विचार / ब्लग

नेताहरूले समय छँदै चेतुन्

प्रकाशित |
प्रजातन्त्र भनेको केबल चुनाब मात्र हैन, यो एउटा दैनिक जीवन प्रक्रिया पनि हो । बहुमत प्राप्त समूहले अल्पमत समूहको हक र अधिकारलाई संरक्षण गर्दै उनीहरुमाथि गरिने शासन व्यवसस्था नै प्रजातन्त्र हाे । अमेरिकाका सर्वाधिक लाेकप्रिय नेता तथा १६ अाैँ राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए ''Democracy is the people, for the people by the people'' उनकाे याे भनाइ प्रमाणित भइसकेको छ कि संसारकै सबैभन्दा राम्रो, सभ्य, प्रगतिशील र सर्वप्रिय शासन व्यवस्था भनेकै लोकतन्त्र हो । यसकाे सही ढंगले उपयोग गरिएन भने यसबाट थुप्रै दुष्परिणाम पनि निस्कन सक्छ भन्ने कुरा हामी सबैले बेला बेलामा अनुभब गरेकै हो, भाेगेकै हाे ।

प्रजातन्त्रमा सबैलाई स्वतन्त्रता, समानत वा बराबरीकाे हक र अधिकार त हुन्छ नै  तर पनि यदाकदा यो नै प्रजातन्त्रको कमजोरी वा बिडम्बनाका रूपमा देखिन्छ । यस्को गलत प्रयाेगले अहिले संसारभरी नै प्रजातन्त्रको नाममा उच्छ्रिंखल गतिविधिहरु हुन थालेका छन् ।

दुइ हप्ता अघि अमेरिकाको न्यूयोर्क शहरमा सम्पन्न गैर अावासीय नेपालीहरूकाे १० सौँ साधारण सभामा पनि यस्तै हर्कत देखियो । यस्तै गतिविधि गत वर्ष काठमाडौँमा सम्पन्न एनअारएनको केन्द्रीय अधिवेशनमा पनि अराजकता देखिएको हो । नेकपा पार्टी भित्र र सरकारमा पनि यस्तै अराजक गतिविधि र हर्कतले गर्दा बहुमतको सरकार आज ढलेको छ । लोकतन्त्रको नाममा देश अहिले बन्दीको शिकार भइरहेछ । हुनत विकसित देशमा पनि यस्ता किसिमका क्रियाकलाप हुँदै हुँदैनन् भन्ने होइन । गतवर्ष मात्रै प्रजातन्त्र र मानव अधिकारकाे पाठ पढाउने र सिकाउने अमेरिकाको आमचुनावताका प्रजातन्त्रका वर्खिलापका काम कारवाही भएकाे कुरा तपाइ हामी सबैलाइ जगजाहेर नै छ । तर पनि अमेरिकाका यावत् प्रजातन्त्रका पहरेदार संस्थाहरूले यसकाे मूल्य र मान्यतालाई झुक्न र चुक्न नदिएका कारण देश ठूलो दुर्घटनाबाट बच्न सफल भयो ।

समाजमा राम्रा र नराम्रा, प्रजातान्त्रिक र अप्रजातान्त्रिक दुवैथरी मानिस हुन्छ्न् । काेही यसकाे मूल्य र मान्यताभन्दा पनि आफ्नो निजी व्यक्तिगत स्वार्थमा प्रेरित भई हिंसा वा हिंसाजन्य क्रियाकलाप गरेरै भए पनि सत्तामा टिकिरहन चाहन्छन् । याे कुनै पनि हालतमा स्वीकार्य हुनु हुँदैन । शान्तिकाे मार्ग नै प्रजातन्त्रको अर्को आदर्श हाे । महात्मा गान्धीले भनेका थिए यदि तिमी शान्ति चाहन्छौ भने कसैले तिमीलाई एउटा गालामा थप्पड हान्यो भने अर्को गाला पनि थापिदिनु । अाम मानिसले के बुझ्नु पर्छ भने प्रजातन्त्र अपनाउनु भनेको आदर्श, इमान्दारिता र सबैभन्दा ठूलो कुरो अनुशासित र नैतिकवान हुनु हो ।  
 
आवश्यक भन्दा बढी स्वतन्त्रता खोज्नु र प्रजातन्त्रको मूल्यमान्यता र विधिको शासनलाई नमान्नु भनेकै अप्रजातान्त्रिक हुनु हो । जस्तै कोविड १९ को महाव्याधीमा प्रजातान्त्रिक र अप्रजातान्त्रिक राज्यहरुले अपनाएको नियन्त्रण र नीतिलाई पनि लिन सकिन्छ । यस मानेमा कम्युनिस्ट देशहरु भन्दा प्रजातान्त्रिक देशहरुमा बढी धनजनको क्षति भयो किनकि यस्को मुख्य कारण अनुशासनहीनता अर्थात रोग नियन्त्रणको नियम राम्रोसँग पालना नगर्नु नै हो । तसर्थ प्रजातन्त्रलाई अपनाउने भन्दा पालना गर्ने  महत्वपुर्ण कुरो हो भन्ने कुरा यस घट्नाबाट पनि प्रमाणित हुन्छ । प्रजातन्त्रलाई अपनाउँदा जति आनुशासित हुन जरुरी छ त्यति नै यस्का मूल्य र मान्यताहरुलाई पालना गर्न पनि सक्नुपर्दछ र साथै आफूले प्रजातन्त्रको उपयोग गर्दा अर्काको हक र अधिकारमा ठेस पुग्न हुँदैन भन्ने कुरा पनि ख्याल गर्नुपर्दछ । हाेइन भने यो जंगली शासन सरह अराजक हुन जान्छ ।   
 
लोकतन्त्रमा राजनीतिक पार्टी बलिया हुन्छ्न् र नेताप्रति जनताको विश्वास हुन्छ । तर नेपालमा यस्को  ठीक उल्टो भरहेछ । सरकार र पार्टीभन्दा संघ, संस्थाहरु शक्तिशाली छन् र जनतालाई नेताकोभन्दा समाजका नाम कहलिएका व्यक्तिको विश्वास बढी छ । यसकाे उदाहरणका रूपमा डा. महावीर पुन, रवि लामिछाने, कुलमान घिसिङ्ग, डा. सन्दुक रूइत, डा. गाेविन्द केसी, डा. भगवान काेइराला र धुर्मुस सुन्तली आदिलाई लिन सकिन्छ । 

जुन देशमा पार्टी भन्दा संस्था बलियो र संस्थाभन्दा व्यक्ति ठूलो हुन्छ, त्यहाँ प्रजातन्त्र कहिल्यै मजबुत हुन सक्दैन अनि भ्रष्टाचार र अराजकताले जरो गाड्छ ।   प्रजातान्त्रिक मुलुकमा यस्तो अवस्था आउनु भनेको सारै दुर्भाग्यपुर्ण हो । अहिले नेपालमा राजनीतिक पार्टीको होइन, गुटको राजनीति शुरु भएको छ । राजनीतिक पार्टी त अाफ्नाे पार्टीको आदर्श र सिद्दान्तकाे अाधारमा चल्छ तर गुटको राजनीतिमा केबल स्वार्थको कुरा हुन्छ र यसले समाजको भलो गर्दैन । अहिले देश भ्रष्टाचारमा लिप्त छ । प्रजातन्त्र त केवल नेताकाे मुखमा छ, उनीहरूकाे चरित्रमा छैन । जनतालाई नेताको आवश्यकता छैन र नेतालाई मतदानकाे बेलामा वाहेक जनताको चासो छैन । अहिले सांचै भन्ने हो भने नेपालीहरुको नेतृत्व तहमा कहीँ कतै पनि प्रजातान्त्रिक आचरण र अनुसाशन नै छैन ।  
 
विकसित देशमा राजनीतिलाई समाजसेवाको रुपमा लिइन्छ । त्यसैले त्यहाँ सबै जनता राजनीतिमा आकर्षित हुँदैनन् तर नेपालमा यो सबैभन्दा उत्तम  र राम्रो व्यवसाय मानिँदै अाएकाे छ किनकि देशको ढुकुटी नै उनीहरूकाे तलब भत्ता र सुविधामा खर्च हुन्छ ।  प्रजातन्त्रमा अनावश्यक काममा दिइने तलब भत्ता वा कुनै सेवा सुविधा पनि भ्रष्टाचार हाे ।  प्रजातन्त्रिक सरकार चलाउन जनताबाट चुनिएको राजनीतिक पार्टी चाहिन्छ, कुनै गुट वा व्यक्ति होइन तर अहिले नेपालमा गुट वा व्यक्तिबाट पार्टी र सरकार चलिरहेको छ । देशको संविधान भन्दामाथि माथि बसकाे सरकारलाई कसरी लोकतान्त्रिक सरकार मान्ने ?
लोकतन्त्रमा सरकार कहिल्यै पनि संविधानभन्दा माथि हुँदेन र लोकतान्त्रिक मुलुकमा जनता जनार्दन हुन्छन् । तर अहिले नेपाली जनता जीवन र मृत्युको त्रासमा सास फेरिरहेका छन्। यो प्रजातन्त्रको ठूलाे बिडम्बना हो ।
 
हालै मात्र नेपालमा करिब दुइ तिहाइकाे बहुमतको सरकारले पटक पटक लोकतान्त्रिक विधिको शासन व्यवस्थाकाे खिल्ली उडाउँदै गएकाे कारण अदालतले पटक पटकको फैसलाबाट पुनर्जीवित गराइदिएको छ । यसबाट के पुष्टि हुन्छ भने नेपालका कम्युनिष्टहरू प्रतिपक्षकाे भूमिकामा रहँदा एक हुने र सरकारमा जाँदा फुट्ने गर्छन् । यसबाट उनीहरू लोकतान्त्रिक सरकार चलाउन अक्षम छन् भन्ने कुरा पनि प्रमाणित हुन्छ । अदालतको अहिलेको फैसलाबाट सबै राजनीतिक पार्टीका नेताहरुले लोकतन्त्र र विधिको शासन के हो भन्ने पाठ सिक्न जरुरी छ । अदालतले लाेकतन्त्रलाइ बचाउने र यसलाइ मलजल गर्ने अभिभारा नेपाली कांग्रेसलाई सुम्पेको छ । विगतका तीतामीठा कुरालाई बिर्सेर बिपी कोइरालाको मेलमिलाप नीतिलाई आत्मसात गर्दै फुटेका कम्युनिष्टहरू समेत सबैलाइ मिलाएर नेपाली कांग्रेसको नेतृत्वमा एउटा सहमतिको सक्षम र सबल लोकतान्त्रिक सरकार गठन गरिनुपर्दछ । यसले समयावधिमै आम चुनाब पनि गराउन सकाेस् । अहिले यो नै नेपालको लागि हितकर र राजनीतिक पार्टीहरुलाई जनताको विश्वास जित्ने अवसर पनि हुनेछ ।  
 
नेपाली कांग्रेसको काँधमा अहिले राज्य र पार्टी दुवैको जिम्मेबारी एकैचोटी आएको छ । राज्यलाई परेको यस संबैधानिक संकटबाट मुक्त र लोकतन्त्रलाई मजबुत गराउन एउटा अग्रज प्रजातान्त्रिक पार्टीको हैसियतले रचनात्मक भूमिका खेल्न जरुरी छ भने अर्कोतिर नेकाकाे १४औं महाधिवेशन नेपालीहरुको घर अाँगनमा आइपुगेको छ । नेपाली कांग्रेस सबैभन्दा पुरानो एेतिहासिक, मौलिक र प्रजातान्त्रिक राजनीतिक पार्टी भएकोले लोकतान्त्रिक विधि अनुसार समयमै अधिवेशन गराउनु पनि पार्टीको अर्को प्रजातान्त्रिक अभ्यास हाे । यसमा सबैले साथ दिनुपर्छ ।
 
अहिलेका नेपाली काँग्रेसका नेताहरुले गुट र निजी स्वार्थभन्दा माथि उठेर आफ्ना अग्रज नेताहरुको स्वाभिमान र देश र पार्टी प्रतिको आदर्शलाई सम्झेर काम गर्नुपर्ने अवसर आएको छ । अहिलेको परिस्थितिमा साँचाे भन्ने हो भने नेपाली कांग्रेस आफ्नो मौलिकतामा अडिग रहने हो भने नेपालमा कुनै बाद वा राजनीतिक पार्टीको आवश्यकता पर्दैन । तर अहिले नेपाली कांग्रेसमा नेतृत्वको असक्षमताले पार्टी मात्र कमजोर भएको छैन देश नै गम्भीर संकटमा परेको छ ।  प्रजातन्त्रमा पार्टीका नेताले राज्य संचालनमा आफ्नो पार्टीको आदर्श र सिद्दान्तलाई नै बिर्से भने त्यो देश,जनता र पार्टीको आस्तित्व धरापमा पर्छ । अहिले पार्टीभित्र पुराना कार्यकर्तामा निरासा र नयापिंढी गुटबंदीको शिकार भएको छ ।

नेता पार्टी संचालनमा हाेस् वा सरकार सञ्चालनमा हाेस् सबैतिर असफल भएका कारण कार्यकर्ता र आमजनता सबैले पार्टीको नयाँ नेतृत्व चाहेका छन् । तसर्थ नेताहरुले यो आम भावनालाई आत्मसात गरेर  प्रजातान्त्रिक विधि विधान अनुसार अनुभव र योग्यताको आधारमा युवापुस्तालाइ नयाँ नेतृत्व प्रदान गरी आफूहरु सम्मानपूर्वक पार्टीको संरक्षकमा रही पार्टीलाई सक्षम गराउन अति आवश्यक छ । यो नै देश, जनता र पार्टी सबैको लागि कल्याणकारी हुनेछ । अब पनि पार्टीका नेताहरुको सोचमा परिवर्तन आएन भने पार्टीको अस्तित्व त खतरामा पर्छ नै देश झन् झन् भ्रष्टाचार र गरिबीमा जकडिने छ र अन्तर्राष्ट्रिय जगतमै नेपाल एउटा असफल राष्ट्र घोषित हुनेछ र यसबाट लोकतान्त्रिक व्यवस्था र सम्पूर्ण राजनीतिक पार्टीहरुप्रति नै जनताको वितृष्णा बढ्नेछ र कसैले पनि नेपालका राजनीतिक पार्टीलाई माफी दिने छैनन् र उनीहरू निरास भई नेताकै बिरुद्धमा विषवमन गर्दै जनता फेरि आन्दोलित हुने छन् । याे कुरा समय छँदै नेतागणले बुझिराख्नु राम्राे हुनेछ । अस्तु ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया