अमेरिका समाचार

इरानी धम्कीपछि ट्रम्प गोप्य उडानमार्फत सुटुक्क बेलायत पुगे

इरानी धम्कीपछि ट्रम्प गोप्य उडानमार्फत सुटुक्क बेलायत पुगे


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाड्नुभएको वासिङ्टन पोस्टले सोमबार जनाएको छ ।

एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढेका थिए । त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्‍याइएको थियो । सो विमानले उनलाई बेलायत पुर्‍याएको थियो ।

Advertisement

यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई राष्ट्रपति ट्रम्प अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो । ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत आफ्नो झ्यालको पर्दा बन्द गर्न भनिएको थियो । युद्ध क्षेत्रमा सुरक्षाका कारण प्रायः अपनाइने यस्तो कदमले राष्ट्रपति ट्रम्पको सुरक्षालाई लिएर थप शङ्का उत्पन्न गरेको थियो ।

यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको बताएका थिए ।

नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका राष्ट्रपति ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सकून् भन्ने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए । तर न्युयोर्क टाइम्ससहित अन्य अमेरिकी सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको जनाएका थिए ।

विमान परिवर्तनको घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षाबारे पनि प्रश्न उठाएको थियो । उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको थियो ।

कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो । सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाबारे राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए ।

उपहारस्वरूप प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो । जुलाई १ मा राष्ट्रपति ट्रम्पलाई पहिलोपटक उक्त विमानमा नर्थ डकोटा लगिएको थियो । त्यसको केही दिनपछि उनले सोही विमानबाट आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए ।

वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षाको बचाउ गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताए ।

उनले राष्ट्रपति ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताए । ह्वाइट हाउसले गत महिना पनि विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठेपछि यही धारणा सार्वजनिक गरेको थियो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ । त्यसपछि उक्त वाहनलाई सानो सी–३२ए विमानतर्फ लगिएको देखाइएको छ ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि राष्ट्रपति ट्रम्प ठूलो विमानबाट सिँढी हुँदै ओर्लिएको भिडियोमा देखिन्छ । त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए । तर राष्ट्रपति ट्रम्पलाई सानो विमानबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ । एएफपी