मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ट्रम्पलाई झेल्न पुग्यो

ट्रम्पलाई झेल्न पुग्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिकामा मुख्य मतदान हुन अब २४ घण्टामात्र बाँकी छ । नेपालभन्दा फरक भोटिङ सिस्टमले गर्दा ‘अर्ली भोटिङ’ को माध्यमबाट दुई साता अघिबाटै मतदान भएपनि मुख्य चुनावी दिन भने भोली मंगलबार अर्थात नोभेम्बर ३ हो । यस पटक अर्ली भोटमा अहिलेसम्मकै सबै भन्दा धेरै ८ करोड ४० लाख भन्दा बढी भोट खसिसकेको छ । यसले यो पटकको चुनावलाई अमेरिकीहरुले अरु बेलाको भन्दा बढी महत्व दिएको संकेतका रुपमा यसलाई हेरिएको छ । भोट धेरै खसेको  हुँदा चुनावका दिन धेरै लामो लाईनको सामना गर्नु नपर्ला बाँकी मतदाताहरुले । यस पटक नेपालीहरुलाई पनि सधैँ भन्दा बढीनै चुनाव लाग्यो । ९५ प्रतिशत भन्दा बढी नेपालीहरुको भोट डेमोक्रेटिक पार्टीलाई जाने अनुमान गरिएको छ ।

यस पटक चुनाव ट्रम्पले जित्ने कुनै सम्भावना देखिदैन । उनले जित्नु पर्ने कारण त झन छँदैछैन । बोलीको कुनै ठेगान र अडान नभएका व्यक्ति ट्रम्पलाई यो मुलुक र संसारले चारवर्ष बडो कष्टसाथ झेलिसकेका छन् । अब बाँकी चार वर्ष झेल्नुपर्ने अवस्था नआओस् भन्नेमा उदारवादी अमेरिकी जनतादेखि लिएर विश्वका धेरै मुलुकले अपेक्षा राखेका छन् ।

ट्रम्पले चारवर्षमा अमेरिकालाई दिएको योगदान भनेको यो मुलुकको वैभवको अवमूल्यन, अमेरिकाको बाँकी विश्वमा बेइज्जती, अमेरिकाभित्रै विभाजनको बिजारोपणभन्दा अरु केही छैनन् ।

कोरोना नियन्त्रणमा पुरै असफल, बेपर्वाह र गैर जिम्मेवार देखिएका छन् ट्रम्प । करोडौले जागिर गुमाएका छन् । यी जागिर गुमाएकाहरुले केही महिनाभित्रै अब घरबार गुमाउने अवस्था छ । रोजगारी गुमाएकाले स्वास्थसेवा गुमाइरहेका छन् ।

संसारले आशा र भरोसाका साथ हेर्ने अमेरिकी राष्ट्रपतिका कुनै कुरामा अडान, स्पष्टता छैन । विशेषज्ञ भन्दा आफ्ना छोरीज्वाईका कुरालाई सुन्ने, विज्ञानलाई भन्दा विरोधलाई शीरोपर गर्ने राष्ट्रपति ट्रम्पले दिनमा गर्ने पाँच दर्जन ट्विटलाई मात्र विश्लेषण गर्ने हो भने उनको स्तर सहजै अनुमान गर्न सकिन्छ ।

तर एउटा खालको अमेरिकी जमात ट्रम्पले जे बोले पनि, जे भनेपनि अन्धभक्त छन् । कोरोनाको दोस्रो लहरले दिनको थप एकलाख संक्रमित थपिँदै गर्दा मास्क समेत नलगाई यो जमान ट्रम्पको भाषणमा ताली पड्काउन पुगिरहेको दृश्यले भने बाँकी विश्वले खिसी गरिहेका छन् ।

मानिसहरु यति आँधा होलान् र ? मैंले त कल्पना पनि गर्न सक्दिन कि चुनाव फेरी पनि ट्रम्पले जित्लान् भनेर । उनका झुटा आश्वासन र हावादारी कुरामा मान्छे बहकिन्छन् ? अघिल्लो चुनावमा ट्रम्पले गरेका कुनकुन बाचाहरु के पुरा गरे? हिलारीलाई जेल हाल्छु भन्थे । ओबामा केयरलाई पहिलो दिन मैं हटाएर त्यसको ठाउँमा एकदमैं राम्रो केयर ल्याउछु भन्थे । मेक्सिको बोर्डरमा पर्खाल बनाउँछु र त्यसको खर्च मेक्सिकोसँगै भराउँछु भनेको हामी कसैले पनि यति छिटै भुलेका छैनौँ । अहिले कोरोनाको खर्च चाइनाले ब्यहोर्ने छ भन्दैछन् । के अझै यिनका झुट माथि झुटलाई पत्याइ देलान् त अमेरिकीहरुले? झुट र आक्रमण बाहेक ट्रम्पसित कुनै कार्यक्रम, योजना र तर्कहरु छैनन् । पोलहरुले पनि ट्रम्पलाई धेरै तल देखाईरहेको अवस्थामा फेरी पनि यिनले चुनाव जिते भने आठौं आश्चर्य हुनेछ ।

यहाँको चुनाव पनि अलि क्लिष्ठ खालको छ । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनले ट्रम्प भन्दा झण्डै तीस लाख बढी भोट ल्याएर पनि चुनाव हारिन् । यति बढी मत ल्याएर पनि कसरी चुनाव हारिन्छ ? संसारका धेरै मुलुकहरुमा एक भोटले पनि चुनावको हारजीत हुन्छ । कहिलेकाही त बराबरी आएर गोला टिपेर पनि भाग्य चिट्ठा पर्छ कसैलाई । इलेक्टरल कलेजको सिस्टमले गर्दा बढी मत ल्याउनेले पनि हार्ने सिस्टम अमेरिकामा छ ।

पपुलर भोट हिलारीले ल्याएर पनि ट्रम्पले अघिल्लो पटक चुनाव जितेको तर्क दिदै कतिपय मानिसहरु यस पटक पनि त्यस्तै हुने जिकिर गरिरहेका छन् । धेरै भोट त खसि सकेको छ, तै पनि निर्णयक भोट खस्न अझै बाँकी छ । त्यो मत भोली खसिसक्नेछ । परिणाम के आउने हो भन्ने कुराले मुटुको ढुकढुकी बढ्न थालेको छ । परिणामको ब्यग्र प्रतिक्षा सिंगो विश्वले नैं गरिरहेको छ । फेरी पनि ट्रम्पले जिते भने के हुन्छ ? म त भन्छु संसारमै नकारात्मक असर पर्ने छ । कति धेरै नकारात्मक असर पर्ने छ भन्ने चाही अनुमानको विषय मात्रै हो । तर धेरैले सोचे भन्दा नराम्रो हुन सक्छ । त्यसैले कुरा बुझ्नेहरु धेरै नैं आत्तिएका छन् ।

मलाई लागेका कुराहरु माथि मैंले गरें तर ट्रम्प सपोर्टरहरु ठिक उल्टो कुराहरु गर्छन् । वाइडेनले जिते भने चाहिँ देश बर्बादै हुन्छ भन्ने तिनका तर्क सुन्दा उदेक लाग्छ । जस्ले जातीय, धार्मिक राज्यका रुपमा अमेरिकालाई चिनाउन गैरहेको छ । जस्ले नश्लका आधारमा विभेदको सुरुवात गरेको छ । आर्थिक पारदर्शीतामा सधैँ कमजोर, कसैलाई सम्मान गर्न नजान्ने यस्ता व्यक्ति फेरि नेतृत्वमा आउनु भनेको अमेरिकी वैभव तल झर्दै जानु हो । त्यतिखेर अमेरिकाको वैभव मेटिनेछ । चीनले उछिन्नेछ । अमेरिकी फस्टको नाराले दक्ष जनशक्ति अमेरिकाबाट बाहिरिनेछन् । चीनले त्यो अवसरलाई छोप्नेछ । बाँकी विश्वमा चीनले आफ्नो प्रभाव फैलाउनेछ ।

इमिग्रेन्टहरुले बनाएको असिमित अवसरहरुको संसारकै सक्ति सम्पन्न राष्ट्र हो अमेरिका । जहाँ ट्रम्प यसलाई डाउन गर्न लागि परेका छन् अमेरिका फस्र्टको नाममा । समाज नराम्रो विभाजित भएको छ । प्रेम र भातृत्वको ठाउँमा घृणा र अशान्ति फैलिएको छ । रेसिज्म चर्को रुपमा बढेको छ र यसकै आधारमा हिंसाहरु बढेका छन् ।

अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक यी दुई ठूला पार्टीहरुले पालै पालो जस्तो शासन गर्दै आएको छ तर दुवै पार्टीबाट गौरव गर्न लायक राष्ट्रपतिहरु यो देशले पाएको छ । तर ट्रम्प रिपब्लिकन पार्टीकै सिद्धान्त, मुल्य र मान्यतालाई कुल्चिएर स्वेत सर्बसत्तावादी ढंगले अघि बढेका इतिहासकै सबभन्दा नालायक राष्ट्रपतिका रुपमा चिनिएका छन् । त्यसैले ट्रम्प विरुद्धको भोट रिपब्लिकन बिरुद्धको भोट नभई अमेरिका बचाउनका लागि भएको हुँदा धेरै महत्वपूर्ण रिपब्लिकन नेताहरुले नैं ट्रम्पका बिरुद्ध र बाईडेनलाई भोट गर्न खुल्ला आब्हान नैं गरिरहेका छन् । 

नेपाली अमेरिकनहरुको चासोः

हामी नेपालीहरुले अमेरिकामा भखरै मात्र आफ्नो परिचय स्थापित गर्न खोज्दैछौँ । यो चुनाव यसका लागि एउटा महत्वपूर्ण अवसर हो । अत्यन्तै खुशीको कुरा यो चुनावमा नेपालीहरु धेरै नैं खुलेर र संगठित रुपमैं जो बाइडेन र कमला ह्यारिसको पक्षमा अगाडि आएका छन् । नेपाली÷भुटानी फर बाइडेन–कमला संगठित चुनावी केम्पेनहरु देशभरी नैं सकृयतापूर्वक चलाइएका छन् । धेरै समाजका गन्य मान्य प्रतिष्ठित मानिसहरु खुलेर आफ्ना अभिमतहरु राखि रहेका छन् । सामाजिक संजालमा लेख, रचना र फेसवुक लाईभ भिडियोहरु प्रशस्त देख्न, सुन्न र पढ्न पाईन्छ । यसले मतदाताहरुलाई एजुकेट गर्न पनि मद्दत गरेको छ । धेरै भोट खसाउन र सही तरिकाले सही ठाउँमा खसाउन पनि सघाएको छ । हामी नेपालीहरुलाई अमेरिका बसेर नेपालको फोस्रो राजनीतिका नाममा समाज विभाजित गर्ने तिर लाग्नु भन्दा अमेरिकी राजनीतिको मेन स्ट्रिमतिर लाग्नु या कमसेकम यहाँको राजनीतिक ब्यवस्थालाई बुझेर आफ्नैं हितमा उपयोग गर्नु राम्रो हुन्छ भन्ने राम्रो मेसेज पनि प्रबाह गरेको छ । यसले गर्दा अमृरिकामा अब नेपालीको परिचय स्थापित हुँदै गएको छ । यसले हाम्रो अस्तित्व र अधिकार पनि स्थापित गर्ने छ र भावी सन्ततीहरुलाई अमेरिकामा स्वाभिमानपूर्वक जीवन निर्वाह गर्ने बातावरण तयार हुँदै जानेछ जुन धेरै नैं महत्वपूर्ण कुरा हो ।

हामी अमेरिका आफ्नो र सन्ततीहरुको भविष्य सुनिश्चित गर्न अवसरका लागि आएका हांै । कोही पनि जन्मजात डेमोक्रेटिक र रिपब्लिकन हैनौं र कसैलाई पनि अन्ध समर्थन गर्न जरुरी पनि छैन । तर पनि हामी आफ्नो अधिकार र कर्तब्य प्रति सचेत छौं । त्यसैले हामी इमिग्रेन्ट्सहरु प्रति नैं घृणा फैल्याउने र आक्रमण गरि बस्ने ट्रम्पलाई हामी समर्थन गर्न सक्दैनौं । जसले हाम्रो प्यारो मातृभूमीलाई ‘सिट होल कन्ट्री’ भन्दै डिभी बन्द गर्ने आदेश दिएका छन् । यसको बदलामा सबै रंग, जाती, भाषा, धर्म समुदायका मानिसहरुलाई समाज रुपमा अमेरिकी नागरिकको ब्यवहार गर्ने, काम गरि खाने बर्गको पिर मार्काहरु बुझ्ने, न्युनतम पे १५ डलर तोक्ने, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता कुराहरुलाई जनताको अधिकारको रुपमा स्थापित गर्न खोज्ने हाम्रै लागि लडिरहेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुलाई नैं यस पटक हाम्रो भोट जाने छ । अर्को पटक रिपब्लिकनले राम्रो नीति र उम्मेदवारहरुलाई अघि बढायो भने म भन्न सक्दिन । अर्को महत्वपूर्ण पक्ष के छ भने इतिहासमैं पहिलो पटक महिला उपराष्ट्रपति त्यो पनि एसियन र काला जातीको प्रतिनिधित्व गर्ने कमला ह्यारिस जो अत्यन्तै ट्यालेन्ट र क्षमतावान छिन्, लाई भोट हालेर जिताउने अवसर हामी यसै खेर फ्याल्ने छैनौं । हामीलाई लाग्छ कमला साँच्चिकै हाम्रा भावी सन्ततीका लागि प्रेरणाको श्रोत बन्ने छिन् ।

भोट हाल्ने या नहाल्ने तपाई हाम्रो इच्छाको कुरा हो ?

हैन, भोट हाल्नु तपाई हाम्रो इच्छाको कुरा हैन । बरु अनिवार्य नागरिक कर्तव्य र कानुनी बाध्यता पनि हो । यो सिभिक ड्युटी हो । कामकाजीलाइ सजिलो होस् र अनुकुल समयमा मताधिकार प्रयोग गर्न सकुन् भनेर अर्ली भोटिङको व्यबस्था गरिएको हो ।

अमेरिकी नागरिक्ताको सपथ लिदाखेरीका कुराहरुलाई एक पटक मनन गरौं । अहिलेको जस्तो आधुनिक दुनियाँमा नेपालदेखि अमेरिकासम्म आइ पुगेका नेपालीहरुलाई सेन्सस भर्न र आफ्नो मताधिकारको उपयोग गर्न पनि सम्झाई रहनु नपर्ने हो ।

तर बास्तविकता अलिक फरक मैंले पाएको छु दुःखका साथ भन्नु पर्छ । चुनावको परिणाम जे सुकै आओस् र तपाई जो सुकै आफुले इच्छाएका उम्मेदवारलाई भोट हाल्नु होस् तपाईको आफ्नो स्वविवेकीय अधिकारको कुरा हो, तर तपाई भोट हाल्ने भने गएकै हुनु पर्छ यदि तपाईसित त्यो अधिकार छ भने अब एक दिनमात्र तपाई हामीसँग बाँकी छ । अमेरिकी नागरिकता लिएका, मतदाता सूचिमा नाम समावेश भएका तपाई हामी सबै भोली मतदान केन्द्रसम्म पुगेर मतदात गरौं । यदी मतदान गर्नुभएन भने यो देशको संविधानको बर्खिलाप गरेको ठहरिनेछ ।

बरु मतदान गर्न जाँदा अनिवार्य रुपमा नाक र मुख छोपिनेगरि मास्क लगाउनुस् । हातमा पञ्जा पनि लगाएर जानुभयो भने अझै जाति ।

(न्यौपाने टेक्ससको अस्टिनमा बस्दै आएका सामाजीक अभियन्ता हुन् ।)