राजनीति-समाज

पूर्वप्रधानन्याधीशलाई भेट्न नदिइएकोमा मानवअधिकार आयोगको आपत्ति

पूर्वप्रधानन्याधीशलाई भेट्न नदिइएकोमा मानवअधिकार आयोगको आपत्ति


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आयोगको सदस्यलाई भेट्न निदिएकोप्रति आपत्ति जनाएको छ।

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका आयोगका सदस्यलाई प्रहरीले पूर्वन्यायाधीश जबरासँग भेट्न नदिएकोप्रति आयोगले आपत्ति जनाएको हो।

Advertisement

जबरालाई पक्राउ गरेको घटनाबारे अनुगमन गर्न आयोगका सदस्य नेतृत्वको उच्चस्तरीय टोली उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर, अनुमगमनमा प्रहरीले रोकेको आयोगको भनाइ छ। अनुमगममा रोक लगाउनुपरेको कारणबारे समेत प्रहरीले जानकारी नदिएको आयोगले जनाएको छ।

‘अनुमगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुमगन गर्न नदिएको यस विषयमा समेत टोलीलाई जानकारी दिइएन,’ आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकताअनुसार सार्वजनिक संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानवअधिकार संरक्षणका लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था छ।

संवैधानिक तथा कानुनी अधिकारविपरित नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ। साथै आयोगले अनुगमनमा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरमा ल्याउन सरकारलाई ध्यानाकर्षण गराएको छ।

‘निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरमा ल्याउ र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।