एनआरएनए अमेरिकाका महासचिवका उम्मेदवार सुर्य लम्साल न्यूयोर्क पावर अथोरिटीका वरिष्ठ इन्जिनियर हुन् । गैर आवासीय नेपाली संघ अमेरिकाका सदस्य एवं विज्ञान प्रविधि र अर्थनीति सम्बन्धी समिति (स्टेप) का संयोजक समेत रहीसकेका लम्साल नेपालमा अमेरिकी लगानी बढ्न नसक्नुमा विद्यमान दोहोरो कर प्रणाली कारक देख्छन् । न्यूयोर्क युनीभर्सीटीका प्राध्यापक समेत रहेका लम्सालसंग एनआरएन र लगानीको बारेमा पत्रकार किरण मरहठ्ठाले गरेकोे कुराकानी
अमेरिकी लगानी नेपालमा किन अपेक्षा अनुरूप हुन सकेन ?
लगानी हुँदै नभएको त होइन । पर्यटन, कृषि तथा शिक्षा क्षेत्रहरूमा व्यक्तिगत र केही संस्थागत लगानी पनि भैरहेका छन् तर लगानी प्रवर्धनको मुख्य अवरोधक भनेको दोहोरो कर प्रणाली हो जस अनुसार नेपालमा प्राप्त मुनाफाको कर अमेरिका र नेपाल दुवै देशमा तिर्नुपर्न हुन्छ । यसैको कारणले ठुला लगानीकर्ताहरु हच्किइरहेका छन् । यो खारेज भई व्यापार सम्झौता नभएसम्म अमेरिकाबाट नेपालमा लगानी बढाउन गाह्रो छ । कर सम्बन्धी कुनै झमेला नभएका हाम्रा छिमेकी भारत र चीनमा हालैका वर्षहरूमा जुनरुपमा अमेरिकी लगानी तीव्र गतिमा बढिरहेको छ त्यो हामी कहाँ पनि सम्भव छ । अहिले पनि एनआरएन मार्फत वा प्रत्यक्ष वैदेशिक लगानी मार्फत नेपालमा लगानी गर्न चाहनेको संख्या ठुलो छ ।
तपाइ संयोजक रहेको एनआरएनएको स्टेप कमिटीले दोहोरो कर हटाउने बारेमा के गर्यो ?
दोहोरो कर प्रणाली हटाउनको लागी एनआरएन एक्लै सक्षम छैन । यो दुई देशको सरकारले चाहेमा तत्काल हुन्छ । त्यसका लागी हामीले पहल गर्ने हो । एनआएएनए अमेरिकाले नेपाल सरकार अर्थ मन्त्रालय, नेपालस्थित अमेरिकी दूतावास र अमेरिकास्थित नेपाली दूतावासमार्फत धेरै चरणमा छलफल गरिरहेका छौँ । तर नतिजा निस्कन अझै सकेको छैन । अहिले दुवैपक्षले यो विषयलाई गम्भिरतापुर्वक लिएका छन् । एनआरएनएको अव बन्ने कार्यसमितिले यो विषयलाई प्राथमिकताका साथ उठाउने छ । मलाइ विश्वास छ, यो मुद्दा चाडै नै समाधान हुनेछ ।
दोहोरो कर प्रणाली हट्दैमा लगानी बढ्छ भन्ने के ग्यारेन्टी छ ?
ग्यारेन्टी होइन तर विश्वस्त आधार चाहिँ अवश्य बन्न सक्छ । अहिले यही कारणले एनआरएन र अमेरिकी लगानीकर्ताहरु आकर्षित हुननसकेको अवस्थामा यही एकोहोरो कर प्रणाली हुने हो भने धेरै सहज हुनेछ । लगानीको लागी नेपाल भर्जीनल्याण्ड हो भन्नेमा सबै कन्भिन्स छन् ।
तपाइ सम्मिलित एक लगानी समूहले नेपालमा हाइड्रोपावर निर्माण गर्ने चर्चा थियो त्यो के भयो ?
नेपालको विकासको सबैभन्दा उपयुक्त श्रोत जलविधुत होे र त्यसमा मुनाफा पनि सुनिश्चित भएर हामीले १८० मेघावाटको आधिँखोला हाइड्रोपावर सामूहिक लगानीमा सुरु गर्न योजना बनायौँ । जलविद्युत जस्ता ठुला परियोजनामा हाम्रो मात्र लगानी पर्याप्त हुँदैन तसर्थ एक्जिम बैकंमार्फत लगानी स्वीकृत समेत गराइसकेका थियौँ । तरल राजनीतिक अवस्थाका कारण विभिन्न प्रशासनिक र राजनीतिक झमेलाले गर्दा त्यो परियोजना त्यतिकै तुहियो ।
तपाइ किन अमेरिका आउनु भयो र व्यावसायिक रूपमा हाल के मा संलग्न हुनुहुन्छ ?
म पुल्चोक इन्जिीनियरिगं क्याम्पसबाट इन्जिीनियरिगं सकेपछि थप अध्ययानको लागी अमेरिका आएको हुँ । सन् १९९८ मा फ्लोरिडा इन्स्टिच्युट आफ टेक्नोलोजीबाट सीभिल इन्जीनियरिगंमा मास्टर्स गरेँ । हाल शहरि पूर्वाधार विकासमा पिएचडी गरिरहेको छु । हाल म न्यूयोर्क पावर अथोरिटिमा सीनीयर इन्जिीनीयरीको रूपमा कार्यरत छु । म अमेरिकन सोसाइटी अफ सिभिल तथा स्ट्रक्चरल इन्जिनीयरस्को वरिष्ठ सदस्यका रूपमा पनि काम गरिरहेको छु भने अमेरिकन सोसाइटी अफ नेपाली इन्जीनियरस्को बोर्ड सदस्य छु । न्यूयोर्कका विशाल अग्ला भवन र अमेरिकाका प्रख्यात फुटबल स्टेडियमहरुको स्ट्रक्चरल डिजाइनमा म लामो समयदेखि संलग्न छु । कोरियामा सम्पन्न सन् २००२ को विश्वकप फुटबलको स्टेडियम डिजाइनको अमेरिकी इन्जीनीयर्सको टोलीको म पनि सदस्य थिएँ । हाम्रो टोलीले उत्कृष्ट डिजाइनरको अवार्ड समेत पाएको थियो ।
एक पुर्वाधारविज्ञका हिसाबले नेपालको विकास निर्माणको प्रणालीप्रति तपाइको के टिप्पणी छ ?
नेपालको भौतिक पूर्वाधार विकासको अवधारणामै केही त्रुटी देखिन्छ । प्राकृतिक सम्पदाको संवेदनशीलताको संरक्षण विकासको पहिलो सर्त हो तर हामीले भौतिक पूर्वाधार निर्माणको क्रममा तत्कालीक सहजतालाइ मात्र महत्त्व दिदैछौँ जुन भविष्यमा खतरनाक हुनेछ । अर्कोकुरा हतारमा बजेट खर्चीन कुशल इन्जिीनियरिगं बिनै कमसल निर्माण सामग्रीमै विशाल संरचनाहरू निर्माण गरिएका छन् । कम्तीमा एकसय वर्ष पछिको अवस्थाको आंकलन नगरी निर्माण हुने भौतिक पूर्वाधारले दिगो विकास सम्भव छैन । अर्काे कुरो कुन ठाउँमा कस्तो पूर्वाधार निर्माण गर्ने भन्नेमै पनि अलमल देखिन्छ ।
तपाइ एनआरएनए अमेरिकाको महासचिवको उम्मेदवार हुनुहुन्छ, तपाइको एजेन्डाहरु के के हुन् ?
मेरो मुख्य एजेन्डा एकता र समृद्धि नै हो । तर मैले चुनावी अभियानमा आफ्नो चार बुँदे एजेन्डालाइ जोड दिएको छु जसमा सदस्यता वितरणलाइ पारदर्शी बनाइ नयाँपुस्तालाइ एनआरएनएमा ल्याउन विशेष योजना बनाउने, एनआरएन परिचय पत्र प्रभावकारिढंगले लागु गर्ने, राज्य च्याप्टरहरुको कार्यसम्पादनलाइ स्वतन्त्र र उपयोगी बनाउने नीति निर्माण गर्ने र अन्य नेपाली संघसंस्थाहरुसंगको सहकार्यको लागी पहल गर्ने तथा अमेरिकाको मुलधारमा नेपालीलाई समाहित गर्न पहल रहेका छन् । परिणाममुखी सचिवालय र शक्तिशाली एनआरएनए निर्माण मेरो प्रतिबद्धता हो ।
तपाइको जितका आधारहरु के के छन् ?
त्यसको लागी प्रशस्त आधारहरु हुन् । मेरो सबैभन्दा ठुलो आधार भनेकै मेरो अनुभव र योग्यता हो । त्यस्तै मैले २ वर्ष बोर्ड अफ डाइरेक्टर हुदाँ गरेका कामहरू हुन् । सचिवालय सञ्चालन सबैभन्दा चुनौतिपुर्ण र बौद्धिक कार्य हो यसको कुशल सञ्चालन अनुभबी र योग्य मानिसबाट मात्र सम्भव छ भन्ने कुरा अमेरिकाका एनआरएन साथीहरूले राम्ररी बुझ्नु भएको छ । मेरो लागी यो अर्काे सबल पक्ष हो ।
एनआरएनको एक मुख्य काम इनोभसन र इन्भेस्टमेन्ट हो जससम्बन्धी उच्चस्तरिय समितिमा मैले काम गरेँ । मैले सेन्सस कमिटीको सदस्यको रूपमा पनि काम गरेँ हाम्रा समितिले अमेरिकामा रहेको नेपालीको औपचारिक डाटा पहिलो पटक सार्वजनिक गरेको थियो । नेपालमा लगानी र सिप तथा प्रविधिको हस्तान्तरणका विषयमा हामीले धेरै कामहरू गरेका थियौँ । त्यो मेरो लागी जीतको एक प्रमुख आधार हो । मैले टिमको विश्वासको आधारमा सचिवालयका धेरै महत्त्वपूर्ण कामहरू सम्पादन गर्ने अवसर पाएँ जुन मेरो लागी ठुलो अनुभव बन्यो । त्यो अनुभवले मलाइ महासचिव भएर सम्पादन गर्नुपर्ने कामको बारेमा पूर्ण आत्माविश्वास पनि भयो त्यो पनि मेरो जीतको आधार हो ।
प्रतिक्रिया