प्राचीनकालदेखि नै नेपाल उत्तर र दक्षिणका छिमेकी मुलुकहरूका लागि मात्र नभएर सम्पूर्ण विश्वकै जिज्ञासुका लागि आकर्षक स्थल थियो । इतिहासका विभिन्न कालखण्डमा प्रशस्त विदेशी तीर्थयात्री, विद्वान् तथा धर्मप्रचारकहरूले नेपालको भ्रमण गरेका थिए ।
उनीहरूमध्ये अधिकांशले आफ्नो अनुभव लिपिबद्ध गरी प्रकाशन पनि गरेका छन् । छिमेकी मुलुकका व्यापारीहरू पनि व्यापारको सिलसिलामा नेपाल आउँथे । व्यापारीका अतिरिक्त विशेषगरी चिनियाँ तीर्थयात्री तथा भारतीय विद्वान्हरूका लागि नेपाल प्रमुख गन्तव्यस्थल नै थियो । मध्यकालदेखि त इसाई धर्मप्रचारकहरू पनि नेपाल भएर नै तिब्बत जाने गरेका थिए । यी सबैले आ–आफ्नो संस्मरणको क्रममा नेपाल र नेपालीका विविध पक्षमा प्रकाश पारेका छन् । यसले गर्दा नेपालको तत्कालीन इतिहास बुझ्न पनि सहयोग पुगेको छ । यसै पृष्ठभूमिमा नेपाल आएका अंग्रेजका आवासीय दूत र दूतावासका अन्य कर्मचारीहरूले लेखेका संस्मरणबाट नेपालको इतिहासका विविध पक्षमा पारेको प्रकाशका विषयमा सामान्य चर्चा गर्ने उद्देश्य प्रस्तुत आलेखको रहेको छ ।
सम्पूर्ण भारतलाई नै आफ्नो प्रभाव क्षेत्रमा समावेश गरेपश्चात् अंग्रेजको इस्टइन्डिया कम्पनीको ध्यान नेपालतर्फ आकृष्ट भएको थियो । त्यस समयमा गोर्खालीहरू पनि विजय अभियान सञ्चालन गरी क्रमशः शक्तिशाली हुँदै गएका थिए । यसलाई अंग्रेजले आफ्नो अस्तित्वमा खतराको संकेतका रूपमा लिएका थिए । यसैकारण उनीहरूले नेपाललाई साम दाम दण्ड भेदकै नीतिद्वारा अनुकूल बनाउने भगीरथ प्रयत्न गरेका थिए । कान्तिपुरका मल्ल राजाको अनुरोधमा गोर्खालीलाई तह लगाउन अंग्रेजले कप्तान किनलकको नेतृत्वमा फौज पठाएको थियो । तर, उक्त फौजको असफलताबाट अंग्रेजहरू केही हच्किए । अंग्रेजका लागि नेपालको अभियान प्रथम गाँसे मच्छिका साबित भएपछि उसले शान्तिपूर्ण ढंगले नेपालसित सम्बन्ध सुधार्ने नीति लियो । यसै अनुरूप जेम्स लोगन, फ्याक्सफर्ट र अब्दुल कादिर खानका शिष्टमण्डल नेपाल आए । तर, अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनन् ।
सन् १७८८ मा नेपालले भोटउपर गरेको चढाइपश्चात् १७८९ मा नेपाललाई फाइदा हुने एकतर्फी सन्धि भयो । सोही सन्धि कार्यान्वयनको विवादमा पुनः युद्ध छेडियो । भोटको पक्षमा चिन आउँदा नेपाल संकटमा प¥यो । त्यसैले नेपाल अंग्र्रेजसित गुहार माग्न पुग्यो । नेपालले गरेको सहयोगको यस प्रकारको याचना पृथ्वीनारायण शाहको नीतिको प्रतिकूल थियो । तर, चतुर अंग्रेजले सन् १७९२ को सन्धि गरे । यो सन्धि हुनुमा नेपाल र अंग्रेजका आआफ्नै स्वार्थ थिए । नेपाल–चिन युद्धमा मध्यस्थता गर्न अंग्रेजले कर्क प्याट्रिकलाई नेपाल पठाए । तर, उनी काठमाडौँ आउनुपूर्व नै सुलह भइसकेको थियो । संकट टरेपछि नेपालले सन्धिको पालना गर्न खासै उत्साह देखाएन । सन् १८०१ मा रणबहादुर शाह (स्वामी महाराज) बनारस पुगे । उनलाई त्यहाँबाट नेपाल आउन नदिने उद्देश्यका साथ अंग्रेजसित सन् १८०१ को सन्धि भयो ।
यसै सन्धिको प्रावधानअनुसार अंग्रेज सरकारका प्रतिनिधि आवासीय दूत भई नेपाल आए । तर, नेपालको विकसित राजनीतिका कारण पहिलो अंग्रेजी दूत नक्स टिक्न सकेनन् । त्यसैले उनी फिर्ता भए । यो पनि कालन्तरमा नेपाल–अंग्रेज युद्धको एक प्रमुख कारण बन्न पुग्यो । तत्पश्चात् नेपाल र अंग्रजबीचको युद्ध अन्त्य गर्न भएको सन् १८१६ को सुगौली सन्धिबाट दुवै मुलुकबीच आवासीय दूत आदानप्रदान गर्ने व्यवस्था भयो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि नेपाल र बेलायतबीच आवासीय दूतावास राख्ने व्यवस्थाले निरन्तरता पाएको देखिन्छ । सन् १८१६ मा प्रारम्भ भएको आवासीय दूत राख्ने प्रचलन हालसम्म पनि यथावत छ । यसैक्रममा सन् १८०१ देखि १९२३ सम्म २२ जना रेसिडेन्ट, सन् १९२४ देखि १९३४ सम्म २ जना इन्भ्वाइस, सन् १९४४ देखि १९४७ सम्म ४ जना मिनिस्टर तथा सन् १९४७ देखि हालसम्म २२ जना राजदूत गरी जम्मा ५० जना आवासीय दूत बेलायतको प्रतिनिधि भई नेपाल आएका छन् । आवासीय दूतावासका यिनैमध्ये केही प्रमुख तथा अन्य कर्मचारीसमेतले नेपाल बसाइको स्मरण गरी पुस्तक प्रकाशन गरेका छन् । यसबाट नेपालको इतिहास लेखन परम्परामा उल्लेख्य प्रभाव परेको देखिन्छ । अंग्रेजको आवासीय दूतावासका प्रमुखलाई पहिले रेसिडेन्ट भनिन्थ्यो भने क्रमशः स्तर वृद्धि हुँदै इन्भ्वाइस, मिनिस्टर र राजदूत भनिन थालिएको छ । दूतावासमा प्रमुखबाहेक उनका सहायक, सेनाका अधिकारी, चिकित्सक, दोभासे र अन्य सहयोगी कर्मचारी पनि रहन्थे । अतः नेपालमा आएका आवासीय दूत र तिनका सहायक एवम् चिकित्सकहरूमध्ये केहीले नेपाल बसाइको संस्मरण प्रकाशन गरेका छन् ।
कप्तान विलियम कर्क प्याट्रिक अंग्रेज सरकारले नेपालकै स्वीकृतिमा पठाएका पहिला दूत थिए । उनले नेपालको विषयमा लेखेको पुस्तक एन एकाउन्ट अफ दी किङडम अफ नेपाउल सन् १८११ मा प्रकाशित भयो । उनले उक्त पुस्तकमा नेपालको आर्थिक एवम् सामाजिक अवस्था, प्रशासन, रीतिरिवाज, भाषासंस्कृति जस्ता विविध विषयमा प्रकाश पारी नेपालको इतिहास प्रमाणिक रूपले तयार गर्ने प्रयत्न गरेका थिए । पुस्तकमा उनको नेपालसम्मको यात्राविवरण पनि रोचक छ । उनको कृतिलाई नेपालको इतिहासमा पहिलो ऐतिहासिक ग्रन्थका रूपमा गणना गरिन्छ । हुन त यस पुस्तकमा कतिपय तथ्यगत र कतिपय विषयगत कमजोरी पनि देखिएका छन् । पुस्तकमा विभिन्न स्थानको नामसमेत अशुद्ध छन् । यी र यस्ता कतिपय कमजोरीका बाबजुद पनि उनको पुस्तकलाई नेपालको इतिहासको पहिलो कृति मान्नै पर्ने हुन्छ । साथै भविष्यका लेखकहरूका लागि उनी पथप्रदर्शकसमेत बने ।
सन् १८०१ को सन्धिअनुसार कप्तान नक्स सन् १८०२ मा अंग्रेज सरकारको आवासीय दूत भई नेपाल आए । उनीसितै आएका दलबलका एक सदस्य थिए, फ्रान्सिस बी हेमिल्टन । उनी एक चिकित्सक एवम् वनस्पतिविज्ञ थिए । उनको एन एकाउन्ट अफ दी किङडम अफ नेपाल नामक कृति १८१९ मा प्रकाशित भयो । उनले तत्कालीन नेपालको इतिहास (नेपाल–अंग्रेज युद्धपूर्व ), बाइसी चौबिसी र सेन राज्यको इतिहास, नेपालका खनिज तथा वनसम्पदा, हावापानी, प्रशासन व्यवस्था जस्ता पक्ष पुस्तकमा उल्लेख गरेका छन् । यसमा लेखकले वंशावली अवलोकन र अन्य स्रोतहरू प्रयोग गरी सकेसम्म तथ्यपूर्ण घटना उल्लेख गरेका छन् । कतिपय ऐतिहासिक घटनाको वर्णन तथा कालक्रममा कमजोरी हुँदाहुँदै पनि यो पुस्तक नेपाली इतिहासको एक सशक्त कृति बन्न पुगेको छ ।
अंग्रेजका आवसीय दूतमध्ये विविध कारणले हडसन चर्चित भए । नेपाल सरकारप्रति उनको नीति, नेपालको आन्तरिक राजनीतिमा चासो, भीमसेन थापासित द्वन्द्व जस्ता कारण उनी नेपाली राजनीतिमा चर्चामा आएका थिए । यसका अतिरिक्त नेपालको विषयमा अनुसन्धान गरी नेपालका विभिन्न पक्ष उजागर गर्ने श्रेय पनि उनैलाई जान्छ । उनले २० वर्ष लामो नेपाल बसाइका क्रममा नेवारी, संस्कृत तथा पालीमा लेखिएका हस्तलिखित बौद्ध ग्रन्थहरू सङ्कलन गरेका थिए । ती ग्रन्थ उनले विदेश पु¥याए । ती हालसम्म पनि विदेशी अभिलेखालयमा सुरक्षित छन् । उनले नेपालको तत्कालीन न्याय तथा कानुन पद्धतिमा पनि सूक्ष्म अध्ययन गरेका थिए । उनले लेखेका विभिन्न अनुसन्धानात्मक लेखहरूको सङ्ग्रह मेसिलिनियस एसेज रिलेटिङ टु इन्डियन सबजेक्ट्स ग्रन्थ सन् १८८० मा प्रकाशित भयो । उनको लेखाइमा पनि कतिपय स्थानमा कमजोरी नभएका होइनन् । कतिपय त विवरण पनि प्रामाणिक छैनन् । साथै तत्कालीन राजनीतिप्रतिको उनको दृष्टिकोण पूर्वाग्रहबाट पृथक् हुन सकेको पनि छैन । नेपालका अमूल्य हस्तलिखित ग्रन्थ कौडीका दाममा खरिद गरी उनैले विदेश पु¥याए । यति हुँदा हुँदै पनि नेपालको इतिहास लेखन परम्परामा उनको योगदानको उच्च मूल्याङ्कन गर्नै पर्ने हुन्छ ।
अंग्रेजको नेपालस्थित आवासीय दूतावासका चिकित्सक ड्यानियल राइटले सन् १८७२ र १८७७ मा क्रमशः स्केचेज अफ दी पोरसन अफ दी कन्ट्री अफ नेपाल ओपन टु युरोपियन्स र हिस्ट्री अफ नेपाल विथ एन इन्ट्रोडक्टरी स्केच अफ दी कन्ट्री एन्ड पिपुल अफ नेपाल नामक दुई ग्रन्थ प्रकाशित गरे । यी दुवै कृतिहरूमा वंशावलीको अधिकतम उपयोग गरिएको पाइन्छ । यी पुस्तकमा नेपालको राजनीतिक इतिहासको सुन्दर चित्रण गरिएको छ । वंशावलीहरू इतिहासका बलिया स्रोत हुन् सक्छन् भन्ने तथ्यलाई राइटले साबित गरेका छन् ।
दूतावासकै चिकित्सक एच ए ओल्डफिल्डले सन् १८७८ मा स्केजेज फ्रम नेपाल नामक ग्रन्थका दुई भाग प्रकाशित गरे । यी दुवै भागमा नेपालको राजनीतिक एवम् सामाजिक इतिहासको विस्तृत चर्चा गरिएको छ । जंगबहादुरको अभ्युदयपूर्वको नेपालको गुटगत षड्यन्त्रकारी राजनीतिको विषद् चर्चा पुस्तकमा भएको छ । नेपालको विदेश सम्बन्धमा पनि पुस्तकमा चर्चा गरिएको पाइन्छ । यस पुस्तकमा पनि अंग्रेजको नेपालप्रतिको नीतिको वकालत गरिएको छ । तर, नेपाल–अंग्रेज सम्बन्धका विषयमा उनले वस्तुनिष्ठ मूल्याङ्कन गरेको देखिँदैन ।
सन् १८८५ ताका नेपालमा रहेका बेलायती कार्यवाहक रेसिडेन्ट जी एच डी जिम्लेटको नेपाल एन्ड नेपालिज नामक पुस्तक सन् १९२८ मा प्रकाशित भएको थियो । रणोद्वीप सिंहको हत्याको समयमा नेपालमा नै रहेका उनले राणाकालीन राजनीति, नेपालको सामाजिक तथा आर्थिक अवस्था जस्ता विषयहरू उक्त पुस्तकमा समेटेका छन् । नेपाल–अंग्रेज सम्बन्धमा ब्रिटिस दूतहरूको भूमिका र आन्तरिक राजनीतिमा उनीहरूको चासो जस्ता प्रसङ्गको पनि चर्चा गरिएको छ । पदीय मर्यादाका कारण पनि कतिपय कुरामा लेखक खुल्न सकेका छैनन् ।
थोमस स्मिथ नेपालस्थित ब्रिटिस दूतावासमा पाँच वर्ष सहायक रेसिडेन्ट भई कार्य गरेका व्यक्ति हुन् । उनले ब्रेन हड्सन र हेनरी लरेन्सका सहायक भई कार्य गर्दाको अनुभव समेटेर न्यारेटिभ अफ फाइभ एयर्स रेसिडेन्स एट नेपाल कृति सन् १८५२ मा प्रकाशित गरेका थिए । उनले पुस्तकमा नेपालको राजनीतिक, सामाजिक तथा तत्कालीन कानुनी व्यवस्था, अंग्रेजका फौजमा नेपालीहरूको भर्ना, नेपाल–अंग्रेज सम्बन्ध, युद्धजनीत परिस्थिति तथा युद्धपश्चात् नेपाल–अंग्रेज सम्बन्धमा आएका परिवर्तनहरूमा प्रकाश पारेका छन् । यसैगरी उनले पुस्तकमा नेपालको दूध, माछा र महको निकै बयान गरेका छन् । अंग्रेज सरकारका कूटनीतिज्ञ भएकाले नेपालप्रति अंग्रेज नीतिको उनले पनि वकालत गरेका छन् ।
नेपाल आएका अंग्रेजी आवासीय दूतमा विलियम फ्रेडरिक टी ओ कोनरको आफ्नै विशिष्ट स्थान छ । उनी नेपालको स्वतन्त्र अस्तित्वका हिमायती भएकै कारण सन् १९२३ मा मैत्री सन्धि हुन गएको थियो । उनैले लेखेको अन दी फ्रन्टियर एन्ड वियोन्ड ः अ रेकर्ड अफ थर्टी इयर्स सर्भिस नामक संस्मरणात्मक ग्रन्थ १९३१ मा प्रकाशित भयो । यस प्रकाशनमा नेपाल–अंग्रेज सम्बन्धको चर्चा विस्तृत रूपमा गरिएको छ । जसमा नेपालले सन् १८५७ को सिपाही आन्दोलन, सन् १९०३–०४ को योगइसबैँडको तिब्बत अभियानमा र प्रथम विश्वयुद्धमा नेपालले गरेको सहयोगको प्रशंसा गरिएको छ । चन्द्रशमशेरको योग्यता र क्षमताको कदर गर्दै नेपालका श्री ५ केबल जापानका सम्राट जस्तै आलङ्कारिक राजा मात्र भएको उल्लेख उनले उक्त पुस्तकमा गरेका छन् । नेपालको स्वतन्त्र अस्तित्वलाई पूर्ण रूपमा स्वीकार गरी सन् १९२३ को सन्धिमा हस्ताक्षर हुनुको कारण र परिवेशको वर्णन गरिएको छ । उक्त पुस्तकमा केशरशमशेरको पुस्तकालयको मुक्तकण्ठले प्रशंसा गरिएको छ । नेपालको सहयोगका लागि अंग्रेज सरकार नेपालप्रति कृतज्ञ हुनै पर्छ भन्ने उनको टिप्पणी मननयोग्य छ ।
नेपालमा भएका अंग्रेजका दूत, रेसिडेन्ट, इनभ्वाय तथा दूतावासका अन्य कर्मचारीहरूले नेपालसम्बन्धी लेखेका ग्रन्थहरूबाट नेपालको इतिहासमा र नेपालको इतिहास लेखनमा नै उत्साहजनक प्रभाव परेको छ । ती ग्रन्थहरूबाट तत्कालीन नेपालको विविध पक्ष बुझ्न र ती विद्वान् लेखकहरूको नेपाल र नेपालीप्रतिको दृष्टिकोण बुझ्न पनि धेरै सहयोगी भएका छन् । तथापि ती सबै लेखकहरूले आफ्ना सरकारको नीति र कार्यक्रमको वकालत गर्ने नै भए । यसकारण उनीहरूको भनाइमा एकोहोरो प्रशंसा देखिन्छ । अंग्रेजले नेपालप्रतिको नीति व्यवहारबाट नेपाललाई केकस्तो नकारात्मक प्रभाव प¥यो भन्ने विषयमा कुनै चर्चा नहुँदा ती सबै कृतिलाई पूर्णतया इतिहासका कृति भन्न किमार्थ मिल्दैन । कतिपय कूटनीतिज्ञहरूले प्रयोग गरेका स्रोत र सूचना सङ्कलन विधिमा पनि कमजोरी देखिन्छ । सूचकहरूले प्रवाह गरेका भूमिकालाई सम्परीक्षण नगरी प्रयोग गर्दा धेरै ठाउँमा स्थानको नाम तथा व्याख्यामा त्रुटि देखिन्छ ।
कतिपयले त नेपालको नामलाई नै नेपाउल लेख्न पुगेका छन् । कर्क प्याट्रिक वर्णन गरेको स्थानका नाम नै अशुद्ध छन् भने हेमिल्टनले बाइसी र चौबिसी राज्यहरूको विवरणमा नै त्रुटि गरेका देखिन्छन् । अन्य कृतिहरूमा पनि कतिपय विषयवस्तु तथा स्थानका नाम र विवरणमा त्रुटिहरू भेटिन्छन् । यी सामाँय कमजोरी रहेता पनि ती कृतिहरू तत्कालीन नेपालको ऐना हुन् । हेरोडेटसलाई द फादर अफ हिस्ट्री भने झैँ कर्क प्याट्रिकलाई नेपालको इतिहास लेखनका क्रममा पहिलो इतिहासकार मान्न सकिन्छ । उनैको ग्रन्थले पछिका इतिहासकारहरूका लागि मार्गप्रशस्त गरिदियो । यसैगरी नेपालको समग्र इतिहासमा अर्का विद्वान् हेमिल्टनको कृति उल्लेख्य रहेको छ । प्राथमिक स्रोतका धारमा स्थापित ऐतिहासिक मान्यतालाई उनले अवलम्बन गरेका थिए । साथै अन्य लेखकका कृतिहरू पनि नेपालको इतिहास अध्ययनका लागि सहायक स्रोत बनेर रहेका छन् । प्रारम्भका अंग्रेजी दूतहरूले नेपाल सम्बन्धमा लेख्ने जाँगर चलाएका थिए भने सन् १९२० पछि आएका इनभ्वाय, मिनिस्टर र राजदूत तथा सोही समयका दूतावासका कर्मचारीहरूले लेखेका कृति प्राप्त छैनन् । केहीले लेखेका होलान् कि तर मेरो जानकारीमा आएका छैनन् । यो खोजीको विषय हुन सक्छ । पश्चिमी जगत्मा रहेको आफ्नो संस्मरण तथा यात्राविवरण लेख्ने संस्कृतिको प्रभावका कारण दूत र दूतावासका कर्मचारी संस्मरणात्मक कृति प्रकाशन गरे । हाल यी कृति नेपालीे इतिहासका स्रोत बन्न पुगेका छन् ।
नेपाली दूत र दूतावासका कर्मचारीहरूले सम्बन्धित देशको विषय र आपसी सम्बन्धमा केन्द्रित रहेर कृति लेखेका दृष्टान्त कमै पाइन्छन् । हाम्रो समाजमा श्रुति परम्पराको बाहुल्यता भएकाले संस्मरण लेख्नेतर्फ कमैले मात्र जागर चलाएका हुन सक्छन् । नेपालको प्रतिनिधि भई जाने कुटनीतिज्ञमा नैनबहादुर खत्रीको मेरो जीवनयात्रा ः अनुभव र अनुभूति, भीमबहादुर पाण्डेको त्यस बखतको नेपाल, लोकराज बरालको रोमञ्चित जीवन, विश्वम्भर प्याकुरेलको आफैँलाई खोल्दा ः केही छोपिएका केही उघारिएका, ऋषिकेश शाहको प्रारब्ध र पुरुषार्थ तथा मातृकाप्रसाद कोइरालाको मातृका बाबु जस्ता आत्मवृत्तान्त लेखिएका छन् । तर, यी कृतिमा नेपाल र सम्बन्धित मुलुकको कूटनीतिक सम्बन्ध तथा सम्बन्धित देशको इतिहासका विषयमा अपेक्षित चर्चा गरिएको छैन । नेपालबाट राजदूत भएर गएकामध्ये धेरैजसो विशिष्ट विद्वान् र आनो क्षेत्रको लामो अनुभव हासिल गरेका व्यक्ति थिए । प्रायः सबैले आआफ्नो विषयक्षेत्रसित सम्बन्धित चर्चित पुस्तकसमेत लेखेका छन् । उनीहरू सम्बन्धित क्षेत्रका विशेषज्ञ पनि हुन् । यदुनाथ खनाल, बालचन्द्र शर्मा, भेषबहादुर थापा, डा यादवप्रसाद पन्त जस्ता स्वनामधन्य विद्वान्हरूका उल्लेख्य कृति प्रकाशन नभएका भने होइनन् । यस पृष्ठभूमिमा हेर्दा परराष्ट्र सेवामा आफ्नो लामो अनुभव भएका जर्मनीका लागि नेपालका राजदूत मदनकुमार भट्टराईका डिप्लोम्याटिक हिस्ट्री अफ नेपाल, परराष्ट्रका पात्र तथा परराष्ट्रका प्रशासक कृति नेपालको कूटनीतिक इतिहासका लागि असल खुराक भएका छन् । यसैगरी नेपाल सरकारको कूटनीतिक सेवामा रहेकाहरूबाट आनो कार्यक्षेत्रसित सम्बन्धित यस्तै गहनतम कृति आउने अपेक्षा हामी सबैले गरेका छौँ ।
प्रतिक्रिया