अस्टिन, टेक्सास। अस्टिन एभरेस्ट लायन्स क्लबले लायनिस्टिक वर्ष २०२६–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। अक्टोबर ११, २०२६ मा ग्रेटर अस्टिन नेपाली कम्युनिटी सेन्टर, टेक्सासमा सम्पन्न निर्वाचन बैठकले रविन शिवालाई क्लबको अध्यक्षमा चयन गरेको हो। निर्वाचन प्रक्रियाले क्लबमा नयाँ ऊर्जा, उत्साह र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसअघि सेप्टेम्बर २०, २०२६ मा नोमिनेसन बैठक सम्पन्न भएको थियो। क्लबको बाइलजअनुसार सम्पन्न निर्वाचनबाट दोस्रो उपाध्यक्षमा अफ्सरा पौडेल, सचिवमा दिपेश पोखरेल, कोषाध्यक्षमा दिपेश कार्की र एलसिआइएफ (LCIF) संयोजकमा सुलभ पौडेल चयन भएका छन्। पहिलो उपाध्यक्ष पदमा मनोनयन नपरेकाले उक्त पद क्लबको आगामी निर्णयअनुसार पूर्ति गरिने जनाइएको छ।
सामाजिक सेवा र मानवीय सहयोगलाई मूल उद्देश्य बनाएको लायन्स क्लबको नयाँ नेतृत्वले आगामी वर्ष समुदायमा आधारित कार्यक्रम, सेवामूलक परियोजना तथा क्लबका उद्देश्यलाई निरन्तरता दिने लक्ष्य राखेको छ। अध्यक्षमा चयन भएका रविन शिवाको नेतृत्वमा क्लबका गतिविधिलाई थप सक्रिय बनाउँदै नेपाली समुदायबीच सहकार्य, एकता र सेवाभाव अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष शिवाले समुदायप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै निस्वार्थ सेवाको महत्त्वमा जोड दिएका छन्। उनले साना–साना प्रयासबाट पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै नेपाली समुदायका सबै सदस्यलाई हातेमालो गर्न आह्वान गरेका छन्।
“निस्वार्थ सेवाको सानो–सानो प्रयासले उन्नत समाज निर्माणमा योगदान दिन सकिने विश्वाससहित सबैलाई हातेमालो गर्न आह्वान गर्दछु,” शिवाले भने।
उनको यो सन्देशले नेतृत्वलाई पद र जिम्मेवारीमा मात्र सीमित नराखी सामूहिक प्रयास, सामाजिक सद्भाव र सेवामार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने दृष्टिकोणलाई उजागर गरेको छ। नयाँ नेतृत्वसँगै अस्टिन एभरेस्ट लायन्स क्लबले आगामी लायनिस्टिक वर्षमा थप उत्साहका साथ सामाजिक सेवा र सामुदायिक विकासका गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया