नेपाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँको नारायणहिटी दरबार अगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३ औँ सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो । उहाँले कागको आवाज निकाल्न थालेपछि वरपरका रुख र आकाशबाट कागहरू सम्मेलनस्थलमा जम्मा भएका थिए । दुलालले १७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दाबी गरिएको छ ।

नेपाली समाजमा कागलाई सन्देशवाहक चराका रूपमा लिने परम्परा छ । तिहारको पहिलो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गरी खानेकुरा दिने चलन छ । कागलाई खुसी पार्न सके अशुभ समाचार सुन्नु नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिन्छ । त्यसैले यमपञ्चकको पहिलो दिन कागको विशेष पूजा गर्ने गरिन्छ । यस दिन बिहानै घरको छत, आँगन वा खुला स्थानमा पातमा भात तथा विभिन्न परिकार राखेर कागलाई बोलाउने र खुवाउने प्रचलन छ । कागले मानिसका सन्देश यमराजसमक्ष पुर्‍याउने धार्मिक विश्वाससमेत रहेको छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ,

Advertisement

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गासिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिनेक्रम आज साँझ पनि जारी रहन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएको आज कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको छ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै काग तिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शुक्रबारदेखि यमपञ्चक सुरू भएकामा आज दोस्रो दिन काग तिहार पर्व पर्न गएको हो ।

यस अवसरमा आज कागेश्वरी मनोहरा नगरापलिका–१ स्थित कागेश्वरी मन्दिर, पशुपति क्षेत्र र वसन्तपुर दरबार क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पनि बिहानै पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो बढेको थियो ।