कोरोनाको महामारी फैलिएको पनि लगभग एक बर्ष भैसक्यो। मानवीय क्षती मात्र नभएर मानिसहरुको दैनिक जीवनशैलीमै ठूलो फेरवदल गराइदिएको छ यो महामारीले । जीउने आशामा “न्यू नर्मल“ फलो गर्दै माक्स लगाउने, सामाजीक दूरी राख्ने, भीडभाडमा नजाने आचरणहरुले मानवबस्तीहरु बिल्कुलै फरक भएका छन् र यो क्रम अझै जारी छ ।
नयाँ शैलीमा जीउने क्रममा रहर मात्र नभएर बाध्यताले समेत प्रविधिप्रति हरेक उमेरका मानिसहरुको आकर्षण बढेको छ । धेरै कार्यक्रमहरु भर्चुअल भएकोले संसारका जुनै कुनामा रहेका साथी तथा आफन्तहरूसँग समेत सहजै कुराकानी हुन थालेको छ । यति लामो कोरोना कहरमा जीवन र मरणका हजारौं कथाहरु भेटिए । भेटिएका केहि कथाहरुले अन्तर्मनको कुनामा अमिटछाप छोडेका छन् ।
उनले जीवनको ४५ बसन्तहरु पार गरिसकेकी छन् । कक्षा आठमा पढ्दा पढ्दै प्राथमिक स्कुलका शिक्षकसँग बिहे गरिदिए बाबुआमाले । कलिलै उमेरमा गर्नु परेका संघर्षका कथाहरु केहि हरफहरुमा अटाउन संभब छैन । उनको हरेक कामसँगै पढाइ तिरको लगनशीलताको बयान नगरेमा अन्याय हुन्छ जस्तो लागेको छ । सानैं उमेरमा घर, परिवार र पढाइ समालेर बि.ए. पास गर्दा सम्म दुइ छोरीहरुकी अमा भैसकेकी उनी मलाइ धर्ती जस्तै सहनशिल लाग्छ । म उनलाइ “धर्ती“ नैं भनेर सम्बोधन गर्दछु ।
तीन र पाँच बर्षको छोरीहरु च्यापेर धर्तीका परिवार कङ्गारूका देशले चिनिने अस्ट्रेलिया बसाइ सरेको पनि झण्डै दुइ दशक बितिसकेको छ । उनीसँग खुलेर कुराकानी नभएको करिब तीन दशक पुगेछ । यसपालीको महामारीले भर्चुअल दुनियाँसँग निकै निकट बनाइ दिँदा उनीसँग मन फुकाएर धेरै पटक कुरा गर्ने अवसर मिल्यो ।
धर्तीलाइ बाल्यकालदेखिनै ज्यादै नजिकबाट चिन्छु । यसैले त उनको बास्तबिक जीवनका भोगाइहरुले समाजका ओझेलपरेको भागहरुमा उज्यालो प्रकास छरेजस्तो लाग्छ मलाइ । उनीसँगको धेरै पुरानो एउटा भेट–
तराइको सामान्य घर, गोठ भरी भैँसी र एक हल बलिया देखिने गोरु । समथर बारी, आँखाले हेर्न भ्याउने सम्म हरियाली । बारीमा के के थिए एकीन भएन । केही तरकारी, पँहेलै फूलेको तोरीको भने अझै सम्झना आउँछ ।
साँझ पर्नैं लागेको थियो । धर्ती भरखर गोठको धन्दा सकेर काखमा छोरी च्यापी बार्दलीमा उक्लेकी मात्र रहिछे । उनकी सासुआमा आगो बाल्दै थिइन् चुल्होमा । म उनलाइ भेट्न बार्दलीमै पुगेँ । काठले बारेको सानो काठको ढोकामा सेतोचकले लेखिएका अक्षरहरुमा आँखा टक्क अडिए । लेखिएको थियो–“पुरानो कोट लगाउ, नयाँ किताब किन “- थोरो ।
बास्तबमा धर्ती यस्तै प्रेरक भनाइबाट निकै प्रभाबित थिइ । कामबाट बँचेको समय पढाइमा नैं लगाइ । पछिल्ला दिनहरुमा परिवारबाट पनि सहयोग हुन थाले पछि बि.ए.पास गर्ने बितिकै लोकसेवाको परिक्षामा सामेल भएर प्रसासनको नायव सुब्बा पदमा नाम निकाली । धर्ती घर परिवारमात्र नभएर पुरै समुदायमा सफलताको एउटा नौलो आयाम थप्न सफल सक्षम भएकी थिइ ।
धर्तीको सफलताले समाजमा महिला आफैं पनि लगनशील हुनु पर्दछ भन्ने चोटिलो सन्देश दिएको थियो । त्यतिखेरको नेपाली समाजमा घर्ती जस्तै सानैंमा बिबाह गरेर गएका धेरै छोरीहरुले बुहारी हुनासाथ पठन पाठन रोक्नु पर्ने बाध्यताहरु नौला थिएनन् । सुरुमा त परिवारको सहमत कहाँ थियो र धर्तीलाइ पनि ? स्कुल जान नपाए पनि घरमा रातभर नसुती पढेर कति परिक्षा समेत पास गरेकी थिइ उसले । हाम्रो नेपाली समाजमा शिक्षामा पहुँच हुँदा पनि सफलता हात पार्न नसकेका महिलाहरु प्रसस्त भेटिन्छन् । पहुँच नहुनेको त कुरै छोडौं । सबै कुरामा आफू निर्दोष र घर, परिवार, समाज सबैलाइ दोषी देखाउँदै महिला हकहित र अधिकारका नारा लगाउँदै हिंड्ने भीडको पनि कमी छैन । महिलाहरु आफ्ना लागि आफैं लगनशिल नभएसम्म पनि सफलता हात पार्न सकिँदैन भन्ने एक ज्वलन्त उदाहरण हुन धर्ती। हाम्रा समाजमा धेरै धर्तीहरु पनि छन जो हजारौं चोटका सामना गर्दै निरन्तर अघि बढि रहेका छन् ।
यसरी हरेक कोणबाट सक्षम अनि सफल धर्ती फेरी कमजोर हुँदै गएकी छ आजकाल । आफ्नो देश छोडेर परदेश तिर लाग्दा अरूले जस्तै ठूला ठूला सपनाहरु थिए धर्तीका । घरदेशमा अभाबै अभाब हुँदा पनि निकै मेहनतले ठूलो सफलता हात पारी सकेकी धर्तीलाइ सुबिधा सम्पन्न देशमा त झन धेरै प्रगति गरिएला जस्तो लागेको थियो रे ।
आफु र शिक्षक लोग्नेकाको समेत सम्पूर्ण प्रमाण पत्र, सम्मान पत्र तथा कामका अनुभब खुलेका सारा कागज पत्रहरुका सक्कल र प्रमाणित प्रतिहरु फाइलमा चिटिक्क सजाएर अष्ट्रेलिया लगेका छन् । परदेशका बजारमा ती प्रमाणपत्रहरु कहाँ बिक्नु ? बिक्यो त केबल शारिरिक परिश्रम । दिनको १२ देखि १६ घन्टासम्मको काम । नेपालबाटै लगेका प्रमाण पत्रमा केहि बिदेशका थपेर बिकाउनु त कता हो कता त्यो फाइल खोलेर हेर्ने समेत फुर्सदसम्म पनि भएन । आजसम्म पनि बैठक कोठाको शोकेसमा जस्ताको त्यस्तै बसि रहेका छन् प्रमाणपत्रहरु ।
धर्ती र उनका श्रीमानले आफ्ना सारा मेहनत दुइ छोरीहरुका लागि नैं अर्पण गरे । हप्ताको लगभग सातै दिन काममा जाने, कमाउने । घर / गाडी किन्ने मात्र नभएर सकेसम्म बजारमा आएका नयाँ गेम, खेलौना, आइप्याड, आइफोन, राम्रा कपडा जस्ता सारा सामानहरु थुपार्न थाले छोरीहरुको लागि । छोरीहरुको पढाइ पनि राम्रै थियो । तर छोरीहरुको जन्मदिन, चाडपर्व बाहेक खासै पुरै परिवार सँगै बस्ने समय थिएन । तामझामका साथ छोरीहरुको जन्मदिन, आफ्नो बिबाह बर्षगाँठ, गुन्यूँचोली, स्वीट सिक्सटिन जस्ता कार्यक्रमहरु गरि रहन्थे । परदेशको काम र तामझाममा दशकौं बितेको पत्तै भएन धर्तीलाइ । यति लामो समय आफ्नैं सन्तानका लागि मात्र रमाइ रहँदा जन्मदिने र कर्मदिने काखहरुलाइ सम्झने समेत फुर्सद भएन ।
कलेज पढ्ने दुबै छोरीहरुको हिमचिम सहपाठीहरुसँग नैं हुनु स्वभाविक थियो । उनीहरु बारम्बार बाबु आमालाइ कहिलेकाहीँ फुर्सद लिएर आफुहरुसँग समय बिताउन, भेकेसन जान अनुरोध गरिरहन्थे । छोरीहरुले कचकच गरेपछि बर्षको एक दुइ पटक भ्याकेसन गएपनि छोरीहरूसँग खासै धेरै समय बिताउन सक्दैनथे । जब छोरीहरु टिनएजमा पुगेर यता उता साथीहरुसँग रमाउन थाले बल्ल पो छोरीहरू तर्फ ध्यान जान थाल्यो। तर धेरै ढिलो भैसके पछि धर्तीले काम कम गरेर छोरीहरु तिर बिचार पुर्याउन थाली।
अब छोरीहरुले हरेक क्रियाकलापहरुको अभिलेख बुझाउन पर्ने भयो बाबु आमालाइ । यस्तै कुराहरुले उनिहरुको छोरीहरुसँग ठाकठूक सुरु हुन थाल्यो । छोरीहरुले बाहिर जाँदा हरेक दुइ/तीन घन्टामा बाबु आमालाइ आफु रहेको ठाउँ र आफ्नो एक्टीभिटी खुल्ने गरी स्न्याप च्याट समेत पठाउनु पर्ने भयो । हदै सम्मको कडी कडाउ हुन थाले पछि एक दिन कान्छी छोरीले मुख खोलिछ ।
“बाबाममी, हजुरहरुले हामी सानो हुँदा एक्लै एक्लै छोडेर काम गर्न जानु भयो । हामीसँग बसेर कुरा गर्नु, खेल्नुको साटो सानै उमेरमा आइप्याड हातमा थमाएर हामीलाइ एडिक्ट बनाउनु भयो । जति बेला नि पैसा दिंदै हामीलाइ स्पोइल गराउनु भयो । अझै महंगा पार्टी प्यालेसमा तामझामका साथ स्वीट सिक्सटीन गरेर रमितै गर्नु भयो । साथीहरुले “योर प्सारेन्ट आर सो रिच । होएर दे वर्क ? “ भन्दा हाम्लाइ कति इम्ब्यारेस हुन्छ ? हामी ठूलो भैसकेका छौं । आफ्नो बिचार आफैं गर्न सक्छौं । चाहिने भन्दा धेरै निगरानी गरेर हामीलाइ टर्चर नगरि दिनुहोस् । यस्तै गरि रहनु भयो भने म हजुरहरुलाइ मुद्दा (सु) समेत गर्न पछि पर्ने छैन ।“
कान्छी छोरीका कुराले उनीहरू छांगाबाट खसे झैं भए धर्ती दम्पती । यति भइसक्दा पनि अलिकति बिचार पुर्याउन नसकेरै होला परिवारमा झनैं तनाब बढ्दै गयो ।
भलै छोरीहरु नराम्रो काम या कुलतमा पनि लागेका थिएनन् । उनीहरुका बिदेशी केटा साथी थिए । छोरीहरु बिदेशी केटासाथीसँग हिंड्दा नेपाली समाजमा आफ्नो बेइज्जत होला भन्ने फोस्रो आडम्बरले एक पछि अर्को गल्ती बढ्दै गयो । एक दिन धर्तीका श्रीमानले आफ्नी ठूली छोरीलाइ केटा साथीसँग घुम्दै गरेको आफ्नैं आँखाले देखेछन् । छोरी घर आएपछि तथानाम गाली गर्दै एक दुइ थप्पड समेत हानेछन् ।
विकसित मुलुकमा आफ्नै छोरा छोरीलाइ समेत कुटेको कुरा कसैले रिपोर्ट गरिदियो भने ठूलो झमेलामा पर्ने कुरा थाहा हुँदाहुँदै पनि “आफ्नै छोरी हो । यति सम्म नगर्ली । यसो हप्काए पछि तह लाग्छे । उमेर पुगेकी छोरी राम्रो नेपाली केटो खोजेर बिहे गरि दिउँला“ भन्ने सोचले गरेको हप्काइ र थप्पडले उनीहरुको जीबनमा ठूलो भुइंचालो ल्यायो ।
घरमा खटपट बढेपछी कान्छी छोरीले पुलिसलाइ खबर गरिछ । अब बाबुआमा जेलमा । केहि दिनमा जसोतसो जेलबाट त छुटे । १८ बर्ष पुगि सकेका छोरीहरु युनिभर्सिटी पढ्नेगरि सिड्नीबाट टाढाको पर्थ पुगे । त्यही आफ्नै हिसाबले बस्न थाले । उमेर पुगेका छोराछोरी बाबुआमाबाट टाढा भए पनि बिशेष अकेजनहरुमा भेट्न आउँछन् । चाडपर्वहरु सँगै मनाउँछन् । तर धर्तीको परिबार यसरी फाट्यो कहिल्यै जोडिन सकेन । जन्मदिन त वर्षेनी आइरह्यो, चाडपर्व पनि आइरह्यो । तर सेलिब्रेसन त्यसयता कहिल्यै भएन । जन्मदिन, चाडपर्वहरू आउँदा धर्तीका पतिपत्नीका लागि पीडा आउँथ्यो । एक दशकसम्मै छोरीहरू फर्किएनन् । उनीहरू अष्ट्रेलियाबाटै हराए । साथीभाइ, आफन्त लगाएर पर्थ, मेलबर्न, एडेलेड, ब्रिसबेनदेखि लिएर अक्लाण्डसम्म खोजी गरे । कसैले युरोप सरेको त कसैले अमेरिका पुगेको, कसैले बिहे गरेर बेलायत गएको अपुष्ट खबरमात्र दिन्थे । छोरीहरू कहाँ छन् भनेर सही खबर दिने उनीहरूका लागि कोही भएनन् । यही बेलामा कोरोनाले दम्पत्तीकै जागिर गयो । छोरीहरूको सम्झनाले बेलाबखतमा सताएपनि कामको व्यस्तताले उनीहरू त्यो पीडालाइ भुलिरहेका थिए । तर बेरोजगार भएपछि दोहोरो पीडाले सहन नसकेर आत्महत्या गरे धर्तीका श्रीमानले ।
बाहिरबाट देख्नेहरुले कोरोना कहरले डिप्रेसन भएर आत्मा हत्या गरेको लख काटे । तर धर्ती आज पलपल मरेर बाँचेकी छ । यति ठूलो संकटमा छोरीहरु न फर्केर आए न त एक कल फोन नैं गरे ।
धर्ती फाटेको मन सिलाउँदै छ आजकाल । परदेशका कुरा हन्डर खाएर मात्र बुझेकी छ उसले । बिर्सन नसक्ने चोटहरु बोकेर आफैंसँग मिल्न सक्ने हजारौं परदेशीहरुका पीडा डायरीमा उतारेर समय बिताउँदै छ उ । धर्तीका कथाहरुले घरदेश र परदेशका संस्कारहरुलाइ समायोजन गर्ने प्रयास गर्नेछन् । धर्तीका कथाहरुमा बिदेशिएका छोराछोरीहरुको बाटो हेर्दै बन्ध भएका आँखाहरु, सपनाको देशमा रित्तीएका भाबनाहरु, हुर्केका सन्तानहरुले लात मारेका काखहरु, बुझ्न नसकेका संस्कारहरु सबै समेटिने छन् । आशा छ एक दिन धर्तीका कथाहरुले हामी सबैको धर्ती हराभरा बनाइ दिनेछन् ।
प्रतिक्रिया