भीमदत्तनगर । शारीरिक रुपले अशक्त भई ह्विलचेयरको सहारामा बाँचिरहेका मदन पुरस्कार बिजेता नरबहादुर साउद झन्डै एक दशकयता विभिन्न पुस्तक लेखनमा सक्रिय छन् ।
कञ्चनपुको भीमदत्तनगरपालिका–२ पशुपतिटोलमा वृद्ध बुबा–आमाको सहारामा दैनिकी चलाइरहका ५४ वर्षीय साउद दैनिक ह्विलचेरको सहारामा हिँड्डुल र ओछ्यानमा आराम गर्नुमा मात्रै होइन अधिकांश समय पुस्तक लेखनमै तल्लिन छन् । विंस २०६६ मा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार पाउन सफल साउदले लेखन कार्यलाई नै निरन्तरता दिँदै आएका छन् ।
‘मेरो पीडाको संसार देखेर देशकै गरिमा बोकेको मदन पुरस्कार पाउँला भन्ने सोचेकै थिइन’, साउदले भने–‘लगनशील भएर परिश्रम गरे नाम र दाम दुवै मिल्दो रहेछ ।’ पुरस्कारलाई पीडाको मलमका रुपमा लिएको उनी बताउँछन् । ‘दुःखको जीवन पुस्तक लेखनमा गुजारिरहेको छु’, उनले भने,– ‘लेखन अहिले मेरो जागिरजस्तै भएको छ ।’
२६ वर्षअघि दुग्ध संस्थानमा कार्यरत रहेका बखत बुटवलबाट सुर्खेत आउँदै गर्दा संस्थानको ट्याङ्कर कुसुममा दुर्घटनाग्रस्त हुँदा साउदको मेरुदण्ड नै काम नलाग्ने भयो । नेपाल–भारतका विभिन्न अस्पतालमा महिनौँसम्मको उपचारबाट पनि निको नभएपछि प्यारापिलेजिया भएको चिकित्सकले बताए त्यसपछि बाँकी दिन ह्विलचेयरकै सहारामा बाँच्नुप¥यो ।
‘दुर्घटनामा परेपछि केहीवर्ष निकै उदास भएर जीवन बिताएँ’, बैतडीको रिम गाविस–३ बण्डामा २०१९ सालमा जन्मिएका साउदले भने– ‘त्यो घटनापछि किताब लेख्ने थालेकाले त्यतैतिर ध्यानकेन्द्रित भयो ।’ साझा प्रकाशनले प्रकाशित गरिदिएको उक्त पुस्तकले मदन पुरस्कार पाएपछि आफूलाई लेखनमा थप प्रोत्साहन मिलेको उनी बताउँछन् ।
पुस्तक लेखनलाई निरन्तरता दिन लेखक साउदले एक दशकपछि अर्को ‘च्याउ खेती’ नामक पुस्तक सार्वजनिक गरे । ‘यो दोस्रो पुस्तक लेख्न एक दशकभन्दा बढी नै समय लाग्यो’, उनले भने– ‘फेरि ‘उन्नत खेती’ नामक किताब लेख्दैछु ।’ उनले चाँडै प्रकाशित हुने यो पुस्तक भने विद्यालयस्तरको पाठ्यक्रमका लागि उपयोगी हुने बताए । ‘ओछ्यानमा छाती र हातको कुहिनाको भरमा सुतेरमात्रै कम्प्युटर चलाउन सक्छु ।’ साउदले भने– ‘पहिले त सुतेरै दैनिक १५÷१६ घन्टासम्म लेख्थे अहिले स्वास्थ्यका कारण लामो समय त्यसरी लेख्न सक्दिन ।’
पहाडमा रहँदा प्रवेशिकासम्मको अध्ययनमा पनि निकै उतारचढाव झेल्नुपरेको साउदले भारतको हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालयबाट बिएससी गरेका थिए । उनले भने– ‘दुर्घटनाको केही समयपछि श्रीमतीले साथ छोडिन्, केही समयअघि भाइको पनि हृदयघातका कारण निधनले सिङ्गो परिवार नै अपाङ्गजस्तै बनाए पनि बहिनी र ८६ वर्षीय वृद्ध बुबा धनबहादुर र ८४ वर्षीय आमा धर्मादेवीले हेरचाह गरिरहेका छन् ।’
परिवारमा अनेक प्रकारको समस्या भए पनि लेखन यात्रालाई अगाडि बढाउन इन्टरनेटको सहायतामा थप अध्ययन गर्ने गरेको गरेको र स्कुटरको सहारामा भीमदत्तनगर बजारसमेत आवतजावत गर्दै आएको उनले बताए ।







प्रतिक्रिया