काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीतिको सार्थकता जनताको जीवनस्तर सुधार, राष्ट्रको सुरक्षा र प्रतिष्ठामा देखिनुपर्ने बताएका छन् ।
लामो समय विभिन्न दलले मुलुकको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकिएको स्वीकार गर्दै उनले नागरिकका समस्या समाधानलाई राजनीतिको केन्द्रमा राख्न आग्रह गरेका छन् ।
काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा घिमिरेले लोकतन्त्रको मूल्य जनताको सहभागिता, सम्मान र समुन्नतिसँग जोडिने बताएका छन् ।
‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्नु नै वास्तवमा लोकतन्त्रको सार हो,’ उनले भनेका छन् ।
राजनीतिक नेतृत्वले प्रश्नको जवाफ खोज्नुपर्ने
घिमिरेले लोकतन्त्र सही दिशामा अघि बढिरहेको छ कि छैन र राजनीतिले आफ्नो उद्देश्य पूरा गरिरहेको छ कि छैन भन्ने प्रश्न सबै राजनीतिक दल र नेतृत्वमाथि उठिरहेको बताएका छन् । कार्यक्रममा उपस्थित प्रमुख दलका शीर्ष नेताहरूलाई सम्बोधन गर्दै उनले ती प्रश्नको जवाफ खोज्ने साझा दायित्व रहेको उल्लेख गरेका छन् ।
‘यदि हामीले यी प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभीष्ट पनि पूरा हुन्छ,’ उनले भनेका छन् ।
उनले जनताको समुन्नत जीवनसँगै राष्ट्रको सुरक्षा, प्रतिष्ठा र छिमेकी मुलुकसँगको सुमधुर सम्बन्धलाई राजनीतिको सार्थकताका आधारका रूपमा प्रस्तुत गरेका छन् । लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा नागरिकका समस्याको समाधान मुख्य हुनुपर्ने उनको भनाइ छ ।
पुस्तान्तरणसँगै नागरिकको अपेक्षा सम्बोधनमा जोड
कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना स्मरण गर्दै घिमिरेले समुन्नत देश र सुखी जनता नै पार्टीको मुख्य लक्ष्य हुनुपर्ने बताएका छन्। उनले महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थक बनाउने विश्वास व्यक्त गरेका छन् ।
सहिदको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउँदै नागरिकको भावनाअनुसार पार्टीलाई अघि बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ। घिमिरेले महाधिवेशन प्रतिनिधिहरूलाई जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्पसहित अघि बढ्न आह्वान गरेका छन् ।












प्रतिक्रिया