मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

समाचार टिप्पणी: अमेरिकी राष्ट्रपतिलाई लगाइएको महाअभियोगको सन्देश के हो?

समाचार टिप्पणी: अमेरिकी राष्ट्रपतिलाई लगाइएको महाअभियोगको सन्देश के हो?


दलीय राजनीतिको अभ्यासले दिने सन्देश प्रष्ट छ- देश जतिसुकै संभ्रान्त, विकसित होस्, दलका नेता/कार्यकर्ता जतिसुकै सुसंस्कृत किन नहुन्, दलीय आधारमा मतदान हुने भएपछि निश्चित आग्रह र दृष्टिकोणका आधारमा घटना विश्लेषण हुन्छन् भन्ने सबभन्दा सटीक र ताजा उदाहरण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प माथि लगाइएको महाअभियोग (इम्पिचमेण्ट) हो। संसारभर सबभन्दा उच्चस्तरको र पुरानो प्रजातन्त्र भएको र त्यसको उच्चतम अभ्यास हुने मूलुक भनेर चिनिएको अमेरिकामा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सन्दर्भमा जे जस्ता राजनीतिक गतिविधी, चलखेल र संसदीय अभ्यासहरु भए त्यसबाट बाॅकी संसारले के सिक्ने भन्ने अन्यौल देखिएको छ।
 
राष्ट्रपतिलाई तथानाम भनेर उनका कमजोरीहरुलाई जरैदेखि उखेल्न गरिएका प्रयासलाई उनी बिरुद्धको इम्पिचमेण्ट अनुसंन्धानको क्रममा संसार भरका मान्छेहरुले प्रत्यक्ष हेर्न पाए। यसैगरी उनी बिरुद्ध अनुसंन्धानको नेतृत्व गरेको र संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा (हाउस) बहुमतमा रहेको डेमोक्रेटिक पार्टीका गतिविधी र यसका नेताहरुप्रति रिपव्लिकन नेता र स्वयं राष्ट्रपति ट्रम्पले देखाएको अभद्र र अमर्यादित भाषा सहितको टिप्पणीहरु पनि छरपस्टै भए। राष्ट्रपति ट्रम्पको छिनछिनमा आइरहने घृणा, आक्रोस र भद्दा शब्द संयोजन सहितका ट्वीट टिप्पणीले त संसारलाई नै चकित बनाइरहेको अनुभूति सायद संसारभरकै सामाजिक संजाल प्रयोगकर्ताहरुलाई भैरहेकै हुनुपर्छ। राष्ट्रपति ट्रम्पले ट्वीटमा लेख्ने विषय र भाषाशैलीले अमेरिकी राष्ट्रपति संस्था र उसको विश्व नेतृत्वलाई नै कमजोर बनाएको आंकलन गर्न थालिएको छ।
 
कसरी बन्यो राष्ट्रपति बिरुद्धको महाअभियोग माहौल?
 
सन् २०१६ को राष्ट्रपतीय चुनाव देखि नै ‘अमेरिका फर्स्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता पपुलिस्ट नारा दिंदै आइरहेका ट्रम्पले राष्ट्रपति भएपछि लिएको आन्तरिक र बाह्य नीतिहरु बिवाद रहित हुन सकेको छैन। त्यस अतिरिक्त मेक्सिकोसंगको सिमानामा पर्खाल लगाउने, कागजपत्र बीहिन आप्रवासीलाई बलजफ्ती देश निकाला गर्ने, व्यवसाय कर कटौती, ओवामा केयरको नामले चिनिएको बहुचर्चित स्वास्थ्य बीमा कार्यक्रमलाई प्रतिस्थापन गर्ने प्रयास जस्ता घरेलु मामिलाहरुले उनलाई विपक्षी डेमोक्रेटहरुसंग आमने-सामने बनाइरह्यो। यस अतिरिक्त जलवायु परिवर्तनसंग जुध्न विश्वमंचले देखाएको अग्रसरता सहितको ऐतिहासिक पेरिस सम्झौताबाट पछि हट्ने, इरानसंगको शक्तिराष्ट्रहरु सम्मलित सम्झौता/समझदारीबाट अमेरिकालाई अलग्याउने उनको निर्णय र चीन सहित केही यूरोपियन देशहरुसंगको व्यापार बिवाद लगाएत विश्व व्यापार र सुरक्षा नीतिहरुमा उनले लिएको अडानले अमेरिका भित्र अनुदारवादी रिपव्लिकनहरुबीच लोकप्रिय बनाइरहेपनि विश्व राजनीतिमा उनको मान खस्किएको ताजा घटनाक्रमहरुले देखाइरहेका छन्।
 
राष्ट्रपतिमा निर्वाचित हुन रसियन सहयोग लिएको भन्ने आरोपमा छानबिनको दायरामा परेका ट्रम्पले झण्डै अढाई बर्ष बिशेष अनुसन्धानकर्ता रबर्ट मुलरको अनुसंन्धानबाट बल्ल छुटकारा पाएका मात्र के थिए डेमोक्रेटहरुले इम्पिचमेण्टको रडाको झिकी हाले।
 
डेमोक्रेटहरुको आरोप अनुसार राष्ट्रपति ट्रम्पले गत जुलाई २५ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीसंग टेलिफोन सम्वादका क्रममा आगामी २०२० मा हुने राष्ट्रपतीय चुनावका संभावित प्रतिद्वन्द्धी एवं अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोरा हन्टर बाइडन माथि यूक्रेनमा अनुसंन्धान अघि बढाउन दबाव दिएका थिए। अमेरिकाले युक्रेनलाई दिने भनेको करीब ४० करोड डलर बराबरको सुरक्षा सहायतालाई रोकेर बाइडन बाबु-छोरा माथि अनुसन्धान गर्न मोलतोल गरेको सूचना एक विशेष सूचनादाताले दिएको जानकारी प्राप्त भएपछि हाउसकी स्पिकर न्यान्सी पेलोसीले राष्ट्रपति माथि महाअभियोग लगाउन आवश्यक अनुसंन्धान गर्ने औपचारिक घोषणा गरेकी थिइन्।
 
राष्ट्रपति चुनावमा रसियन घुसपैठ भएको विषयमा ट्रम्पलाई दोषी देखाउन सक्रिय डेमोक्रेटहरुलाई युक्रेनसंगको टेलिफोन सम्वादको विषय निकै ठूलो मसला भयो र उनीहरु यही विषयलाई तन्काएर इम्पिचमेण्टसम्मको हतियार ट्रम्पका बिरुद्ध प्रयोग गर्न दिलोज्यानले लागे। डेमोक्रेटहरुको बहुमत रहेको हाउसको इन्टेलिजेन्स कमिटीले केही साता लामो गोप्य एवं खुल्ला सुनुवाई र साक्षीहरुसंगको सोधपुछबाट राष्ट्रपतिले पदको दुरूपयोग गरेर २०२० को चुनावका संभावित विपक्षीलाई बिदेशमा अनुसन्धान गर्न दबाव दिएको निश्कर्ष निकाल्यो।
 
यसैबीच इन्टेलिजेन्स कमिटीले बयानका लागि बोलाएका ह्वाइट हाउस, स्टेट डिपार्टमेण्ट र जस्टिस डिपार्टमेण्टका केही अधिकारीहरुलाई बयान दिन रोकेको आरोप पनि राष्ट्रपतिलाई लागेको छ। यिनै आरोपहरुका आधारमा रिपव्लिकनहरुको बिरोध हुॅदाहॅुदै ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव हाउसको न्यायिक समितिले अगाडि बढायो। र, त्यसको नतिजा हिजै संसारले देखि सक्यो। ट्रम्प अमेरिकी इतिहासमा इम्पिच हुने तेश्रो राष्ट्रपति हुन पुगे।
 
महाअभियोग अनुसन्धान सुनुवाई र हाउसमा मतदानका सन्दर्भमा रिपव्लिकन र डेमोक्रेट सांसदहरुले राखेका तर्कहरु संविधानको परिकल्पना भन्दा फरक
दलीय आग्रहले निर्देशित देखिन्थ्यो। लोकतन्त्र र न्यायिक व्यवस्थाको विश्वव्यापी वकालत गर्ने अमेरिकाका संसदीय नेताहरुको धारणा एउटै विषयमा यति बिघ्न बाझिनुले अमेरिकी प्रजातन्त्रप्रतिको विश्वव्यापी सम्मानमा कमि आउने संभावना बढेको छ। अभिव्यक्ति स्वतन्त्रता सहितको प्रजातन्त्र र मानवअधिकार जस्ता अन्तराष्ट्रिय मामिलाहरुमा अमेरिकाले लिने अडानले संसारभर पार्ने प्रभाव राष्ट्रपतिलाई महाअभियोग लगाउन अपनाइएका प्रकृया र यस सन्दर्भमा दुई पार्टीकाबीच देखिएको गहिरो मतभिन्नताले अमेरिकी आन्तरिक राजनीति मात्र होइन विश्व राजनीतिमा अमेरिकी प्रभावलाई समेत असर पुर्याउने सहज अनुमान गर्न सकिन्छ।
 
इम्पिच हुनमा ट्रम्पका गतिविधी र उग्रता पनि कारक हो?
 
हालैको पेरिस नेटो सम्मेलनमा क्यानडाली प्रधानमन्त्री जस्टिन टुडो, फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रं लगाएतका नेताहरुले अनौपचारिक कुराकानीका सन्दर्भमा ट्रम्पका बारेमा गरेका टिप्पणीले उनीप्रतिको विश्व नेताहरुको धारणा कस्तो छ भन्ने प्रष्ट्याएको छ। उनको खरो र रुखो प्रस्तुतिको अनुभव जर्मन चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति म्याक्रं, बेलायतका पूर्व प्रधानमन्त्री टेरेजा मे, क्यानडाका प्रधानमन्त्री टुडोले भोगिसकेका छन्। आफ्नो कुरामा सहमत नहुने बित्तिकै उनले विश्व नेताहरु र संचार माध्यमलाई गर्ने ट्वीट टिप्पणीबाट विश्व र उनको प्रशासनका उच्च पदाधिकारीहरु समेत आजित भएको हुनुपर्दछ।
 
गैरकानूनी आप्रवासीहरुप्रति उनको घृणायुक्त प्रतिक्रियाले सामाजिक घृणा र हिंसा समेत निम्त्याएको छ। कथित अतिवादी राष्ट्रवादीहरुको हिंसाको शिकार सामान्य मानिसहरु पनि हुन बाध्य भएको सबभन्दा पछिल्लो उदाहरण टेक्ससको एल पासोस्थित वालमार्टमा २२ जनाको ज्यान जानेगरी भएको नरसंहार हो।
 
नियुक्ति गर्दा भएभरका विशेषण दिएर प्रशंसायुक्त ट्वीट लेख्ने र केही कुरामा फरक मत राख्ने बित्तिकै रसातलमा पुग्नेगरी ट्वीट लेखेर बर्खास्त गर्ने ट्रम्प शैलीको भुक्तभोगी उनका क्याविनेटका बरिष्ठ सदस्यहरु सहित ह्वाइट हाउसका बरिष्ठ पदाधिकारीहरु भैसकेका छन्। विदेशमन्त्री (सेक्रेटरी अफ स्टेट) रेक्स टिलर्सन, एटर्नी जनरल जेफ सेसन, राष्ट्रिय सुरक्षा सल्लाहकारहरु जन बोल्टन, माइल फ्लिन, एचआर म्याक्मास्टर, ह्वाइट हाउसका चिफ अफ स्टाफहरु रेन्स प्रिवस र जन केली, डिफेन्स सेक्रेटरी जेम्स म्याटिस, इन्टेरियर सेक्रेटरी रायन जिन्के, सेक्रेटरी अफ होमल्याण्ड सेक्यूरिटी क्रिष्टेन नेल्सन, लेवर सेक्रेटरी एलेक्स एकोस्टा, इनर्जी सेक्रेटरी रिक पेरी, ह्वाइट हाउसका प्रमुख रणनीतिकार (चिफ इस्ट्र्याटेजिस्ट) स्टिभ व्यानन, एफविआइका निर्देशक जेम्स कोमे, उपनिर्देशक एन्ड्रयू माक्बि, क्याविनेट स्तरकी राष्ट्रसंघका लागि राजदूत निकी हेली सहित चालिस भन्दा बढी उच्च अमेरिकी अधिकारीहरुले ट्रम्पको कोपभाजनमा परेर पद त्याग्न बाध्य भएका छन् वा बर्खास्तीमा परेका छन्।
 
उनको नीतिप्रति असहमत सिएनएन, न्यूयोर्क टाइम्स, वाशिंगटन पोष्ट, एनबिसी लगाएतका मिडियाहरुप्रति उनको टिप्पणी कुनै तानाशाहको भन्दा कम सुनिन्न। राष्ट्रपति भए देखि नै फक्स न्यूज बाहेकका सबै मिडियालाई ‘फेक न्यूज’ ‘अमेरिकी जनताका शत्रु’ भन्ने आरोप लगाइ नै रहे। विश्व प्रसिद्ध मूलधारका अमेरिकी संचार माध्यमहरुप्रतिको उनको बक्र दृष्टि अमेरिकी लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि चुनौतीको रुपमा देखिएको छ।
 
सन् १७८७ मा जारी भएको अमेरिकी संविधान संसार कै सबभन्दा पुरानो र नागरिक स्वतन्त्रताको ग्यारेन्टी भएको दस्तावेज हो। जारी भएको २३२ बर्षमा २७ पटक संशोधन भैसकेको अमेरिकी संविधानले अमेरिकी जनताका अधिकारहरुलाई मजबूत संरक्षण गरेको छ। यही अधिकारको प्रयोग गरेरै संसदले उनी बिरुद्धको महाअभियोग अनुसंन्धानका अधिकांस प्रक्रियाहरुलाई प्रेस मार्फत विश्वसामु पुर्याउने काम गरेको छ। आम दर्शक/श्रोताका रुपमा कतिपय बेला अमेरिकाले अवलम्बन गरेको प्रेस र अभिव्यक्ति स्वतन्त्रता देखेर ‘अलि बढी’ नै पो भयो कि भन्ने लाग्दो रे’छ।
मातृभूमि नेपालमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विषयमा बेलाबखत उठ्ने बहस, प्रेसले पस्कने सामग्रीहरुलाई लिएर निश्चित हदसम्मको नियन्त्रणमा अग्रसर सरकारी हर्कतका अघि अमेरिकी स्वतन्त्रता देखेर कायल भईंदो रे’छ।
 
नेताहरुको निष्ठा र प्रजातान्त्रिक अभ्यासमा संसारलाई नै चकित पार्ने शक्ति भएको अमेरिकामा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सन्दर्भमा जे जस्ता तर्क, संवैधानिक व्सवस्थाका आधारहरुलाई सहारा लिंदै आएका पक्ष-विपक्षको तर्कले अमेरिकी राजनीतिमा निकै ठूलो हलचल पैदा गरेको छ। देशलाई बैचारिक रुपले नराम्रोसंग विभक्त गरेको छ भने राष्ट्रपतिका रुपमा ट्रम्पका व्यवहार अमेरिकी राष्ट्रपतिको स्थापित मर्यादा बिपरित देखिएको छ। महाअभियोगले हल्लिएको अमेरिकी राष्ट्रिय एकता सिनेटमा हुने ट्रायल र आगामी राष्ट्रपतीय चुनावले थप कमजोर हुने भयले विश्व नेतृत्व गरिरहेका अमेरिकीहरुलाई चिन्तित बनाएको छ।
 
सिनेटबाट उन्मुक्ति पाउने निश्चित जस्तै भएपनि उत्ताउलो व्यवहारमा पारंगत राष्ट्रपति ट्रम्पको व्यवहार र लेखाइमा हाउसको महाअभियोगले केही कमि ल्याउने आंकलनका बिपरित आजपनि उनी डेमोक्रेटहरुप्रति त्यत्तिकै कडारुपले ट्वीटमा देखापरेका छन्।

शेयर गर्नुहोस:

0
Shares