काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत् र नेवा: संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताए ।
मन्त्री श्रेष्ठले नेपाल संवत् आन्दोलनका क्रममा उठाइएका मागमध्ये नेवा: विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्नु, नयाँ नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारी प्रतिबद्धता आउनु र आकाश भैरवको तस्बिर नोटमा समावेश गर्ने प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
उनले नेपाल संवत् तथा नेवा: संस्कृति संरक्षणका लागि लामो समयदेखि संघर्ष गर्दै आएका पद्मरत्न तुलाधरलगायत अग्रज अभियन्ताहरूको योगदान स्मरण गरे । उनीहरूले शुरु गरेको अभियानलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी विधेयक निर्माण गर्दा सम्बन्धित समुदाय र अभियन्ताहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । विधेयक कस्तो बन्नुपर्छ भन्ने विषयमा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको उनले बताए ।
उनले नेपाल संवत् र नेवा: संस्कृति कुनै एक समुदायमा मात्र सीमित नरहेको भन्दै यसको संरक्षणलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । नयाँ पुस्तालाई भाषा, संस्कृति, परम्परा र बाजागाजाप्रति आकर्षित गर्न सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल संवत् र शङ्खधर साख्वाको योगदानलाई भावी पुस्ताले पनि स्मरण गर्ने वातावरण बनाउन सबै पुस्ताबीच सहकार्य आवश्यक रहेको मन्त्री महर्जनले बताए ।













प्रतिक्रिया