अमेरिका, बोस्टन। नेवा अर्गनाइजेसन अफ न्यू इङ्गल्याण्ड, अमेरिकाका अध्यक्ष विजेन्द्र कुमार प्रधानको असामयिक निधन भएको छ। सेप्टेम्बर १, २०२६ मङ्गलबार उनको निधन भएको हो। उनको निधनमा यतिबेला न्यू इङ्गल्याण्डबासी प्रवासी नेपाली समुदाय शोकमग्न भएको छ।
नेवा अर्गनाइजेसन अफ न्यू इङ्गल्याण्ड, अमेरिकाका कार्यसमितिका सदस्य मबि सिंहले जानकारी दिए अनुसार कामकै सिलसिलामा कार्य स्थलमा अचेत अवस्थामा रहेका प्रधानलाई उचारका लागि मोउन्ट अउबर्न हस्टिलमा पुर्याइएको थियो। तर, हस्पिटलले भने परिक्षण पश्चात् उनको निधन भइसकेको घोषणा गरिदिएको थियो।

प्रधान केबल नेवा अर्गनाइजेसनको अध्यक्ष मात्र नभएर न्यू इङ्गल्याण्ड क्षेत्रका नेपाली समुदायकै एक खम्बा थिए भन्दै सिंहले गहिरो शोक व्यक्त गरे। अचानक संस्थाको मेओ ढलेकोमा नेवा अर्गनाइजेसनले गहिरो दु:ख प्रकट गर्दै शोक व्यक्त गरेको छ। यस अकल्पनीय घटनाले परिवार, संस्था र समग्र समाजलाई नै अपूर्णीय क्षति पुगेको जनाउदै प्रधानको आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
लामो समयदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका प्रधान नेपाली समुदायकाबीचमा चिरपरिचित व्यक्तित्व थिए। सामाजिक कार्यमा क्रियाशील व्यक्तित्वको छवि बनाएका उनको निधनमा न्यू इङ्गल्याण्ड बासी प्रवासी नेपालीहरुले निकै गहिरो शोक व्यक्त गरेका छन्। नेपाली समुदायका विभिन्न संघ संस्थाहरुमा आवद्ध भएर सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रधानको निधनमा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली संघ संस्थाहरुले पनि गहिरो शोक प्रकट गरेका छन्। उनीहरुले नेपाली समुदायले एक होनहार व्यक्तित्व गुमाएको जनाउदै स्वर्गीय प्रधानको आत्मालाई चिरशान्ति मिलोस् र शोक सन्तप्त परिवारजनलाई धर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्।
३२ वर्ष अघि अमेरिका भित्रिएका प्रधान श्रीमती, १ छोरी र १ छोरासहित अमेरिकाको बोस्टनमा रहदैआएका थिए।












प्रतिक्रिया