काम गर्दै गर्दा कोरोना संक्रमित भएछु । मेरो स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु । म एक नर्स आफ्नो पेशामा गर्व गर्छु । मलाई थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन । जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भन्ने दृढ संकल्प बोकेर नर्स पेशा अंगालेकी हुँ । आफ्ना व्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तररुपमा बिरामीको सेवामा लागिरहेको पनि केही वर्ष भइसकेछ । काम गर्दै गर्दा यो अवस्था आउँछ होला भन्ने सोचेकी थिइनँ ।तर, एक्कासि संसारलाई नै तर्साउने गरी कोरोना भाइरसको महामारी फैलियो । कैयौँ देशहरुमा हजारौँ नागरिकको ज्यान गयो । बिस्तारै अवस्था जटिल बन्दै गयो । बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाले । तर, म कहिल्यै हतोत्साही नभई निरन्तररुपमा आफ्नो कर्ममा लागिरहेँ । मैले सोचेँ कि म एकजना नर्सले काम गर्न गाह्रो हुने भयो, म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला ? भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझावलाइ ग्रहण गर्दै काममा लागिरहे ।घरमा बुवाआमा र भाइ, बहिनीलाई आफैँले सम्झाएँ, म अब आफूमा मात्र सीमित छैन बाबा ममी मैले समाजका लागि काम गर्नुपर्छ । म यतिखेर घरमा काम नगरी बस्ने हो भने मैले नर्स पेसा अँगालेको अर्थ हुँदैन । न आत्तिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु भनेर घरपरिवारलाई सम्झाउँदै आफ्नो कर्ममा लागिरहेँ ।कति रात बाबाममी निदाउन सक्नु भएन होला कतै छोरी संक्रमित त हुने होइन भनेर ! भोलि समाजले के भन्ला छिःछि र दूरदूर र गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो । केही दिन अगाडि अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुनेँ । उहाँहरुलाई सधैँ हामीले रेखदेख गरिरहेका हुन्थ्यौँ । एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु । पछि आफैँले आफूलाई सम्हालेँ । त्यसपछि हामीलाई छुट्टै स्थानमा राखियो । त्यसको पर्सिपल्ट मलगायत हामी साथीहरुको कोरोना पिसिआर परीक्षणका लागि स्वाब संकलन भयो । नभन्दै हाम्रो रिपोर्ट पनि ‘पोजेटिभ’ आयो । एकछिन त आफैँ तनावमा परेँ । कसरी घरमा भन्ने होला ? अब के हुने हो ? भन्ने पनि भयो ।
म आफूलाई सम्हाल्दै सोचेंँ, मैले आज कमजोर महसुस गरेँ भनेँ मेरो परिवारलाई चिन्ता हुन्छ । समाजलाई चिन्ता पर्छ । मैले मनोबल दह्रोे बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उँचो बनाउँदै मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्म विश्वास लिएको छु, फेरि परास्त गर्छु पनि । आज म पटक्कै आत्तिएकी छैन । मलाई यस कारण पनि गर्व छ कि म बिरामीको सेवा गर्दै गर्दा र आफ्नो कर्म पूरा गर्दा संक्रमित भएकी हुँ ।हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस् । हामीले रोग रहरले सारेका होइनौँ । आफ्नो जिम्मेवारी पूरा गर्नेक्रममा संक्रमित भएका हौँ । सुरूदेखि नै हामी डराएर बिरामीको सेवा नगरेको भए अवस्था के हुन्थ्यो ? त्यसैले सबैको सोच सकारात्मक बन्नुपर्छ ।
आफ्नो जिम्मेवारी पूरा गर्नेक्रममा संक्रमित हुनु भएका नर्स, डाक्टर, सुरक्षाकर्मी, कर्मचारीलगायत आमनागरिकलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने र हाम्रो राम्रो हेरचाह गर्ने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथीभाइ, आफन्तजन, समाजका सबै नागरिकहरुप्रति अस्पतालको बेडबाट धन्यवाद व्यक्त गर्दछु । चाँडै सञ्चो भएपछि उही उच्च मनोबलका साथ हजारौँ बिरामीको सेवामा तल्लीन हुने नै छु । मलाई नर्स हुनुमा गर्व छ ।बाबा मामु, कत्ति पनि पीरचिन्ता लिएर न आत्तिनु । हजुरको छोरी झन् मनोबल दह्रो बनाएर रोगलाई परास्त गरेर चाँडै कर्ममा फर्किन्छे । म हारेको छैन झन् ममा मनोबल बढेको अनुभूति भएको छ ।












प्रतिक्रिया