मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

प्रवासी मञ्च र पानस लामिछानेको पक्षमा : जनसम्पर्क भने न यता, न उता

प्रवासी मञ्च र पानस लामिछानेको पक्षमा : जनसम्पर्क भने न यता, न उता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्व लिन अघि सरेका टेक्ससका कृष्ण लामिछानेको पक्षमा नेपालको सत्तारुढ दल नेकपा एमाले निकट प्रवासी मञ्च देखिएको छ । त्यस्तै राप्रपा निकट पानस अमेरिका पनि लामिछानेकै पक्षमा खुलेको छ ।
 
नेपालका राजनीतिक पार्टी निकट दुई संगठन लामिछानेको पक्षमा खुलेर लाग्दा नेपाली कांग्रेस निकट जनसम्पर्क समिति भने तीन तिर छ । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट टेक्ससकै अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेको पक्षमा लागेका छन् । त्यस्तै केही महिना अघि आफूलाई जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष घोषणा गरेका धनञ्जय नरसिंह केसी अध्यक्षका अर्का उम्मेदवार बुद्धि सुवेदीको पक्षमा छन् ।
 
एनआरएन अमेरिकामा २० हजारको हाराहारीमा सदस्य छन् । शनिबार र आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।
 
एनआरएन अमेरिकाको अध्यक्षका लागि चारजना उम्मेदवारहरु खडा छन् । चारजना मध्य टेक्ससका कृष्ण लामिछाने र अर्जुन बञ्जाडे, विन्सकन्सिनका बुद्धि सुवेदी जनसम्पर्क समिति निकट हुन् । लामिछाने र बञ्जाडे त संस्थापकनै हुन् ।
 
जनसम्पर्क समिति अमेरिका यतिखेर उम्मेदवारका विषयमा एकमत छैन । व्यक्तिगत रुपमा जस्ले जस्लाई बोकेर हिँड्न पनि छुट पाएका छन् । बाहिरबाट हेर्नेहरुले यसलाई ‘बिना मियोको दाईँ’ को संज्ञा दिएका छन् ।
 
‘हामीले संस्थागत रुपमा लामिछाने टीमलाई सहयोग गर्ने निर्णय गरेका छौँ’ प्रवासी मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले भने । लामिछानेको टीमले साझा एनआरएन, समावेशी एनआरएन र पारदर्शी एनआरएनको एजेण्डा बोकेकोले सहयोग गर्ने निर्णय भएको थापाले स्पष्ट पारे ।
 
लामिछाने टीमबाट प्रवासी मञ्च अमेरिकाका पूर्व अध्यक्ष सञ्जय थापा, जीवन जोशी, प्रितीसागर खत्री, सुनिता खत्री बिभिन्न पदमा उम्मेदवार छन् ।
 
राप्रपा निकट पानस अमेरिका पनि लामिछानेको पक्षमा छ । केही दिन अघि ड्यालसमा आयोजित लामिछानेको कार्यक्रममा राप्रपाका सह महामन्त्री समेत रहेका प्रेम श्रेष्ठ, राप्रपा निकट लोक तिवारीले भाषणनै गरेका थिए । ‘हाम्रा केही साथीहरु लामिछाने टीममा रहनुभएको र हाम्रा एजेण्डालाई उहाँले संवोधन गर्नुभएको हुँदा सहयोग गर्ने निर्णय भएको हो‘ पानस अमेरिकाका एक पदाधिकारीले हिमालयखबरसँग भने ।
 
अमेरिकामा रहेका नेकपा माओवादी निकट नेता तथा कार्यकर्ताहरुले भने तिलक केसीलाई समर्थन र सहयोग गर्ने भएका छन् । केसी विगतमा अनेरास्ववियूको तर्फबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सचिव थिए । सोही निकटताका कारण माओवादी निकटस्थहरुले केसीलाई सहयोग गर्ने भएका हुन् । अमेरिकामा रहेका माधव नेपाल–झलनाथ खनाल पक्षीय प्रवासी मञ्चका कार्यकर्ताहरुले पनि केसीलाई सहयोग गर्ने संकेत देखिएकोमा विहीबारदेखि समिकरणमा केही फेरवदल भएको छ ।
 
जनसम्पर्क समितिले कुन उम्मेदवारलाई सहयोग गर्ने भनेर स्पष्ट नगरेका कारण सो संस्थामा आवद्धता जनाएकाहरु पनि छरपष्ट छन् । यसो हुनुका कारण बारे अध्यक्ष विष्टले हिमालयखबरसँग भने–‘कुनै एक उम्मेदवारलाई इण्डोर्स गर्दा संगठन भित्र झनै फुट आउने देखिएकोले कसैलाई पनि संस्थागत रुपमा नगरेका हौँ ।’ आफूले भने विगतमा डा. बञ्जाडेसँगको सहमति, सम्झौताको पालना गर्नका लागि खुलेर सहयोग गरेको बताए ।
 
दुई वर्ष अघि पनि डा. बञ्जाडेले अध्यक्षमा दावी गरेका थिए । त्यतिखेर सुनिल साहका लागि आफ्नो पहलमा सम्झौता भएर यसपटक बञ्जाडेलाई अध्यक्षमा सघाउने सम्झौता भएको विष्टले खुलासा गरे ।
 
विष्टले जनसम्पर्क निकट तीनैजना उम्मेदवारहरु मध्यबाटै एकजनाले जित्ने भएकोले कसैको पक्षमा पनि संस्था नलागेको स्पष्ट पारे ।
 
डा. बञ्जाडेको पक्षमा विष्ट लगायत सचिव भोजराज थोकर, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की लगायतका नेताहरु रहेको बताइएको छ ।
 
उता लामिछानेको पक्षमा जनसम्पर्कका पुराना र नयाँ अधिकांश नेता, कार्यकर्ताहरु देखिएका छन् । उनका पक्षमा नेपाली कांग्रेसमा महासमिति सदस्य तथा जनसम्पर्कका प्रभावशाली नेता हरिबोल भण्डारी, जनसम्पर्कका पूर्ब अध्यक्ष तथा महासमिति सदस्य विष्णु सुवेदी, महाधिवेशन प्रतिनिधि हेमराज भट्ट र प्रमोद सिटौला लगायतको समर्थन देखिएको छ ।
 
‘जनसम्पर्कको नाममा दलाली गर्ने र विचौलियाहरु बाहेक सबै इमान्दार नेता, कार्यकर्ताको समर्थन म र मेरो टीमलाइ छ’ लामिछानेले भने । जनसम्पर्कका नाममा यतिखेर सातवटा संस्था रहेको दावी समेत लामिछानेले गरे । ‘यी जनसम्पर्क समितिहरु अवैध हुन् । सात वर्षसम्म पनि अधिवेशन नगर्ने अनि जनसम्पर्कको पदाधिकारी भन्न लाज लाग्नुपर्ने थियो’ उनले भने ।
 
एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष डा. केशव पौडेल भने सुवेदीको पक्षमा छन् । त्यस्तै नेविसंघका पूर्ब महामन्त्री डा. यादव पण्डित पनि सुवेदीको पक्षमा रहेको बताइएको छ । ‘विष्ट नेतृत्वको जनसम्पर्क समितिका उपाध्यक्षहरू भगवान मैनाली, धर्म श्रेष्ठ, महासचिव मुनिन्द्र नेम्वांग लगायतको पनि मलाइ समर्थन छ‘ अध्यक्षका उम्मेदवार सुवेदीले भने ।
 
आफूलाइ जनसम्पर्कका धेरै च्याप्टरहरू र विष्ट नेतृत्वको कार्यसमितिका ७० प्रतिशत पदाधिकारीहरूको समर्थन रहेको दावी समेत सुवेदीको छ ।
 
एनआरएन अन्तर्राष्ट्रिय समितिका सचिव तथा अमेरिकाको नेपाली समुदायमा निकै उच्च स्थान बनाएका गौरीराज जोशी लामिछानेको पक्षमा खुलेर लागेका छन् । गत आइतबार लामिछानेको अन्तिम चुनावी कार्यक्रममा मन्तव्य राख्दै जोशीले ‘कोठरी छाडेकोमा’ लामिछानेलाई बधाई दिनुका साथै चार वर्ष अघिको आफ्नो एजेण्डा बोकेकोमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
 
स्पष्ट रुपमा नखुलेपनि वहालवाला अध्यक्ष सुनिल साह भने डा. बञ्जाडेको पक्षमा छन् । डा. बञ्जाडेले निर्वाचनको मैान अवधि सुरू भैसकेकाले कुनै प्रतिकृया दिन अस्विकार गरे । ‘म यो विषयमा केही बोल्दिन‘ उनले भने ।
 
अध्यक्षमा जनसम्पर्क समितिका नेताहरु बीच एकमत नभएपनि महासचिव पदका लागि भने एकमत जस्तै देखिएको छ । जनसम्पर्कका अधिकांश पुराना तथा प्रतिवद्ध नेता, कार्यकर्ताहरु नर्थ क्यारोलाइनाका विनोद भट्टको पक्षमा देखिएका छन् । लामो समयदेखि जनसम्पर्कमा आवद्ध भएर पनि कुनै पद नलिएको र इमान्दार, भद्र व्यक्तिका रुपमा परिचित भट्टलाई भने धेरैले जनसम्पर्कका साझा उम्मेदवारका रुपमा लिएका छन् ।