कोलोराडो, अमेरिका । नेपालको बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ (VOC) का उपनिर्देशक उत्तमप्रसाद ढकालले अमेरिकाको डेनभर विश्वविद्यालय (University of Denver) को भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले बाल संरक्षण तथा सुरक्षा, नेपालमा हालै आएको बाढीको अवस्था र त्यसको प्रभावलगायतका विषयमा जानकारी गराएका छन्।
डेनभर विश्वविद्यालयको ग्राजुएट स्कुल अफ प्रोफेसनल साइकोलोजीअन्तर्गत आयोजित ‘कन्भर्सेसन्स विथ भ्वाइस अफ चिल्ड्रेन’ कार्यक्रममा सहभागी हुँदै ढकालले नेपालमा बाल संरक्षण तथा सुरक्षा (Child Protection and Safeguarding) सम्बन्धी भइरहेको कामको समग्र चित्रण प्रस्तुत गरेका थिए।
भ्रमणका क्रममा विश्वविद्यालयका सम्बन्धित विभागीय नेतृत्व तथा टोलीका सदस्यहरूले ढकाललाई स्वागत गर्दै ‘भ्वाइस अफ चिल्ड्रेन’ र डेनभर विश्वविद्यालयबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए। छलफलमा नेपालमा रहेका डेनभर विश्वविद्यालयका अन्य साझेदार संस्थाहरू, श्री मेमोरियल अस्पताल र काडमबरी मेमोरियल कलेजसँगको निरन्तर सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो।
सन् २००० मा स्थापना भएको ‘भ्वाइस अफ चिल्ड्रेन’ ले नेपालका ५० भन्दा बढी जिल्लामा सडक बालबालिका, घरपरिवारबाट विच्छेद भएका तथा यौन दुर्व्यवहारमा परेका बालबालिकाको उद्धार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनका क्षेत्रमा काम गर्दै आएको छ।
संस्थाले बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार रोकथाम, उद्धार, पुनर्स्थापना र पुनःएकीकरणका लागि चरणबद्ध ‘ल्याडर एप्रोच’ अपनाउँदै आएको बताइएको छ। यसका साथै संस्थाले सन् १९९५ देखि बाल यौन दुर्व्यवहारविरुद्धको अभियान, साइबर सुरक्षा परियोजना र सडक बालबालिकाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बाल संरक्षणको क्षेत्रमा संस्थाले गरेको योगदानका कारण सन् २००९ मा फ्रान्सेली गणतन्त्रको ‘ह्युमन राइट्स अवार्ड’ तथा सन् २०१४ मा स्टार फाउन्डेसन यूकेको ‘स्टार्स इम्प्याक्ट अवार्ड’ समेत प्राप्त गरेको जानकारी दिइएको छ।
डेनभर विश्वविद्यालयका डीन टोरे विल्सन (Torrey Wilson, PhD) ले नेपालका तीन जिल्लामा बाढीबाट प्रभावित परिवारका लागि तथा VOC लाई निरन्तर सहयोग जुटाउन विश्वविद्यालयको वेबसाइटमा अपिल राख्ने र आर्थिक सहयोग संकलन गर्ने प्रतिबद्धता जनाएका छन्।
विश्वविद्यालयले विपद्पछि जोखिममा परेका बालबालिका र तिनका परिवारसँग काम गर्ने विषयमा VOC का सदस्यहरूलाई लक्षित गरी विशेष भर्चुअल तालिम प्रदान गर्ने सहमति समेत जनाएको छ।
भ्रमणका क्रममा हालै नेपालमा आएको बाढी तथा पहिरोपछि प्रभावित परिवारलाई आवश्यक मनोसामाजिक सहयोग (MHPSS) र VOC को सम्भावित संलग्नताबारे पनि छलफल भएको थियो। यस सम्बन्धमा कडमबरी मेमोरियल कलेजकी प्रिन्सिपल प्रदीप्तासँग सहकार्यका सम्भावनाहरूबारे कुराकानी भएको बताइएको छ।
उत्तम ढकालले डेनभर विश्वविद्यालयको भ्रमणका क्रममा विश्वविद्यालयका विभागीय प्रमुखहरूसँग भेटघाट गर्नुका साथै सन् २०१४, २०२२, २०२३ र २०२४ ब्याचका विद्यार्थीहरूसँग समेत अन्तरक्रिया गरेका थिए।
ती विद्यार्थीहरूले विगतमा नेपालमा ‘भ्वाइस अफ चिल्ड्रेन’ सँग काम गर्दाको अनुभव तथा संस्थाले दिएको हेरचाहबारे आफ्ना अनुभवहरू साझा गरेका थिए। पूर्वविद्यार्थीहरूले नेपालमा हालसालै आएको बाढीबाट प्रभावित बालबालिका तथा परिवारप्रति गहिरो चिन्ता व्यक्त गरेको बताइएको छ ।
भ्रमणका क्रममा डेनभर विश्वविद्यालयका विभागीय नेतृत्वमध्ये ग्वेन मिचेल (Gwen Mitchell, PsyD) ले उत्तम ढकाललाई कोलोराडो विमानस्थलबाट स्वयं लिन गएकी थिइन्। कार्यक्रमपछि स्थानीय नेपाली भोजन तथा VOC को फिचर फिल्म ‘छाया’ (Shadows Don’t Have Faces) को प्रदर्शनको आयोजना समेत गरिएको थियो।
‘छाया’ बाल यौन दुर्व्यवहारको विषयमा निर्माण गरिएको पूर्णलम्बाइको फिचर फिल्म हो। फिल्मको लेखन तथा निर्देशन मनोज पण्डितले गरेका हुन् भने निर्माणमा ज्योति लम्सालले सहयोग गरेकी छन्। करिब १ घण्टा ४० मिनेट लामो यस फिल्मले बाल यौन दुर्व्यवहारको विषयलाई केन्द्रमा राख्दै बालबालिका, शिक्षक र अभिभावकबीचको दैनिक सम्बन्ध तथा संवादमार्फत समाजमा हुने दुर्व्यवहारका विभिन्न स्वरूपलाई प्रस्तुत गर्छ।
फिल्मले बालबालिकामाथि हुने दुर्व्यवहारलाई ‘दुर्व्यवहार छोरीहरूमा मात्र हुन्छ’, ‘अपरिचितले मात्र गर्छन्’ वा ‘घर र विद्यालय सधैँ सुरक्षित हुन्छ’ जस्ता समाजमा व्याप्त भ्रमहरू चिर्दै अभिभावक, शिक्षक तथा समुदायमा सचेतना फैलाउने उद्देश्य राखेको बताइएको छ।
‘छाया’ ले नेपाल फिल्म डेभलपमेन्ट बोर्डको ‘स्पेसल फिल्म’ वर्गअन्तर्गतको जुरी विशेष पुरस्कार तथा वर्षकै उत्कृष्ट फिल्मको सम्मान (२०७९ साल) प्राप्त गरेको थियो। साथै, चौथो नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट निर्देशकको पुरस्कार समेत हासिल गरेको थियो।
भ्रमणका क्रममा भएको छलफलले बाल संरक्षण, मनोसामाजिक सहयोग, विपद्पछिको पुनर्स्थापना तथा शैक्षिक संस्थाहरूबीचको सहकार्यलाई निरन्तरता दिने सम्भावनाबारे संवाद अघि बढाएको छ।












प्रतिक्रिया