युरोप, अमेरिकामा ‘फ्रि-वे’ का नामले चिनिने हाइवेबाट हरेक माइलमा शाखा सडक निस्कने एक्जिटहरू हुन्छन् । वस्ती नजिक नभएका स्थानमा भने ४/५ माइलको बीचमा एक्जिट हुन्छन् ।
सवारी साधन सञ्चालन गर्दा निर्धारित स्थानमा पुग्न हाइवेबाट एक्जिट लिएर शाखा सडकमा जानैपर्छ । भुलेर एक्जिट छुट्यो भने फेरि त्यही ठाउँमा आइपुग्न अर्को केही माइल यात्रा गर्नुपर्ने मात्र होइन अतिरिक्त समय, खर्च पनि थपिन्छ ।
तर नियत साथ एक्जिट छुटाइयो भने चाँही कि मनोरञ्जनका लागि हो भन्ने बुझ्नुपर्छ । कि भने चालकले गलत नियत बोकेको छ भनेर हेक्का राख्नैपर्छ । आफूभन्दा पछिल्ला सवारी साधनको गतिलाई रोक्न कसैले एक्जिट लिएन भने त्यसको क्षती संबन्धितलाइ नै पुग्छ । जसले आर्थिक व्ययभार, समयको दुरूपयोग भन्दा अरु केही उपलव्धी हात लाग्दैन । एउटा निश्चित स्थानमा पुगिसकेपछि आफ्नो गन्तव्यमा फर्किनैपर्छ ।
सन्दर्भ गैर आवासीय नेपाली संघ (एनआरएनए) को हो । त्यसमा पनि अमेरिकी एनआरएनको सेरोफेरो ।
गत जुलाईको पहिलो साता न्यूयोर्कमा एनआरएन अमेरिकाको साधारण सभा र पदस्थापना समारोह भयो । साधारण सभाको कार्यक्रम हुँदै गर्दा त्यहाँ श-शरिर हुनेले जुन खालको ताण्डव नृत्य देख्ने अवसर पाए अनि भौतिक रुपमा उपस्थित नभएकाहरुले पनि अनलाइनहरु, सामाजीक सञ्जालहरुमा जुन खालका फुटेजहरु देखे त्यसले संस्थाको गरिमामा गंभीर आँच पुगेको छ । संस्था बदनाम भएको छ। खण्डन, तर्क जे दिएर पनि बचाउको प्रयास गर्न सकिएला । तर यथार्थता के हो भने अमेरिका जस्तो कडा कानुन भएको मुलुकमा गुण्डागर्दी शैली जसरी देखाइयो त्यसले एनआरएनको हुर्मत लिने काम भन्दा अरु केही भएन ।
त्यो के का लागि भएको थियो भनेर सतही रुपमा हेर्ने हो भने शपथ ग्रहणमात्र अघिल्तिर आउला । तर त्यसलाई गहिरो रुपमा अध्ययन गर्ने हो भने चाँही त्यसका भित्री तानावाना, उद्वेश्य, गन्तव्य सबै छर्लङ्ग छन् । संस्थालाई कव्जा गर्ने, संस्था होइन झुण्ड बनाउन खोज्नेहरुले देखाएको ताण्डवनृत्य थियो त्यो । एनआरएन अन्तर्राष्ट्रिय समितिसम्मको निर्वाचनलाई अनुकुल बनाउने हिसाबले यी सबै प्रपञ्चहरु भएका थिए ।
अमेरिकी एनआरएनकै सिको गर्दै जापानी एनआरएनमा लफडा भयो । बेल्जियमको एनआरएनमा कुटाकुटै भयो । बेलायती एनआरएन चुनावको नतिजालाई तीन दिनसम्म लाश कुरे जसरी कुराइयो ।
एनआरएन समानान्तर सरकार हो ?
एनआरएनका विश्वव्यापी शाखा, सञ्जालहरुमा केही वर्ष यता देखिँदै आएको अस्वस्थ प्रतिस्पर्धा किन र के का लागि भन्ने वहश सुरु भएको छ । विशेषगरि स्थापित नेपाली समुदायका सदस्यहरु एनआरएन भित्र हुने निषेधको राजनीति, अस्वस्थ हर्कतबाट टाढा बस्न रुचाउँदै आएको देखिन्छ । त्यसको परिणाम ठाडो शव्द प्रयोग गर्नुपर्दा ‘ह्याण्ड टू माउथ’ मै अल्झिएका एउटा ठूलो वर्गको काँधमा चढेर अलि टाठाबाठाहरु एनआरएनको पदमा लफडावाजी गरिरहेका छन् । ती टाठाबाठाहरु मध्य केहीले कार्यरत देशमा आर्जन गरेको ख्याती, हैसियतलाई मार्केटिङ्ग गरेर एनआरएनको सिँढी चढ्दैछन् भने केहीले चाँही नेपालको राजनीतिक पार्टीको लेटरप्याडमा ‘जो जससँग सरोकार छ’ भन्ने स्टाइलको ‘क्यारेक्टर सर्टीफिकेट’ लेखाएर माथि चढ्ने प्रयास गर्दैछन् ।
मातृभूमि भन्दा बाहिर बसेर आर्जन गरेको क्षमतालाई समाजसेवाका लागि उपयोगमा ल्याउन कुनै अमुक दलले क्यारेक्टर सर्टिफिकेट दिनै पर्ने हो त ? दलले प्रमाणित गरिदिएर निधारमा ठप्पा लगाइदिनै पर्ने अवस्था आइपुगेको हो त ?
एनआरएनको स्थापना हुँदाको मर्म, यसको उद्वेश्य, कार्यक्षेत्रलाई मात्र ध्यान दिने हो भने मात्र पनि यस्ता फोकटिया काममा सिफारिस, लफडाबाजी, गुण्डागर्दीमा लाग्ने नलाग्नु पर्ने हो । तर अवस्था यस्तो देखिन्छ कि एनआरएनको चुनाव जीवन मरणको मुद्धा बनिसकेको छ । प्रतिष्ठाको अहम् सवाल भएर अघि बढिसकेको छ । मानौं कि एनआरएनको चुनाव भनेको संसदको चुनाव हो, जस्ले सरकार गठनका लागि कोरम पुर्याउन मद्धत गर्छ । कव्जा गर्ने, बहुमत ल्याउने, अरुलाई ढिम्किनै नदिने, पेलेरै अघि बढ्ने हो भनेजस्तो अभिव्यक्तिले यो संस्था समानान्तर सरकार हो कि भन्ने भ्रम पनि पैदा गराएको छ ।
तर एनआरएनको हैसियत भनेको कुनै एउटा गाउँ पालिकाको क्षेत्राधिकार भन्दा पनि साँघुरो छ । वर्षौदेखि दोहोरो नागरिकता, दोहोरो कर छुट, लगानीमा सहुलियत जस्ता हरियो घाँस देखाएर नेपालका राजनीतिक दलहरुले पछि लगाइराख्न सफल भएका छन् । यो वा उ दल होइन, यो परराष्ट्र मन्त्री वा उ परराष्ट्र मन्त्री, यो कानुन मन्त्री वा उ कानुन मन्त्री मात्र पनि होइन । एनआरएनलाई दिने अधिकार, हेर्ने दृष्टिकोण, गर्ने व्यबहारमा सबै दलको एकै मत छ । कसैले व्यक्त गरेको सुनिएला, कसैले भित्रभित्रै कैँची चलाइराखेकै छन् । यथार्थतामा वर्षौदेखिका माग र मुद्धाहरु लघारिनुमा दलहरु एनआरएन प्रति कति अनुदार चरित्रका छन् भनेर बुझ्न धेरै बेर सोचिरहनु नै पर्दैन ।
तर एनआरएनको चुनावलाई मानौँ कि सरकार गठन गर्नका लागि गणपुरक संख्या पुग्छ भन्ने ढंगले जुन रुपमा प्रस्तुत भइरहेको छ त्यसले संस्थालाई बलियो त बनाउने कुनै संकेत नै छैन । भविष्यमा संस्थालाई यात विभाजन, होइन भने विघटन तिर पुर्याउने निश्चित भने छ ।
अमेरिकी एनआरएनको चुनावमा केही वर्ष यता हुर्कदै गरेको सदस्यतादेखि मतदानसम्मका गलत कृयाकलापले यो संस्थाको ओज, प्रतिष्ठा दिनानु दिन घट्दो छ । अमेरिकामा रहेका प्रोफेसनल नेपाली समुदायका व्यक्तिहरु एकातिर सदस्यनै बन्न अस्विकार गर्दै आएका छन् भने अर्कातिर भएकाहरु पनि हर्कत देखेर संस्थाको सदस्यता नविकरण गरिरहेका छैनन् । हरेक दुई वर्षमा नयाँ सदस्य बन्ने गति शेयर बजारको बुलिस ट्रेण्डमा भएपनि पुरानो नविकरण गर्नेको अवस्था भने बियरिस अर्थात घट्दो गतिमा छ ।
संस्थापकहरुको दिक्दारीः
एनआरएन जतिजति पुरानो हुँदैछ, जतिजति परिपक्व उमेर हुँदैछ । त्यतिनै आलोकाचोपन, उद्वेश्यबाट विमुख हुँदै गएको महसुस भएको छ । उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास, देवमान हिराचन, जुगल भुर्तेल लगायतका संस्थापकहरु मध्य अधिकांश यतिखेर दिक्दारी अवस्थामा छन् । सन् २००३ स्थापनाकालदेखि तीन पटकसम्म अर्थात सन् २००९ सम्म अध्यक्ष भएर संस्थालाई नेतृत्व दिएका महतो संस्थाभित्र पार्टीगत राजनीति हस्तक्षेप देखेर संस्थामा निष्कृय छन् । संस्थापक अरु पनि त्यही अवस्थामा छन् ।
विदेशमा रहेका नेपालीहरुलाई एकजुट गराउनुपर्ने संस्थामा नेपाली राजनीतिक दलका परेडस्थलमा परिणत भैरहेका छन् । तत् तत् देशका एनआरएन राष्ट्रिय समितिहरुमा निर्वाचित हुन नेपालका राजनीतिक दलले टिकट वितरण गर्ने क्रम सुरु भएको केही वर्ष अघिबाटै हो । विगतमा सबै राजनीतिक दलहरुबाट उत्तिकै सहयोग, सम्मान प्राप्त गरिरहेको यो संस्थामा जतिजति नेतृत्व कमजोर हुँदै गएको छ, त्यतित्यति राजनीतिक दलहरुले टिकट दिने परिपाटी विकास हुँदैछ । यो अवस्थाले एनआरएनलाई भावी दिनमा कुनै कलेज वा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको हैसियत भन्दा माथि पुर्याउने छैन ।
एनआरएनको नेतृत्व गर्न विगतमा कुनै राजनीतिक दलको कार्यकर्ता भएर काम गरेकै हुनुपर्ने हो र ? विद्यार्थी युनियनमा बसेकै हुनुपर्ने हो र ? तर चुनावी प्रयोजनका लागि सार्वजनिक गरिएका रेजुमीमा यस्ता बुँदाहरु थपिएर आउन थालेका छन् । यसले संस्थालाई कुनै दिन यात भातृसंस्था या विघटनमा पुर्याउने बाटो धेरै टाढा देखिदैन ।
अमेरिकी एनआरएनको लफडाः
एनआरएनको ऐतिहासिक दस्तावेजहरु हेर्दा अमेरिकाको राष्ट्रिय समिति धेरै पछिमात्र आइसिसीमा आवद्ध भएको देखिन्छ । स्थापनाकालको आइसिसीका ३७ पदाधिकारीमध्य एकजना शारदा जंग थापामात्र अमेरिकाका थिए । दोस्रो कार्यसमितिका ५१ जनामध्य महेश कुमार सिंह र रमाकान्त खरेल अमेरिकाबाट थिए । तेस्रो कार्यकालबाट सहभागिता थोरै बाक्लिएको देखिन्छ । तर सुरुवातका कार्यसमितिमा रहेर काम गरेका कोही पनि अहिले नत एनआरएन अमेरिका, नत आइसिसीमा सकृय छन् ।
अमेरिकी एनआरएनमा सधैँभरि लफडा, मुद्धा मामिला हुँदै आएको छ । नेपालीको प्रतिनिधित्व गर्ने सामाजीक संस्थाको रुपमा भन्दा पनि सधैंभरि विवाद भैरहने संस्थाका रुपमा एनआरएनले अमेरिकामा रहेका नेपाली माझ छवी बनाएको छ । आफूलाई सफ्टेरो पर्दा आइसिसीको विधानलाई रिफ्रेन्स लिने र अप्ठेरो पर्दा अमेरिकामा फाइभ वान सी अन्तरगत दर्ता भएको भन्दै हिँड्ने संस्कार हिजो पनि थियो र आज पनि कायमै छ ।
केही दिन अघि भएको एनआरएनए अमेरिकाको बैठकले आइसिसीको निर्देशनलाई समेत पालना नगर्ने भनेर निर्णय ठोकेछ । यो भन्दा गैर जिम्मेवार र लाजमर्दो विषय के हुनसक्छ ? यात अमेरिकाको एनआरएन एनसिसी आजका मितिदेखि आइसिसीमा आवद्ध छैन भनेर घोषणा गर्नुपर्यो । यात जुन संस्था अन्तरगत हो, तालुकदार संस्थाले दिएका नीति, निर्देशन पालना गर्नुपर्यो । सिजन गाइजात्राको छ । त्यसोहुँदा पर्वमा गाइजात्रा मनाउन पाइन्छ, तर संस्था भित्र गाइजात्रा मनाएको चाहि त्यति रोचक हुँदैन ।
त्यही आइसिसीको पदाधिकारी हुनका लागि यतिविधि लफडा गर्ने, अनि त्यही आइसिसीको नीति, निर्देशन मान्दैनौ भन्दा यो भन्दा डबल स्ट्याण्डर्ड अरु के हुनसक्छ ?
एनआरएन अमेरिकाले आइसिसीको सम्मेलनका लागि प्राप्त गर्ने प्रतिनिधि अहिलेसम्म को को चयन भए ? यसका बारेमा सदस्यहरुलाई जानकारी दिनुपर्ने थियो । २५ प्रतिशतका लागि वैध २० हजार सदस्यहरुबाट चुनिनुपर्ने थियो । तर मनोनयननै गर्न नदिई चुनावको नौटंकी गरियो । मनलाग्दी हिसाबले पेलेरै जाने योजनामा कार्यसमिति अघि बढेको देखिन्छ । प्रजातान्त्रिक दलको कार्यकर्ता भएको नाममा संस्थाभित्र मनलाग्दी हिसाबले तानाशाही हिसाबले अघि बढेको आरोप, प्रत्यारोप चर्को रुपमा लागिरहँदा पदाधिकारीहरु कानमा कपास कोचेर बसेका छन् ।
छुटेको एक्जिटः
अब इतिहासको विवेचना गरौं । सन् २०१७ मा एनआरएन अमेरिकाको चुनावको तयारी हुँदै थियो । टेक्ससका गौरीराज जोशीले ६ महिना अघि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभयो। तर एकाएक तत्कालिन अध्यक्ष डा. केशव पौडेलले दोहोरिने मनसाय राख्नुभयो । पौडेलको दोहोरिने मनसाय जोशीलाई बाटो छेक्ने नियत भन्दा बाहेक अरु कुनै कुराले प्रेरित थिएन । अध्यक्ष पद लाभको पद थिएन, नत वैतनिक नै हो । आफ्नो गन्तव्यमा पुग्न एक्जिट लिनुपर्ने बेलामा जोशीको गतिलाई रोक्न डा. पौडेललाइ फेरि अघि सारियो ।
शायद त्यतिखेर जोशीलाई अघि बढ्न दिएर डा. पौडेलले एक्जिट लिएको भए यतिखेर उहाँ आइसिसीमा अध्यक्षको उम्मेदवारको दावी गर्ने अवस्थामा पुग्नुहुन्थ्यो । तर जोशीलाई रोकेर एक्जिट नलिई अघि बढिरहँदा उहाँ एनआरएन अमेरिकाको अध्यक्ष त दोहोरिन सफल हुनुभयो । तर जोशी पौडेल भन्दा माथिल्लो तहमा अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजक हुने वातावरण बन्यो । लगत्तै २०१९/२१ मा जोशी आइसिसी सचिव बन्नुभयो भने डा. पौडेल उपाध्यक्षमा पराजित हुनुभयो ।
सन् २०१७ मै डा. पौडेलले एक्जिट लिएर आइसिसीमा जाने चाहना राख्नुभएको भए उहाँ र जोशीबीच सम्बन्धको खाडल यति चर्किदै जाने पनि थिएन । खाडललाई चर्काउन गहतको झोल हाल्नेहरुको पछिल्तिर लाग्दा दुबै पक्षलाई चर्को घाटा भन्दा अरु केही छैन । डा. पौडेलको आइसिसी यात्रा त्यतिखेरबाटै सुरु भएर यतिखेर अध्यक्षको दावी गर्ने हैसियतमा पुगिसक्ने थियो । दुई वर्षदेखि बेलायतका आचार्यलाई काँध थापिरहनु पर्ने पनि थिएन ।
गौरीराज जोशी र डा. पौडेल, सोनाम लामा लगायत एकजुट हुनुपर्ने थियो । त्यसले अमेरिकी एनआरएनले आगामी वर्षहरुमा पालैपालो आइसिसीको नेतृत्व गर्ने अवसर पाउने निश्चित थियो । तर नेपालको राजनीतिक दलको जो जससँग सरोकार छ स्टाइलको चिठ्ठी लेखाई माग्ने, एनआरएनका पुराना नेतृत्वकर्ताहरुलाई अपमान गर्दै कांग्रेस र कम्युनिष्टका नेताहरुको दैलो चाहार्ने परिपाटीले यो संस्थाको उद्वेश्य पुरा हुन कठिन छ ।
विगतमा डा. पौडेल निकटमा रहेर संस्थामा काम गरेकाहरू भन्छन्-उहाँ जोशीलाइ साह्रै अण्डर इस्टिमेट गर्नुहुन्छ । ती निकटहरूका अनुसार उहाँमा अाफ्ना प्रतिस्पर्धीहरूलाइ मान्छे नै नगन्ने संस्कार छ । उहाँहरू बीचको समस्याको खाडल यही नै रहेको छ । दरार यस्तै व्यबहारबाट बढ्दै गएको निकटस्थहरूको अनुभव छ ।
दुई वर्ष अघि उपाध्यक्षमा पराजित डा. पौडेलले यतिखेर व्याक भएर महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । जोशीको पनि महासचिवमै उम्मेदवारी दिने तयारी छ । महासचिवमा उम्मेदवारी जति सहज र पाच्य वर्तमान सचिव जोशीको हुन्छ त्यति असहज छ डा. पौडेललाई । किनकी दुई वर्ष अघिनै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका व्यक्ति एक तह मुनि झरेर महासचिवमा उम्मेदवारी दिनुलाई त्याग भन्न मिल्दैन । यो त गति बढाउनुपर्ने अवस्थामा पछाडी आइरहेकालाई रोक्नका लागि ब्याक गियर लगाएर ठोक्काउनु शिवाय अरु केही होइन ।
व्याक गियर लगाएर गाडी ठोक्काउने नियत राख्ने ठीक कि आफ्नै गतिमा अघि बढिरहने ठीक ? संसारभरबाट सहभागी हुने एनआरएनका डेलिगेट्सहरूले सोच्नैपर्ने विषय हो ।
प्रतिक्रिया