वासिङ्टन । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् ।
निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको छ ।
कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान गर्न सक्नेछन् । उनीहरूले अधिकारीहरूलाई बयानका लागि बोलाउन र सार्वजनिक सुनुवाइ गर्न पनि पाउनेछन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामलाई अमेरिकाका लागि ठूलो धक्का भन्दै आफूहरू अझ बलियो भएर फर्किने बताएका छन् । उनले प्रशासनका सदस्यलाई महाभियोग लगाउने डेमोक्रेटहरूको चेतावनीलाई दबाब सिर्जना गर्ने प्रयास भन्दै न्याय मन्त्रालयलाई अनुसन्धान गर्न निर्देशन दिएको पनि बताएका न् ।
यसैबीच, ट्रम्पले कडा आप्रवासन नीतिका योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ नियुक्त गेरे । उपराष्ट्रपति जेडी भान्ससहित केही रिपब्लिकन नेताहरूले भने निर्वाचनमा पार्टीको पराजयको कारण समीक्षा गर्नुपर्ने बताएका छन् ।
डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले इरान युद्ध सञ्चालनमा लापरबाही गरेको र राष्ट्रिय सुरक्षा कमजोर बनाएको आरोप लगाउँदै रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्तावको समर्थन गरेका छन् । ट्रम्पले भने हेगसेथको बचाउ गर्दै भेनेजुएला र इरानसँगका युद्धमा अमेरिकाले सफलता हासिल गरेको दाबी गरेका छन् ।
महान्यायाधिवक्ता टोड ब्लान्चेले प्रशासनका अधिकारीमाथि अनुसन्धान वा कारबाहीको प्रयास भए न्याय मन्त्रालयले उनीहरूको बचाउ गर्ने बताउनुभएको छ । तर, प्रतिनिधिसभाको निगरानी समितिका वरिष्ठ डेमोक्रेटिक सदस्य रोबर्ट गार्सियाले कार्यकारी शाखालाई जवाफदेही बनाउनु कङ्ग्रेसको संवैधानिक जिम्मेवारी भएको बताउँदै भ्रष्टाचार र अमेरिकी जनताविरुद्धका अपराधको अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पारेका छन् । एएफपी













प्रतिक्रिया