
घरहरु भत्किएका छन
खेत पैरोले लगेको छ
बाटाहरु चिरिएका छन
गौथली दलानमै रुन्छे
परेवी वाहामै मुर्छा पर्छे
भैँसी एकोहोरो कराउँछे
बन्जर भूमि भएको छ बस्ति
बन आगोले निले पछि ।
म भग्नावशेषमा उभ्भिएको छु
घाइतेको उद्धार गर्दै
मृत लाशहरु उठाउन
मलाई समयले घाइते बनाएर गएको छ ,
म शिथिल शरीर बोकी
हराएका जिन्दगीको लेखा जोखा राखी रहेछु
अर्धचेत मुद्रामा
म हराएकी मेरी आमा खोजि रहेछु ।
आमाका काखहरु रित्तिए
बाका भरोसा टुटेर गए
जोई डाको छोडेर रुन्छिन
पोइ बेपत्ता भए
भबिष्यका उम्दा फूलहरु
कोपिलामै चुँडिएर गए
म ऐठन पर्छु
वेदनाले छाती पोल्छ
मध्य दिउँसै
म सपना देख्छु ।
आँखामा निन्द्रा छैन
लाग्दैन भोक पनि
रोएर आँसु सुक्यो
बहकिएको छ मन पनि ।
म पीडाको मुहानमा छु
घोत्लिन्छु
अनि एकोहोरिदै सोच्छु
विनाश जति हाम्रै शिरमा थोपरेर
प्रकृति उपद्रव मच्चाउँछे
म बौलाहा जस्तो भै सके प्रिये
स्वर्ग नर्कको बात गथ्र्यौ
पाप धर्मको लेखो लगाउथ्यौ
दुःखलाई आत्मसात् गर्दै
जिन्दगी बाँच्न सिकाउथ्यौ
मेरो जीवन भद्रगोल भएको छ
तिम्रो मायालु साथ टुटे पछि ।
प्रकृति म सँग जोरी खोज्छे
मलाई अनाथ बनाएर
म बिधुर भएको छु
पत्नी गुमाएर ।
मलाई प्रिय लाग्दैन जीवन अब
जीवनको अर्थमा प्रश्न चिन्ह उठ्छ किन ?
जीवन नदी जस्तो बग्न सकेन
उबडखाबडमा अल्झि रह्यो
नौका लिएर कोही आएन
भाव शून्यमै जीवन हरायो ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
[email protected]












प्रतिक्रिया