसार जितेजस्तो ठान्नु पनि हुँदैन । नत उपविजेता हुनेले संसारै गुमेजस्तो ठान्न जरुरी नै छ । प्रजातान्त्रिक प्रकृयामा प्रवेश गरिसकेपछि जीत र हारलाई सहज रुपमा स्विकार्न सक्नुपर्छ । हार हुनासाथ विगतमा जसरी नयाँ संस्था खोल्ने चलन थियो आशा छ यसपटक त्यो कार्यले पक्कै निरन्तरता पाउनेछैन । टेक्ससको नेपाली समुदायले गौरव गर्ने प्रोजेक्टका रुपमा अघि बढिरहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण अभियानको कुनै पनि पक्षमा कसैको जीत र हारले असर पनि पर्नुहुँदैन । त्यसतर्फ उम्मेदवारहरु जनि गंभीर हुन जरुरी छ, मन्दिरका पदाधिकारीहरु पनि त्यतिकै जिम्मेवार भएर विवादमा पर्नु उचित हुँदैन ।
 
मेरो भोट उहाँलाई :
गत साता मन्दिरको हलमा उम्मेदवारी मनोनयन हुँदैगर्दा समाजका केही अगुवाहरुले मलाइ प्रस्ताव गर्नुभयो–‘तपाई पनि यसपटक संस्थामा कुनै न कुनै पदमा आउनुपर्यो ।’
 
मैले आफू मानसिक रुपमा तयार नरहेको बताएर संस्थाको नेतृत्वमा जान तीनवटा योग्यता हुनुपर्ने मेरो पुरानै मापदण्ड सुनाएँ । अमेरिकामा रहेका नेपालीहरुका संस्थाको नेतृत्वमा पुग्नका लागि मेरा तीन मापदण्ड छन् । केही मेरा अनुभव, केही साथीहरुको भोगाईबाट यी तीन मापदण्ड पुरा गरेका व्यक्तिमात्र संस्थाको नेतृत्व लिन अग्रसर हुनुपर्ने मेरो धारणा बनेको छ ।
 
पहिलो, नेतृत्व गर्न लालायीत व्यक्ति आर्थिक रुपमा सक्षम हुनैपर्छ । किनकी सबै ठाउँमा भावनाले चल्दैन । कुनै पेशा, व्यबसायमा लामो समय बिताइसकेर केही समय त्यो कामबाट अलग बस्दा पनि उसको परिवार चल्न समस्या नहुने व्यक्ति मात्र संस्थाको नेतृत्व लिन अग्रसर हुनुपर्छ । भन्नुको मतलव संस्थामा लाग्दा पनि नियमित आम्दानी भैरहने व्यक्ति मात्र अघि बढ्नु ठीक हुन्छ । नेपाली समाज टेक्ससको पद नत लाभको पद नै हो, नत तलव आउने पदनै हो । संस्थाको प्रतिनिधित्व गर्दै भोलीनै नेपाल जानुपर्यो भने पनि महंगो टीकट रहेछ भनेर चिन्ता गर्ने व्यक्ति संस्थाको नेतृत्व गर्छु भनेर नआउँदानै ठीक ।
 
दोस्रो, नेतृत्व गर्नेसँग समय पनि हुन जरुरी छ । कामबाट छुट्टी लिन गाह्रो मान्ने, व्यबसायबाट समय निकाल्न नसक्ने व्यक्तिले संस्थालाई समय दिन झनै गाह्रो हुन्छ । तसर्थ समय निकाल्न नसक्ने व्यक्ति पनि नेतृत्वका लागि नतम्सिए हुन्छ ।

तेस्रो, संस्थालाई दिने केही खुबी पनि हुनुपर्छ । संस्थाको इतिहासमा नाम दर्ज गराउने भन्दा पनि ‘मसँग यो भिजन, यो सोच छ । मैले यसरी आफ्नो कार्यकालमा संस्थालाई यो अवस्थामा पुर्याउँछु र सदस्यहरुलाई यो यो सेवा प्रदान गर्छु’ भन्ने दृष्टिकोण, सोच र योजना हुन जरुरी छ । यो नहुँदा अरु मदारी भएर नेतृत्वलाईनै नचाउनेछन् ।
 
यी तीन क्षमता भएका व्यक्ति जो छन् । नेतृत्वका लागि उहाँहरुलाई मेरो मत जानेछ । यो गुण भएका व्यक्तिहरुलेनै संस्था चलाउने अभिमत पाउँदा परिवर्तनको महसुस गर्न सकिन्छ ।
 
अन्तिममा, दुबै उम्मेदवार र उहाँहरूको टीमलाइ शूभकामना । जस्ले जितेपनि तपाइहरूको जीत कुनै अमुक वर्ग, व्यक्तिको जीत नभै टेक्ससवासी नेपालीको जीत होस् । पराजित हुनेले पनि सहर्ष स्विकार गर्दै समाजमा निरन्तर सकृयता प्रदर्शन गरिरहनु हुनेछ भन्ने अपेक्षा सहित ।