राजनीति-समाज

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई रातारात पक्राउ गर्नु रहस्यमय : भीष्मराज आङ्देम्बे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई रातारात पक्राउ गर्नु रहस्यमय : भीष्मराज आङ्देम्बे


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

पाँचथर । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन् ।

सोमबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङदेम्बेले सरकार लोकतन्त्रका सामान्य मूल्य, विधि र प्रक्रियाप्रति समेत गम्भीर नदेखिएको आरोप लगाए । उनका अनुसार राज्यका निकाय स्थापित कानुन र प्रक्रियाअनुसार चल्नुपर्ने भए पनि वर्तमान सरकार त्यसविपरीत अघि बढिरहेको छ । सरकारका गतिविधि पारदर्शी नहुँदा नागरिकमा आशङ्का र निराशा बढ्दै गएको उनले बताए ।

Advertisement

‘सरकार आफ्ना कुनै पनि क्रियाकलापलाई पारदर्शी बनाउन चाहँदैन,’ आङदेम्बेले भने, ‘पारदर्शिता र विधिको शासन कमजोर हुँदै गयो भने देश गम्भीर सङ्कटतर्फ जान्छ।’

उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक व्यवस्थाकै मर्ममाथि प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताए। सरकारका निर्णय र गतिविधि जनताप्रति जवाफदेही हुनुपर्नेमा त्यसको अभाव देखिएको उनको आरोप थियो ।

पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ प्रकरणलाई लिएर पनि आङदेम्बेले सरकारमाथि प्रश्न उठाए । राणालाई रातारात पक्राउ गरिएको घटनाको प्रक्रिया पारदर्शी नभएको उनको दाबी थियो ।

‘पूर्वप्रधानन्यायाधीशलाई रातारात किन र कसरी पक्राउ गरियो भन्ने कुरा रहस्यमय छ। मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेट्न दिइएन,’ उनले भने, ‘सरकार आफ्ना कुनै पनि क्रियाकलापलाई पारदर्शी बनाउन चाहँदैन ।’

राणामाथि गल्ती वा कमजोरी भएको भए त्यसबारे कानुनले आफ्नो बाटो लिनुपर्ने उनले बताए । तर, पक्राउ गर्दा पनि स्थापित विधि र प्रक्रिया पालना गर्नुपर्ने उनको भनाइ थियो ।

पक्राउ गर्ने र पछि छाड्ने सरकारको शैलीप्रति टिप्पणी गर्दै आङदेम्बेले राज्य सञ्चालनको गम्भीरतामाथि नै प्रश्न उठाए । ‘यो गम्भीर राज्य सञ्चालन हो कि केटाकेटीको खेल हो ?’ उनले प्रश्न गरे ।

आङदेम्बेले प्रहरी प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाए। प्रहरी आदेशपालकका रूपमा मात्रै प्रस्तुत हुँदा आफ्नो पेसागत नैतिकता र जिम्मेवारी कायम राख्न नसकेको उनको आरोप थियो ।

‘राज्यका निकाय कानुनअनुसार चल्नुपर्छ। सरकारको आदेश मान्नु मात्रै प्रहरीको जिम्मेवारी होइन। आफ्नो पेसागत मर्यादा र कानुनी दायित्व पनि पूरा गर्नुपर्छ,’ उनले भने ।

लोकतन्त्रमा सरकारका हरेक निर्णय पारदर्शी र जवाफदेही हुनुपर्ने आङदेम्बेले बताए । विधिको शासन कमजोर पार्ने र राज्यका निकायलाई प्रक्रियाबाहिर सञ्चालन गर्ने प्रवृत्तिले मुलुकलाई थप सङ्कटमा धकेल्ने उनले चेतावनी दिए ।

कार्यक्रममा कांग्रेसका अर्का सांसद नरेन्द्रकुमार केरुङले पनि सरकारको कार्यशैलीको आलोचना गरे । प्रमुख विपक्षी दलका रूपमा कांग्रेसले सरकारलाई सकारात्मक सहयोग गर्न खोजे पनि सरकारको भूमिका सन्तोषजनक नरहेको उनको भनाइ थियो ।