
ड्यालास (टेक्सस): अमेरिकामा यस वर्ष तिहारको भाइटीकाको शुभसाइत नोभेम्बर १६ सोमबार रहेको छ । ड्यालासस्थित पशुपति तथा बुद्ध मन्दिरका मूल पुजारी डा. शेखर पण्डितले यस वर्ष तिहारको टीकाको उत्तम साइत सोमबार बिहान ९ः३६ देखि १०ः४५ बजेसम्म रहेको बताउनुभएको हो । उहाँका अनुसार उक्त दिन दिउँसो २ः४५ देखि ४ः०७ बजेसम्म लाभबेला तथा ४ः०७ देखि ५ः २६ बजेसम्म अमृत बेला भएकाले आफ्नो अनुकूल मिलाएर दिनभर टीका लगाउन सकिनेछ ।
उहाँले लक्ष्मीपूजाको उत्तम साइत शनिबार बेलुकी ५ः२७ देखि ७ः२० बजे रहेको पनि जानकारी दिनुभयो ।
प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई तिहार वा यमपञ्चक भन्ने गरिएको जानकारी दिँदै उहाँले नेपाली समुदायमा यमपञ्चकका पाँचै दिनको भिन्नभिन्न मौलिक महत्व रहेको बताउनुभयोे । उहाँका अनुसार नेपाली पञ्चाङ्गहरुमा तिहारका पाँच दिन त्रयोदशीमा यमदीप दान वा काकबलि (काग तिहार), चतुर्दशीमा श्वानपूजा (कुकुर तिहार), औंशीमा महालक्ष्मी पूजा (गाई तिहार), प्रतिपदामा गोवद्र्धन पूजा (गोरु तिहार) र द्वितीयामा भाइपूजा (भाइटीका) गरिने उल्लेख गरिएको छ ।
नेपाली र भारतीय संस्कृति वा चाडपर्व धेरैजसो समान भए पनि हाम्रा चाडपर्व बढी मौलिक भएको डा. पण्डितको ठहर छ । उहाँका अनुसार नेपालीहरुले यमपञ्चकका भिन्नाभिन्नै दिन काग, कुकुर, गाई, गोरुको विधिपूर्वक पूजा गरेर तिहार मनाउँछन् भने भारतीय पञ्चाङ्गमा यस्तो पूजा वा तिहारको उल्लेख पाइँदैन ।
गत वर्षदेखि अमेरिकालगायत नेपाली रहेका संसारका विभिन्न मुलुकमा दशैं तिहारजस्ता चाडपर्व मनाउने दिनका विषयमा विवाद देखिएको प्रति असन्तुष्टी व्यक्त गर्दै उहाँले नेपालीहरु जहाँ बसे पनि आफ्नो परम्परालाई निरन्तरता दिनुपर्ने र त्यसैमा सबैको कल्याण हुने तर्क गर्नुभयो ।
उहाँका अनुसार, हाम्रा चाडपर्वहरु तिथि, घडी तथा पलाअनुसार व्यवस्थित गरिएकाले तिथि घटबढ हुँदा त्यसको प्रत्यक्ष प्रभाव चाडपर्वमा पर्ने यस्ता चाडपर्व मनाउँदा तिथिलाई महत्व दिनुपर्ने भए पनि आफ्नो परम्परालाई यथावत् राखी पर्व मनाउन पनि उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले यस वर्ष नेपाल र अमेरिकामा एकै दिन तिहार भएकाले निर्विवाद रुपमा तिहार मनाउन लागिएकोमा खुसी पनि व्यक्त गर्नुभयो ।
यम पञ्चकमा नेपाली समुदायमा देउसी भौलो खेल्ने मौलिक परम्परा रहेको र यो संसारभर रहेका नेपालीबीच रहेको उल्लेख गर्दै यस्तो परम्पराले तिहारलाई मौलिक पर्व मात्र नबनाई सर्वप्रिय पनि बनाएको उहाँको तर्क छ ।
आप्रवासी भएर नेपालीहरु जहाँसुकै बसे पनि उनीहरुको भावना नेपालसँगै जोडिएकाले दशैं तिहारजस्ता विशेष चाडपर्वहरु मनाउँदा नेपाललाई बढी महत्व दिएर मनाए विवादरहित बन्ने र परम्पराले पनि निरन्तरता पाउने उहाँले बताउनुभयो ।
हिमालयखवर संवाददाता -
- पावरबल र मेगामिलियनको पुरष्कार राशी ५० करोड डलर भन्दा माथि
- नेपाली समाज टेक्सासद्वारा संचालित अनलाईन स्कूल संसारभरिकै निमित्त खुल्ला
- अमेरिकाको संसद भवन क्यापिटल हिलमा हंगामा
- अमेरिकामा पनि शक्तिशाली कोभिड-१९ भाइरस देखा पर्यो
- अमेरिकीहरूले फेरि सरकारबाट पाउने भए ६ सय डलर
- संसद् विघटन गरी ताजा जनादेशमा जाने निर्णयप्रति प्रवासी नेपाली एकता मञ्चको स्वागत
- एनआरएनएद्वारा भरतपुर महानगरलाई रगत संकलनका लागि घुम्ती बस सहयोग
- रक्त संकलन बस हस्तान्तरण
- एएनएको नेतृत्वमा टेक्ससका भट्टराई निर्वाचित
- शुक्रबार १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना डिस्चार्ज, थप ११ जनाको मृत्यु
प्रतिक्रिया