मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ट्रम्पले अपहरण गरेको अमेरिकी प्रजातन्त्र

ट्रम्पले अपहरण गरेको अमेरिकी प्रजातन्त्र

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विषयमा विश्वभर नेतृत्व दिइरहेको संसारकै सबभन्दा पुरानो प्रजातन्त्रमा अहिले ग्रहण लागेको छ। अझ यसरी पनि भन्न सकिएला—संसार कै सबभन्दा सुदृढ र बलियो प्रजातन्त्र भनेर चिनिने अमेरिकी प्रजातन्त्र यतिखेर डोनल्ड ट्रम्प नामका एक खलपात्रको हातको बन्धक भइरहेछ। नोभेम्वर तीनमा राष्ट्रपतीय चुनाव भएयता जनअभिमतलाई धोती लाइदिने धम्कीका सयौं ट्वीट लेखेर अमेरिकी जनतालाई तल्लो स्तरसम्म विभक्त बनाइरहेछन्- डोनल्ड ट्रम्प।
 
७० लाख भन्दा बढी प्रत्यक्ष मत र ७४ इलेक्टोरल कलेज मतले पराजित ट्रम्पले चुनाव सम्पन्न भएको दुई महिना भैसक्दा समेत चुनावमा पराजित भएको स्वीकार्नुको सट्टा हरेक दिन नयाँ बखेडा झिकिरहेका छन्। गलत तथ्य र उनका अन्ध समर्थकहरुले प्रपगण्डा शैलीमा बनाएका तथ्यहिन सूचनाहरुलाई ट्वीट गर्नु उनको पहिलो काम भएको छ। ब्याटल ग्राउण्ड भनेर चिनिएका र २०१६ को चुनावमा ट्रम्पले जितेका राज्यहरु पेन्सलभेनिया, जोर्ज्या, विस्कन्सिन, मिसिगन र एरिजोनामा पराजित ट्रम्पले जनमतलाई अस्विकार मात्र गरेका छैनन्, अमेरिकी आदर्श र प्रजातान्त्रिक प्रणाली प्रतिको विश्वले गरेको विश्वास नै गलत साबित गराउने प्रयास गर्दैछन्।
५० वटै राज्यको इलेक्टरल कलेज भोटको गणना भोली जनवरी ६ का दिन अमेरिकी कंग्रेसको संयुक्त बैठकमा हुनेछ र सोही बैठकले राष्ट्र्रपतिमा निर्वाचित जो बाइडनको विजयको औपचारिक घोषणा गर्नेछ। तर उनको गलत उक्साहटलाई उर्जा दिनेगरी केही रिपव्लिकन सिनेटर र कंग्रेसमेनहरुको समुहले इलेक्टरहरुको मतलाई अस्विकार गर्ने जनाएकाले संसदले राष्ट्रपति निर्वाचनको अन्तिम घोषणा गर्न ढिलाइ हुने संभावना बढेको छ। हाउस अफ रेप्रिजेन्टेटिभ्सका एक र सिनेटका एक सदस्यले कुनै राज्यको इलेक्टरल भोटलाई अब्जेक्सन गरेमा हाउस र सिनेटले दुईघण्टा छुट्टा-छुट्टै छलफल गरेर त्यस्तो अब्जेक्सनलाई मतदानबाट स्विकार वा अस्विकार गर्नेछ। यदि त्यस्तो अब्जेक्सन हाउस र सिनेटले अस्विकार गरेमा राष्ट्रपतिको निर्वाचनको परिणामको औपचारिक घोषणा हुनेछ।
 
अमेरिकी संसदमा नव निर्वाचित राष्ट्रपतिको औपचारिक घोषणा हुने दिन ह्वाइट हाउस छेउकै पार्कमा ट्रम्पका समर्थकहरुले चुनावी नतिजाका खिलाफमा ऱ्याली गर्दैछन् र ट्रम्पले त्यस्तो अराजक भिडलाई प्रत्यक्ष रुपमै उक्साइ रहेका छन्।
चुनाव अघि टेलिभिजन अन्तरवार्ताहरुमा आफूले चुनाव हारे मतपरिणाम नस्विकार्ने संकेत गरेका ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडनलाई सहज सत्ता हस्तान्तरण नगर्ने र मतपरिणामलाई उल्ट्याउने अभिप्रायले अदालती अवरोधहरु ल्याउने भरमग्दुर प्रयास गरेका भएपनि त्यसमा उनी सफल हुन सकेनन्। सर्वोच्च अदालतमा आफैंले नियुक्त गरेका तीन कन्जरभेटिभ जजहरुले आफूलाई सहजै साथ दिन्छन् भन्ने भ्रममा रहेका ट्रम्पले आफू र आफ्ना सहयोगीहरु मार्फत सर्वोच्च अदालतमा दायर दुबै मुद्दामा कुनै सफलता पाएनन्। उनीहरुले दायर गरेको पाँच दर्जन भन्दा बढी ल-सुटहरु विभिन्न अदालतले खारेज गरेपनि ट्रम्प र उनका हुल्लडवाज समर्थकहरुले चुनावमा धाँधली भएको भन्न र झुटा सूचनाहरु श्यर गर्दै चुनावको नतिजा उल्टाउने गतिविधि गर्न छोडेका छैनन् ।
 
ट्रम्पको चारवर्षे कार्यकाल भरी उनका गलत हर्कतहरुलाई मलजल गर्ने बदनाम वकिल रूडी जुलयानीको सहाराले चुनावको नतिजा उल्ट्याउने असफल प्रयासमा लागेका ट्रम्पले जनवरी ६ मा संसदको संयुक्त बैठकको अध्यक्षता गर्ने उपराष्ट्रपति माइक पेन्सलाई समेत इलेक्टरल भोट गणनालाई अस्विकार गर्न उक्साइरहेका छन्। उनका हरेक हर्कतले अमेरिकी प्रजातन्त्रको हुर्मत लिइरहेको छ।
 

प्रजातन्त्र र मानवअधिकारको विश्व नेतृत्व गर्दै आएको अमेरिका ट्रम्पको बहुलठ्ठीपनका कारण संसारका अघि लज्जित हुने अवस्थामा पुगेको छ। ट्रम्पको छुद्रता, अराजनीतिक व्यवहार र तानाशाह शैलीको शासनबाट अमेरिकी जनता र बरिष्ट अमेरिकी राजनीतिज्ञहरु कति आजित रहेछन् भन्ने सानो उदाहरणका रुपमा पूर्व राष्ट्रपति जर्ज बुशले गरेको टिप्पणीलाई लिन सकिन्छ। अमेरिकी संचार माध्यमहरुले जो बाइडन राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्ने वित्तिकै पूर्व राष्ट्रपति बुशको टिप्पणी थियो-‘रिपव्लिकन पार्टीले बल्ल ट्रम्पको चङ्गुलबाट मुक्ति पाउने भयो।’

 
चुनाव हार्ने कल्पना नै नगरेका ट्रम्पले जसरी पनि चुनावी नतिजा उल्ट्याउने खेल चुनाव भएको दिन देखि नै गर्दै आएका छन्। आफूले चाहे जस्तो नगर्ने वित्तिकै कुनै पनि सरकारी अधिकारी वा आफ्ना क्याविनेटका सदस्यहरुप्रति कस्तो रबैया अपनाउँछन् भन्ने उदाहरण चुनाव हारेपछि डिफेन्स सेक्रेटरी मार्क एस्पर, साइवर सेक्युरिटी चिफ क्रिश क्रेब, राष्ट्रिय आणविक सुरक्षा प्रशासनका प्रमुख लिजा गोर्डन हेगर्टी, यूएसएडकी उप प्रशासक लगायतका दर्जनौं अधिकारीहरुलाई गरेको बर्खास्तगीबाट अनुमान गर्न सकिन्छ। ट्रम्पले चार बर्षमा आफ्नो क्याबिनेटका १५ मध्ये अधिकाँस सदस्यलाई बर्खास्त वा जबर्जस्ती पद त्याग गर्न लगाएका थिए। त्यस मध्ये पनि एटर्नी जनरल तीन पटक, डिफेन्स सेक्रेटरी चार पटक र सेक्रेटरी अफ स्टेट दुई पटक बदलिएका थिए। करीब पाँच दर्जन बरिष्ठ अमेरिकी अधिकारीहरुले ट्रम्पको ट्वीट मार्फत आफू बर्खास्त भएको जानकारी पाएका थिए।
 

अमेरिकी इतिहासमै सबभन्दा सुरक्षित चुनाव गराएको भनिएका साइवर सेक्युरिटी चिफले समेत आफू नोभेम्वर १७ मा पदमुक्त भएको जानकारी ट्रम्पको ट्वीटबाट थाहा पाएका थिए। आन्तरिक द्वन्द्व नियन्त्रणका लागि सेना परिचालन गर्न सहयोग नगरेकोले चुनाव हारेर ह्वाइट हाउस छोड्नु अघि डिफेन्स सेक्रेटरीलाई बर्खास्त गरेका ट्रम्पले चुनावमा धाँधली भएको प्रमाण नभएको अभिव्यक्ति दिएका एटर्नी जनरल विलियम बारलाई क्रिसमस अघि पदत्याग गर्न बाध्य पारेका थिए।

 
ट्रम्प कति मैमत्त, छाडा र झुटा हुन् भन्ने कुरा विश्व जगतले छिन् छिनमा थाहा पाइरहेको छ। चुनाव अघि देखि नै तथ्यहरुलाई छेड्खानी गरिएका ट्रम्पको दर्जनौं ट्वीटलाई ट्वीटरले सेन्सर गरिदिएको थियो भने चुनाव पछि नतिजा अस्विकार गर्ने र चुनावमा धाँधली भएको अप्रमाणित कुराहरुलाई प्रपगण्डाको शैलीमा उछालीरहेका उनका ट्वीटहरुलाई ट्वीटरले गरिरहेको ‘सेन्ससिप’ र ‘फ्ल्यागिंग’ले उनी कति अराजक र असहिष्णु छन् भन्ने संसारले देखिसकेको छ।
 

कानूनी छिद्रहरुलाई प्रयोग गर्दै कर छलेर व्यापार गरिरहेका ट्रम्पले अमेरिकी राष्ट्रपति संस्थालाई आफ्नो नीजि व्यवसाय जस्तै गरेर चलाए। ट्रम्प संभवत अमेरिकी इतिहासमा सबभन्दा खराब र बदनाम राष्ट्रपतिका रुपमा बाहिरिने दिन जनवरी २० आउन अब दुईहप्ता मात्र बाँकी छ। तर जति जति ह्वाइट हाउस छोड्ने दिन नजिक आउँदै छ, ट्रम्पको बेतुकका ट्वीट र तानाशाह शैलीका उदण्डता बढ्ने क्रम जारी छ।

 
ट्रम्प आफू मात्र बदनाम भएको होइन, उनका तमाम अप्रजातान्त्रिक र शर्मनाक हर्कतले विश्व सामु रहेको अमेरिकी प्रजातन्त्रप्रतिको आस्था र भरोसा माथि पनि प्रश्न चिन्ह खडा गरिदिएका छन्। अझ यसरी भनौं—ट्रम्पले अमेरिकी प्रजातन्त्रको अपहरण गरेका छन् , आठ करोड १२ लाख अमेरिकी मतको अपमान गरेका छन्। र, अझै १४ दिन अमेरिकी स्वतन्त्रताले उनको बन्धनबाट मुक्ति पाउन पर्खिनु पर्ने भएको छ।