विचार / ब्लग

नयाँ राजदूत अनि पुरानै अपेक्षा

प्रकाशित |
त साता आर्कटीक चिसो तुफान र हिमपातले अमेरिकी राजधानी वासिङ्गटन डिसीको जनजीवन अस्तव्यस्त थियो । त्यतिनै बेला अमेरिकाका लागि नेपालको १९ औं राजदूतको जिम्मेवारी निर्वाह गर्न डा. युवराज खतिवडा आइपुगे । त्यसको अघिल्लो दिनमात्र अर्जुनकुमार कार्कीले अमेरिका छाडेका थिए ।
 
सन् १९५८ फेब्रुअरीमा वासिङ्गटन डिसीमा नेपालले आवासीय दूतावास स्थापना गरेको हो । पहिलो राजदूतका रुपमा सन् १९५८ अगष्टमा डा. हृषीकेश शाहले जिम्मेवारी सम्हालेका थिए । शाहले पुगनपुग तीन वर्ष राजदूतको भूमिका निर्वाह गर्न नपाउँदै सन् १९६१ मा मातृकाप्रसाद कोइराला दोस्रो राजदूत भएर आए ।
 
सन् १९४७ मा नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापित भएयता सबैभन्दा भाग्यमानी राजदूतमा डा. कार्की दर्ज भएका छन् । १८ औं राजदूतसम्मको गणना गर्दा डा. कार्कीमात्र यस्ता रहे जस्ले झण्डै ६ वर्ष अमेरिका जस्तो चार्म भएको मुलुकको राजदूत हुने अवसर पाए । आफ्नो ६ वर्षे पदावधिमा चार जना प्रधानमन्त्रीहरुलाई रिझाउन सफल उनी अमेरिकामा रहेका अधिकांश नेपालीको मूल्यांकनमा भने सदा गुनासोका पात्र बनिनै रहे।  
 
सन् २०१५ मे महिनामा (नेपालमा भुकम्प जानुभन्दा केही दिन अघिमात्र) राजदूतको जिम्मेवारी वहन गर्न आएका डा. कार्कीको पृष्ठभूमि रुरल रिकन्स्ट्रक्सन नेपाल (आरआरएन) नामक गैर सरकारी संस्था हो । जुन संस्थामा तत्कालिन एमालेका केन्द्रदेखि लिएर जिल्ला स्तरका सयौं नेता कार्यकर्ताले तलब बुझ्छन् । सुशील कोइराला प्रधानमन्त्री हुँदा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रस्तावमा कार्की राजदूत नियुक्त भएका थिए ।
 
नियुक्त भएर आएपछि तत्कालिन एमाले र केपी शर्मा ओली शक्तिमा रहिरहेका कारण दुई वर्ष अघिनै पदावधि सकिसक्दा पनि डा. कार्की अमेरिका जस्तो देशमा कार्यवाहकका रुपमा टिकिरहन सफल भए । डा. भेषबहादुर थापा जस्तो प्रोफेसनल कुटनीतिज्ञलाई समेत पछि पारेर अमेरिकामा सबैभन्दा लामो समयसम्म नेपाली राजदूत हुने व्यक्ति बनेर कार्कीले इतिहासमा नाम लेखाए । स्मरणीय तथ्य के छ भने डा. भेषबहादुर थापा सन् १९८० देखि १९८६ सम्म साँढे ५ वर्षसम्म राजदूत भएका थिए ।
 
१९ औं राजदूतका रुपमा आएका डा. खतिवडाले मौसमको चिसो सत्कार भेटेका छन् । उनी एकातिर नेपालको राजनीति अस्थिर अनि अस्तव्यस्त र अमेरिकामा पनि ट्रम्पका उग्र समर्थकहरुले क्यापिटल हिलमा मच्चाएको श्वेत आतंकलाई लिएर सिनेटमा छलफल भैरहँदा डिसी आइपुगे ।
नवनियुक्त राजदूत डा. युवराज खतिवडा
नवनियुक्त राजदूत डा. युवराज खतिवडा
राजनीतिक नियुक्तिको क्षेत्रमा पछिल्लो दुई दशकसम्म निरन्तर हात खाली नहुने भाग्यमानीमा डा. खतिवडा पर्छन् । कतिपय नियुक्ति उनको क्षमता, बौद्धिकता, लगनशीलताले पनि छन् । तर अधिकांश सत्ता र शक्तिसँग निकट रहनसक्ने खुबीले पाएका छन् । २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम घोषित गर्दै सत्ता हातमा लिएपछि डा. खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
 
त्यसयता कहिले योजना आयोगको उपाध्यक्ष त कहिले राष्ट्र बैंकको गर्भनर । राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार जस्ता अर्थतन्त्रका विशिष्ट पदहरु जसमा डा. खतिवडाले अनुभव गर्न नपाएको कुनै बाँकी छैनन् ।
 
दाताले पत्याइएका व्यक्तिका रुपमा डा. खतिवडाको चिनारी रहिआएको छ । भलै उनकै कार्यकालमा दाताहरुले प्रतिवध्दता जनाए अनुरुपको सहयोग सरकाले प्राप्त नगरेकै भएपनि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक जस्ता बहुपक्षीय दातृ निकायले पत्याएका व्यक्ति भनेर उनी माथि फुँदा गाँस्ने गरिन्छ ।
 
अमेरिकी सरकारले प्रदान गरेको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) का बारेमा जानकार रहेका र डिसीमै विश्व बैंक, आइएमएफ जस्ता दातृ निकाय रहेकाले तिनलाई कन्भिन्स गर्ने ल्याकत भएका कारणले नेपाल सरकारले नियुक्त गरेको अनुमान गर्न कठिन छैन । तर सबैभन्दा बलियो कारण चाँही उनी वर्तमान प्रधानमन्त्रीका सबैभन्दा विश्वासपात्र हुन् ।
 
डा. खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र नवनिर्वाचित राष्ट्रपति जोसेफ बाइडेन समक्ष पेश गरिसकेका छैनन् । ओहोदाको प्रमाणपत्र पेश नगर्दासम्म राजदूतको औपचारिक जिम्मेवारी ग्रहण गरिसकेको नमान्ने कुटनीतिक प्रचलन छ । यस हिसाबले अबको केही सातामै डा. खतिवडाले ओहोदाको प्रमाणपत्र पेश गरेर काम सुरु गर्नेछन् ।
 
डा. खतिवडासँग दुई वटा चुनौति यतिखेर छ । पहिलो, निवर्तमान राजदूतले अमेरिकामा रहेका नेपाली समुदाय र दूतावासबीच खडा गरेको मानसिक पर्खाललाई भत्काउने ।
 
दोस्रो, अमेरिकी सरकार अनि दातृ निकायलाई नेपालमा गरेको लगानी खेर जाँदैन भनेर विश्वास दिलाउने । जसबाट नेपालले पाउनसक्ने अनुदान, ऋणको बढ्न सकोस् ।
 
झण्डै ६ वर्ष डिसीमा रहँदा निवर्तमान राजदूत डा. कार्कीले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन भन्दा उनीभन्दा अघिल्ला राजदूत डा. शंकर शर्माले बनाएको सम्बन्धलाई भत्काएको आरोप लाग्दै आएको छ । अमेरिकामा रहेका नेपाली समुदायले डा. कार्कीलाई पञ्चायतको अञ्चलाधीशको शैली अपनाएको आरोप पनि बारम्बार लगाएका थिए । उनले यो आरोपलाई अवसर पाउँदा, मञ्च मिल्दा खण्डन, स्पष्टीकरण दिँदै आएका पनि थिए । तर डा. शर्माको उदार र पारदर्शी शैली, सबैसँग मिलनसार व्यबहार पाएका नेपाली समुदायले डा. कार्कीको प्रशासनिक अनि हाकिमी शैलीलाई पटक्कै नरुचाएका भने निश्चित हो । राजदूतका विषयमा राष्ट्रसंघको महासभामा आएका बखत प्रधानमन्त्रीहरुदेखि लिएर परराष्ट्र मन्त्रीहरुसँग नेपालीले गुनासो बारम्बार राखेका पनि थिए । तर नेपाली उखान जस्तै भगवान दाहिना भएका कारण कसैको केही लागेन । समय अगावै फिर्ता होलान् भनेर धेरैले सोचेका राजदूत डा. कार्की आफ्नो पदावधि सकिएपछि पनि थमौती गरेर अर्को दुई वर्षसम्म डिसी बस्न सफल भए ।
 
राजदूतको जिम्मेवारी वहन गर्न अमेरिका आइपुगेका डा. खतिवडा कति सफल होलान् या असफल यो त उनको गतिविधिले केही महिनामै संकेत दिनेछन् । केही वर्षका लागि यश, सुख, विलासी जीवन यापन गर्ने उद्वेश्यले राजदूत पदको रहर राखेका हुन् या काम गर्नका लागि हो भन्ने कुराको छनक पनि शायद ६ महिनामै देखिनेछ ।
 
उनीको शीरमाथि सत्तारुढ दल नेकपा विभाजनको ठूलो आरोप छ । नेकपा विभाजनको धेरथोर कारण डा. खतिवडा पनि हुन् । उनलाई राष्ट्रिय सभाको सदस्यमा दोहोर्याएर अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना विपरित सो पार्टीको सचिवालयले वामदेव गौतमको पक्षमा निर्णय गरेको थियो । आफूले चाहेका खतिवडाको पक्षमा पार्टीका नेताले साथ नदिएपछि ओलीमा इगो पलाएको र अन्तत्वगत्वा त्यसलेनै विभाजनको रुप लिएको तथ्य जो कोहीले बुझेकै विषय हो ।
 
समकालीन अर्थविददेखि लिएर राष्ट्र बैंकका रिटायर्ड अधिकृतहरुबीच विगतमा डा. खतिवडाको स्वभावको चर्चा हुने गर्थ्यो । यो चर्चा अहिले झनै झाङि्गएको हुनुपर्छ भन्ने मेरो अनुमान छ । चर्चा हुने गर्थ्यो–डा. खतिवडा राजनीतिज्ञ हुँदै होइनन् । उनी पद खानका लागि पैदा भएका पात्र हुन् ।
 
२०३२ सालमा झापामा राष्ट्रवादी विद्यार्थी मण्डलको सचिवबाट परिचय बनाएर अघि बढेका खतिवडाको सबैका विश्वासपात्र सफल भए । राजा ज्ञानेन्द्रले योजना आयोग, कांग्रेसका अर्थमन्त्री डा. रामशरण महत हुँदा रिदम मिलाएर गभर्नरमा टिकिरहन सफल देखि लिएर नेकपाको सरकार हुँदा पदको बम्परै बम्पर पर्नु उनको खुवीको पनि विषय हो ।
 
‘पदका लागि उहाँमा पार्टीको नैतिकता, निष्ठा अनि प्रतिष्ठा केही नहेर्ने स्वभाव छ’ उनको स्वभावसँग परिचित एक नेकपा नेताले टिप्पणी गरे ।
 
ती नेताले विगतको स्मरण गर्दै भने–‘माधव नेपाल प्रधानमन्त्री हुँदा श्रीलंकाबाट रातारात झिकाएर योजना आयोगको उपाध्यक्ष बनाइएको थियो । उपाध्यक्ष भएको केही महिनामै गभर्नर पद खाली हुने भयो । योग्य व्यक्ति खोज्न जिम्मा दिइएकोमा उनले आफैँ गभर्नर हुने इच्छा दर्शाए । चारैतिरबाट प्रमं नेपालमाथि दवाव दिलाए । सरकार चाँडै ढल्छ भन्ने सोचले उनले योजना आयोगको उपाध्यक्ष भन्दा तल्लो तहको गभर्नर खान तम्सिए र सफल पनि भए । उनकै कारणले आफ्नो भागमा रहेको योजना आयोग त्यतिखेर कांग्रेसलाई दिनुपर्ने वाध्यता आइलागेको थियो ।’ खतिवडालाई गभर्नर बनाएपछि योजना आयोगमा पृथ्बीराज लिगललाई नियुक्त गरिएको थियो ।
 
अमेरिका जस्तो महाशक्ति राष्ट्रको राजदूत हुने अवसर सानोतिनो हैसियत भएकाले पाउने पद होइन । परराष्ट्रका करिअर डिप्लोम्याटले अमेरिकाको राजदूतको जिम्मेवारी पाएकै छैनन् । हृषीकेश शाहदेखि डा. खतिवडासम्मको नियुक्ति हेर्दा राजनीतिज्ञ, रिटायर्ड मुख्यसचिव/सचिव, परराष्ट्रमन्त्रीका अन्नदाताले मात्र यो पद पाएका छन् । भलै ती मध्य कतिपयले राम्रै काम गरेर छाप छाडेको इतिहास पनि छ ।
 
राजनीतिमा एउटा छाप छाडेका, अर्थमन्त्री हुँदा जनमुखी काम गर्न नसकेको भनेर आफ्नै दल भित्रैबाट समेत आलोचित डा. खतिवडाले अमेरिकामा छँदा दुईवटा काम गरे भने उनले डा. शर्माको जत्तिकै हाइहाइ पाउनेछन् । पहिलो, उनले अमेरिकामा रहेको दूतावास नेपालीहरुका लागि हो र दूतावास भवन सबै नेपालीको आफ्नै घर हो भन्ने भावना जगाउन सक्नुपर्छ । विगत ६ वर्षमा अमेरिकामा रहेका नेपाली र दूतावासका अधिकारीबीच खडा भएको मानसिक पर्खाललाई तोड्न सक्नुपर्छ । बेलाबखतमा नेपाली समुदायसम्म पुगेर छलफल गर्ने, समस्या बुझ्ने, नेपाल सरकारसम्म पहुँच पुर्याउन राजदूतले भूमिका खेल्नुपर्छ ।
 
दोस्रो, अमेरिकी सरकारदेखि लिएर दाताहरुसम्म सम्बन्ध विस्तार, सहयोग राशीमा वृदि्ध गराउन सक्नुपर्छ । राजदूत हुनु भनेको देशको प्रतिनिधित्व गर्ने पद हो । यश आराम गर्ने र रिटायर्ड लाइफ बिताउने अवसरका रुपमा यो पदलाई नलिएर काम गर्ने अवसरका रुपमा ग्रहण गर्न सक्नुपर्छ ।
 
मात्र यी दुइ काम पनि गर्न नसक्ने हो भने डा. खतिवडाका लागि राजदूत पद गणेशभक्ती स्टाइलले मिलेको एउटा व्यक्तिगत अवसर भन्दा अरू केही हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया