न्युयोर्क

विश्व शाह न्यू ह्याम्पशायर स्टेट हाउसको प्राइमरी निर्वाचन जित्दै इतिहास कायम

विश्व शाह न्यू ह्याम्पशायर स्टेट हाउसको प्राइमरी निर्वाचन जित्दै इतिहास कायम



हिल्सबोरो, न्यू ह्याम्पशायर । अमेरिकाको न्यू ह्याम्पशायर राज्यमा मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको प्राइमरी (प्राथमिक) निर्वाचनमा नेपाली मूलका डेमोक्र्याट नेता विश्व शाहले ऐतिहासिक जित हासिल गर्नुभएको छ। हिल्सबोरो डिस्ट्रिक्ट ४१ बाट स्टेट हाउस (सांसद) को उम्मेदवार बनेका शाहले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गर्नुभएको हो।

यस जितसँगै उहाँ आउँदो नोभेम्बरमा हुने आम निर्वाचनका लागि आधिकारिक डेमोक्र्याटिक उम्मेदवार चयन हुनुभएको छ। न्यू ह्याम्पशायरको इतिहासमा डेमोक्र्याटिक पार्टीको तर्फबाट स्टेट हाउसको प्राइमरी जित्ने शाह पहिलो नेपाली मूलका व्यक्ति हुनुहुन्छ।

Advertisement

उहाँले हिल्सबोरो डिस्ट्रिक्ट ४१ अन्तर्गतका विभिन्न टाउनहरू (जस्तै: म्यान्चेस्टर र वरपरका क्षेत्र) मा बसोबास गर्ने स्थानीय मतदाताहरूको दह्रो समर्थन प्राप्त गर्नुभएको थियो। लामो समयदेखि सामाजिक सेवा, स्थानीय समुदायको हकहित र नेपाली डायस्पोरालाई मूलधारको अमेरिकी राजनीतिमा जोड्न उहाँ सक्रिय रहँदै आउनुभएको छ।

आफ्नो जितपछि प्रतिक्रिया दिँदै शाहले सम्पूर्ण मतदाता, शुभचिन्तक र अहोरात्र खटिने स्वयम्सेवकहरूप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पनि विजयी भई समुदाय र राज्यको सेवामा समर्पित हुने प्रतिबद्धता जनाउनुभएको छ।

नेपालमा लामो समय सैनिक अधिकृत रहनुभएका शाह अमेरिकामा पेशागत कार्यका अतिरिक्त सामाजीक कार्यहरूमा निरन्तर सकृय हुनुहुन्छ । शाह डेमोक्रेटिक पार्टीबाट राज्यको हाउसमा विजयी हुने नेपालीहरूको सूचिमा थपिनुभएको छ । यसअघि ह्यारी भण्डारी मेरिल्याण्डमा राज्य सभासद् हुनुहुन्छ भने सराहन श्रेष्ठ न्यूयोर्क राज्य सभासद हुनुहुन्छ ।

यसैवर्षमात्र मेरिल्याण्डमा सतिश चापागाइले प्राइमरीमा विजयी हुनुभएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायका संघ-संस्थाहरू र विभिन्न अगुवाहरूले शाहको यो सफलतालाई नेपाली डायस्पोराकै लागि एउटा गौरवको क्षण भन्दै बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।