मुख्य समाचार

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९२५ व्यक्ति सम्पर्कविहीन छन् ।

यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न गएका १६४ नेपाली, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीन/तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन्।

Advertisement

सरकारले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास जारी राखिएको स्पष्ट पारेका छन्। नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विशेषज्ञ टोलीले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारको प्रयासलाई निरन्तरता दिएको छ।

त्रिशूली-३ ‘ए’ मा ‘टनेल हेड’ फेला परेको र ‘कम्प्रेसर’बाट हावा भित्र पठाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । टनेलभित्रको पानी निकाल्नाका साथै तीन वटा एक्साभेटर प्रयोग गरी पछाडि रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको सेनाले जनाएको छ।

यस्तै त्रिशूली-३ ‘बी’ मा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धारको काम भइरहेको छ। विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म खोजी जारी राखेको छ ।

माथिल्लो त्रिशूली-१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकुमा ३०० मिटरसम्म पुगेर खोजी गरेको छ। खोज तथा उद्धार कार्यका लागि संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको छ । सो सुरुङमा कोही पनि फेला नपरेको सेनाले स्पष्ट पारेको छ। लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव सङ्कलन गरिएको छ।