विचार / ब्लग

एनआरएनए, उद्देश्य र गन्तव्य

प्रकाशित |
एनआरएन । विदेशी । परदेशी । आजभोलि मेरो परिचयसँगै यी विशेषणहरू पनि सँगै आउने गरेका छन् । जसले जसरी मेरो परिचय अगाडि यस्ता विशेषण गाँस्दा वा म आफैँले आफूलाई जसरी परिचय गराउँदा पनि मेरो मनले भने म एक नेपाली हुँ भनेर गर्व गरिरहेको हुन्छ । 
 
यो मेरो मात्र नभएर मातृभूमि छाडेर अर्को देशलाई कर्मभूमि बनाएर बसिरहनुभएका आमनेपालीको परिचय हो । यदि हामीले यो परिचयलाई सतही रूपमा परिवर्तन गर्न चाहे पनि वास्तविकतामा भने हामी नेपाली रहन-सहन, समाज, संस्कार र संस्कृतिमै रमाइरहेका हुन्छौँ । मैले आफ्नो जन्भूमि नेपालप्रति वास्तविक प्रेमको अनुभूति त्यतिबेलादेखि गर्न थालें जब म नेपाल छोडेर बिदेसिन पुगें । बिदेसिनु मेरो इच्छा नभए पनि परिस्थिति त्यस्तै बन्यो ।  
 
मैले नेपालमै हुँदा विकास, समृद्धि, सम्पन्न, स्वावलम्बन एवं सुसाशन जस्ता शब्दहरू विस्तृत रूपमा अध्ययन गरेको हुँ । नेपालमा हुँदा यी शब्दहरूको अर्थ कतै नमिलेको पो हो कि जस्तो लाग्थ्यो तर ठिक मानेर अगाडि बढ्नुको विकल्प थिएन । जब म बिदेसिन पुगेँ, त्यसपछि मात्र मैले व्यवहारत: यी शब्दहरूको सही अर्थसहित कार्यान्वयन भएको पाएँ । तर, अझै पनि म यसप्रति शतप्रतिशत प्रस्ट हुन सकिरहेको छैन, किनकि मैले जीवनका धेरै वर्ष यस्ता महत्वपूर्ण एवं अमूल्य शब्दहरूको अर्थलाई केवल किताब र राज्य सञ्चालनको उच्च ओहदामा बसेका व्यक्तिका भाषणमा मात्र सही तर व्यवहारमा गलत रूपमा प्रयोग गर्ने र गराउनेहरूबीच एउटा साक्षी बनेर बिताएको छु । यति मात्र होइन, यी शब्दहरूसँगै देश विसकित र नागरिक सुसम्पन्न बनाउने नाममा कहिले त्रासपूर्ण कालखण्डमा डराउँदै त कहिले खोक्रा आश्वासनसहितका उखान-टुक्कामा हाँस्दै/रमाउँदै हुर्केको मान्छे पनि हुँ, म । त्यसैले होला, आज अमेरिकामा बसिरहँदा पनि यी शब्दहरू सुन्दा वा प्रयोग गर्दा स्वत:स्फूर्त रूपमा अन्योलता बोध हुन्छ । अब विषयवस्तुतर्फ लागौं ।
 
गैरआवासीय नेपाली (एनआरएन) हरूको भेलाले सन् २००३ मा लन्डनमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को सुरुवात गरेको हुँदा अहिले यही संस्थालाई एनआरएनहरूको अभिभावकको रूपमा लिने गरिएको छ । यो संस्थाको परिचय एवं उद्देश्य अत्यन्तै सान्दर्भिक रहेको छ । संक्षिप्तमा, गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका गैरआवासीय नेपाली (एनआरएन) को हितको पक्षपोषण गर्न एवं नेपालको विकास र प्रवर्द्धनमा टेवा पुर्याउनका लागि स्थापना भएको एक स्वतन्त्र, गैरनाफामूलक, गैरराजनीतिक, एवं गैरसरकारी संस्था हो । नेपाली मूलका विदेशी नागरिक एवं अन्य देशहरूमा आधिकारिक रूपमा पेसा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने (दक्षिण एसियाली सहयोग संगठनअन्तर्गतका मुलुकबाहेक) नेपालीलाई गैरआवासीय नेपाली (एनआरएन) भनिन्छ । विधानत: एनआरएनएलाई नेपालबाहिर बसोबास गरिरहेका नेपाली (एनआरएन)हरूको साझा, स्वतन्त्र एवं गैरराजनीतिक संस्थाको रुपमा परिभाषित गरिए पनि व्यवहारत: त्यतिमा मात्र सीमित रहेको देखिँदैन । 
 
मानिसको स्वभावै हो, अरूभन्दा आफू एक कदम अगाडि बढ्नु । यो प्रतिस्पर्धा एकदम सही हो । अझ हामी नेपालीमा यस्तो प्रतिस्पर्धा बुझेर वा नबुझेरै भए पनि अन्यको भन्दा अलि अगाडि नै छ । फेरि एनआरएनमा त झन् बढी नै देखिन्छ । र, छ पनि । उसै त हामी नेपाली काममा भन्दा गफमा पोख्त, त्यसमाथि पनि एनआरएन भइसकेपछि न ज्ञान चाहिन्छ न त सीप नै, सर्वज्ञान सम्पन्न । यसमाथि हाम्रो अर्को पहिचान बलवान त विश्वमै प्रख्यात हुँदै हो । यिनै सम्पन्नताले गर्दा पछिल्लो समयमा  एनआरएनएका विभिन्न देशमा हुने प्राय: सभा-सम्मेलनमा ज्ञान र सीपका साथै बलको पनि प्रयोग गर्ने गरिएको पाइन्छ । आजकल त बल प्रयोग नभएका एनआरएनएका कार्यक्रम के नपुगेजस्तो लाग्न थालेको छ । 
 
आमव्यक्तिमा राजनीतिक संस्कार, संलग्नता एवं आस्था हुने गर्छ । राजनीतिले मानिसको सार्वजनिक जीवनस्तरलाई मजबुत बनाउनुका साथै सामाजिक एवं आर्थिक स्तरलाई वृद्धि गर्ने हुँदा यो सबैका लागि आवश्यक छ । तर, राजनीतिका नाममा संस्थाको मर्म र भावनाविपरीत गएर कुनै एउटा राजनीतिक पार्टीको कार्यकर्ता बनेर संस्थाको गरिमा घटाउने कार्य भने स्वीकार्य हुन सक्दैन । त्यसैगरी, कुनै पनि संघ-संस्था स्वायत्त हुन सक्दैन । यो राज्यको सम्बन्धित निकायको मातहतमा हुन्छ र हुनुपर्छ । साथै, सम्बन्धित निकायको मातहतमा रहेर आफ्नो दायराभित्र सञ्चालन हुनुपर्छ । यसैगरी, एनआरएनए संस्था नेपाल सरकारको मातहतमा स्थापना भएको हो र यसको अभिभावक भनेको नेपाल सरकार नै हो ।
 
त्यसैले एनआरएनएको नेतृत्व तहमा आबद्ध व्यक्ति सबै राजनीतिक दलको साझा एवं सिंगो नेपाल सरकारको बन्नु आवश्यक छ, नकि एउटा राजनीति दलको झोले कार्यकर्ता । साथै, समग्र एनआरएनको हितमा काम गरेर उनीहरूको स्तरोन्नति गर्नु यस संस्थाको पहिलो कर्तव्य हो नकि एउटा राजनीतिक दलको हनुमान बनेर संस्थाको गरिमा घटाउनु । यो संस्थामा आबद्ध नेतृत्वकर्ताको गलत प्रवृत्तिका कारण समयमा एनआरएनएको महाधिवेशन हुन नसक्नु ज्वलन्त उदाहरण हो । अत: यो संस्थालाई नेतृत्व गर्छु भनेर अगाडि आउने व्यक्ति जुनसुकै राजनीतिक दलमा आबद्ध वा आस्था राख्ने भए पनि नेतृत्वअवधिभर आमएनआरएन र नेपाल सरकारको हुनुपर्छ । नेपाल सरकार परिवर्तन हुँदा एनआरएनएप्रतिको दृष्टिकोणमा परिवर्तन हुने खालको क्रियाकलाप कुनै नेतृत्वकर्ताबाट हुनुहुँदैन । 
 
एनआरएनएको नेतृत्वकर्ताले नेपालका राजनीतिक दलका नेताको चाकरी होइन, एनआरएनहरूलाई खुसी पार्नूस्, उनीहरूको हितमा काम गर्नूस्, सबैको साझा नेतृत्वकर्ता बन्नूस् । यो संस्थालाई आमएनआरएनको ‘मेरो’ संस्था बनाउनूस् । सबै एनआरएनलाई एनआरएनएको सदस्य बन्नुपर्छ भन्ने वातावरण सिर्जना गर्नूस् । संस्थाको नेतृत्व तहमा पुग्ने वा पुग्न चाहनेले यो नभुल्नूस् कि- तपाईंलाई नेतृत्व तहमा पुर्याउने एनआरएनले हो, नेपालका राजनीतिक दलले होइन । 
 
यस संस्थाका लागि सक्षम नेतृत्वकर्ता चयन गर्ने प्रमुख दायित्व नेतृत्व चयनकर्ताको हो । साथै, एनआरएनएको प्रमुख दायित्व भनेको एनआरएनको मात्र नभएर नेपाल बाहिर विभिन्न मुलुकमा रहेका आमनेपालीको सुरक्षाको व्यवस्था गर्नु, उनीहरूलाई आवश्यक पर्ने सुचना उपलब्ध गराउनु, उनीहरूलाई उपयोगी सीप विकासमा सहयोग गर्नु, नेपाली रीति-रिवाज एवं संस्कृतिलाई जोगाउनु एवं नेपाललाई विश्वसामु चिनाउनु आदि प्रमुख हो । समग्रमा बिदेसिएका आमनेपालीको जीवनस्तर वृद्धि हुनु नै नेपालको विकासमा सहयोग हुनु हो । नेपाललाई अहिले पैसाको मात्र सहयोगभन्दा पनि सुशासन, शिक्षा प्रणालीमा सुधार, देश विकासको लागि पूर्वाधार योजना निर्माणजस्ता कुरामा विदेशमा रहेर आफूले सिकेका, देखेका र अनुभव गरेका ज्ञानमार्फत सहयोग गर्नु जरूरी छ ।
 
संस्थाको नाम मात्र उपयुक्त र सान्दर्भिक भएर हुँदैन, नेतृत्वकर्ता उपयुक्त हुनुपर्छ । वर्तमान नेतृत्वको असक्षमताले गर्दा एनआरएनएले २०२१-२०२३ का लागि नेतृत्व पाउन सकिरहेको छैन । जसले गर्दा यो संस्थाप्रतिको आस्था र विश्वासमा सर्वत्र कमी हुन थालेको छ ।
 
अत: यस संस्थालाई नेतृत्व गर्न इच्छुक व्यक्ति संस्थाको उद्देश्य र भावना बुझेको, स्वार्थरहित एवम् संस्थाप्रति इमानदार भई संस्थालाई सबैको साझा बनाउन सक्ने सक्षम व्यक्तिको खाँचो सबैमाझ देखिएको छ । एनआरएनएको आगामी नेतृत्व संस्थाको गरिमालाई उच्च बनाउन सक्ने खालको चयन हुनेछ भन्ने आशा एवम् शुभकामना !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया