काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसमा आगामी नेतृत्वका लागि सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुला मञ्चमा गरेको कांग्रेसले निर्वाचन प्रक्रिया राष्ट्रियसभा गृहमा गरिरहेको छ ।
सभापति पदमा बहालवाला सभापति गगनकुमार थापाका साथै श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपसभापति पदका लागि वर्तमान उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, उपसभापति खुलातर्फ डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस विधानमा खुलातर्फ एक उपसभापतिको व्यवस्था गरिएको छ ।
त्यस्तै, महिला उपसभापतिका लागि पुष्पा भुसालको मात्रै उम्मेदवारी दर्ता भएको बताइएको छ । कांग्रेस विधानमा एक जना महिला उपसभापतिको व्यवस्था छ ।
एक जना समावेशी उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । समावेशी उपसभापतितर्फ जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रञ्जीत कर्णले उम्मेदवारी दर्ता गराएका छन् ।
दुई जना खुला महामन्त्रीका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ । यो पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिलकुमार शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापतिमा तीन, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक, खुला उपसभापतिमा ९, समावेशी उपसभापतिमा पाँच, खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए । अन्य पदहरूको विवरण सङ्कलन जारी रहेको उनले बताए ।












प्रतिक्रिया