मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापना गर्न लागिपर्छु : अध्यक्ष थापा

राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापना गर्न लागिपर्छु : अध्यक्ष थापा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नै शक्तिको आधारमा सरकार निर्माण गर्ने बताएका छन् । चितवनस्थित राप्रपा पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् । 
 
अध्यक्ष थापाले अहिलेको संकटबाट छुटकारा दिलाउन राजसंस्थासहितको हिन्दुराष्ट्र स्थापना गर्ने प्रतिबद्धता पूरा नहुञ्जेल निरन्तर लागिपर्ने बताए । 
 
०६२/६३ को राजनीतिक परिर्वतनपछि प्रमुख राजनीतिक दलहरुले अवलम्बन गरेको त्रुटिपूर्ण अवधारणा र मार्गचित्रणको परिणामस्वरुप नेपालको राष्ट्रियता एकता र अखण्डता कमजोर हुन पुगेको उनले जिकिर गरेका छन् । 
 
उनले भने, ‘यो अवस्थामा आर्थिक विकास हुने सम्भावना छैन । विदेशीहरुको चलखेल र प्रभाव तीव्र रुपले बढेर गएको छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक स्थल बन्ने खतरा देखिएको छ । भ्रष्टाचार, धर्म परिवर्तन, कुशासन र सर्वसत्तावादका संकेतहरु पनि देखिन थालेको छ ।’
 
अध्यक्ष थापाले यो अवस्थामा देशलाई संकटबाट मुक्त तुल्याउन जनताले एउटा बलियो विकल्प खोजेको धारणा व्यक्त गरे । नेपालको राष्ट्रियता र एकता अखण्डतालाई बलियो बनाउन सक्ने, प्रजातन्त्रमा विश्वास गर्ने, जनताको सर्वोच्चताको सम्मान गर्दै नेपालको सनातन धर्म र संस्कृतिको संरक्षण गर्न सक्ने र सबै राजनीतिक शक्ति र विचार अटाउने राजतन्त्रसहितको लोकतन्त्र अबको विकल्प रहेको उनको जोड थियो । 
 
देशमा शान्ति र स्थायित्व कायम गर्दै आर्थिक समृद्धिको सपना पूरा गर्ने विकल्प जनताले खोजिरहेको सन्दर्भमा त्यसका लागि राप्रपाले अब अरु कुनै शक्तिको मुख नताकी आफ्नै शक्तिको आधारमा आफ्नै नेतृत्वमा सरकार निर्माणसँगै हिन्दुराष्ट्र र राजतन्त्र स्थापना गर्ने संकल्प गर्नुपर्नेमा उनको जोड थियो ।
 
उनले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्यमा एकताबद्ध हुन आग्रह गरेका छन् ।