टेक्सस

ह्युस्टनमा ‘दशैं–तिहार सांगीतिक धमाका’: शिव परियार र समीक्षा अधिकारीको बेजोड् प्रस्तुति

ह्युस्टनमा ‘दशैं–तिहार सांगीतिक धमाका’: शिव परियार र समीक्षा अधिकारीको बेजोड् प्रस्तुति


ह्युस्टन — दशैंको मुखैमा ह्युस्टनमा शुक्रवार साँझ सम्पन्न दशैं–तिहार सांगीतिक धमाका नेपाली समुदायका लागि वर्षकै भव्य र खुसीपूर्ण सांगीतिक उत्सव बनेको छ। 3E Entertainment द्वारा आयोजना गरिएको यो सांङ्गीतिक कार्यक्रममा दुई चर्चित नेपाली सांङ्गीतिक ताराहरु शिव परियार र समीक्षा अधिकारीको भव्य प्रस्तुति रहेको थियो। परियार र अधिकारीको गायनसंगै प्रवासमा बस्ने नेपाली समुदायका लागि दशैंको उत्सव शुरु भएको थियो। नेपाली गीत-सङ्गीतका कार्यक्रमले मनोरञ्जन दिने मात्र होइन यसले प्रवासी नेपालीहरुका लागि सामुददायिक एकता र सांस्कृतिक उत्सवको वातावरण पनि बनाउँछ।

कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय गायक शिव परियार र चर्चित गायिका समीक्षा अधिकारीले आफ्ना चर्चित गीत मार्फत दर्शकहरुलाई मन्त्रमु्ग्ध पार्दै थाक्नेगरी नचाए। समीक्षाका प्राय सबै गीतहरुमा दर्शकहरुले स्टेज वरिपरि झुम्दै नाचेर भरपुर मनोरञ्जन लिएको देखिन्थ्यो भने करिब ११ बजेतिर मात्र स्टेज चढेका निकै दमदार र सुमधुर आवाज भएका गायक शिवले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गरेर ह्युस्टनका नेपालीको दशैं उल्लासपूर्ण बनाइदिए।

Advertisement

परियारका निकै लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’, ‘क्या दामी भो’, ‘आँसुको अर्थ’, ‘पाकेर खाएको फल मिठो’ ‘कहाँ थियौ तिमी’, ‘सङ्गी’, ‘धोकेबाज हौ तिमी’, ‘फेवातालमा साइँली’ लगायतका गीतले मन्त्रमुग्ध दर्शकहरु प्राय सबै गीतमा ‘वन्स मोर’ भन्न छोडेनन्। परियारको प्रस्तुति केवल गायनमा सीमित रहेको थिएन, उनले दर्शकसँग प्रत्यक्ष संवाद गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।

समीक्षाले आफ्नो कर्णप्रिय स्वर र युवा ऊर्जा मिसिएको नृत्यसंगै प्राय सबै प्रसतुतिमा दर्शकहरुलाई नचाएकी थिइन्।’तिमीले त माया दिएनौ’ ‘मायाको बाटो’, ‘तिमी बिना’ सुर्ति माड्दै लगायतका डान्सिङ नम्वरहरु गाएर दर्शकहरुलाई थाक्नेगरी नचाएको देखिन्थ्यो। अधिकारीको दर्शकलाई निरन्तर सक्रिय गराउने शैली र डान्सिङ नम्वरहरुले नेपालीहरुको महान पर्व दशैंका बेला ह्युस्टनका नेपालीहरुलाई सामुहिक पर्व मनाउने र खुसीसाथ दशैं मनाउने अवसर प्राप्त भएको थियो। प्रविन बेडुवालसंगको निकै हिट गीत ‘नबोली-नबोली’मा होस् कि खेम सेन्चुरीसंग गाइएको दोहरी ‘सुर्ति माड्दै’मा वा दुर्गेश थापासंगको ‘दुस्मन हेरेको हेऱ्यै’मा दर्शकहरु स्टेजमा चढुँला झैं गरेर नाच्दै-रमाउँदै गरेको देखिन्थ्यो।

नेपाली कलाकारहरुले आफूसंगै नेपाली गीत-संङ्गीत र कला मात्र बोकेर ल्याउँदैनन्—उनीहरुले नेपाली पन मिसिएको सांस्कृतिक पहिचान पनि संगै लिएर आउँछन् र प्रवासको नेपाली समुदायलाई भावनात्मक एकता सहितको ‘भावनात्को नेपाल’ बनाउन योगदान दिन्छन्।

कार्यक्रममा परिवारसहित आउनेहरूको संख्या धेरै थियो, जसले दशैं–तिहारको अवसरमा समुदाय एकै ठाउँमा भेला भई रमाउने अवसर पनि दिएको थियो।

3E Entertainment को मु्ख्य आयोजनामा गायकद्वय शिव परियार र समीक्षा अधिकारीको जारी अमेरिकामा जारी सांङ्गीतिक यात्रा अन्तर्गत ह्युस्टनको सांङ्गीतिक उत्सवको स्थानीय आयोजना भने ह्युस्टन कै युवा अनिल पौडेलले संयोजन गरेका थिए। बृहत्तर ह्युस्टनको स्थानीय ‘Paradis Event Center’ मा आयोजित ‘दशैं-तिहार धमाका’ नाम दिइएको नेपाली सांङ्गीतिक उत्सवको समग्र व्यवस्थापनमा स्थानीय आयोजकले निकै राम्रो तयारी गरेको देखिएको थियो। स्थानीय व्यवसाय तथा समुदायका प्रायोजकहरूले समेत कार्यक्रम आयोजनामा सघाएका थिए।

दशैं–तिहारको रौनकसँगै आयोजित सांङ्गीतिक धमाका ह्युस्टनको नेपाली समुदायका लागि अविस्मरणीय बनेको छ। लोकप्रिय गीतहरूको चयन, कलाकारको ऊर्जा, दर्शकको उत्साह, र स्थानीय युवाहरुको व्यवस्थापनले कार्यक्रम अत्यन्त सफल बनाएको सहभागीहरुको प्रतिक्रिया थियो। मध्यरात १२ बजे पछि समेत दर्शकहरु शिव परियारलाई उनको सर्वाधिक हिट नम्वर ‘पिउँदिन भन्दा भन्दै’लाई दोहऱ्यार गाउन बाध्य पार्दै थिए। ह्युस्टनमा रमाइला कार्यक्रम आयोजनमा सक्रिय युवा अनिल पौडेलले साँच्चै दशैं रमाइलो बनाए—साँस्कृतिक र सांङ्गीतिक उत्सवको फ्यूजन भन्न मिल्ने दशैंमा नेपालीहरुको मनमा गुन्जिरहने छ—फेलातालमा साईंली डुङ्गा सलल, सम्झनामा साईंली तस्बिर झलल’।