काठमाडौँ । चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन् । कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन् ।
चीनका चुनजुङ वाङ र शुतिङ याङले दुई–दुई विकेट लिए ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमा समेटियो। चीनका युफेई सुनले २७ बलमा सर्वाधिक २८ रन बनाइन् ।
नेपालका रचना चौधरी र टीका शाहले तीन–तीन विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी टीका ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी छन्। नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप चीनमा शृङ्खला खेलिरहेको हो ।













प्रतिक्रिया