बिजनेस/ इकोनोमी

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौंदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका र सर्वसाधारणमा निराशा पैदा गरेका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारका आशालाग्दा परिणाम देखिन थालेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई जीवन्त र प्रतिस्पर्धी बनाउन अपनाएको सहजीकरण, उत्प्रेरणा र समन्वयको नीतिका कारण मुख्य संस्थानहरू आफ्नै गोडामा उभिने दिशामा अघि बढेको उल्लेख गरेका छन् ।

Advertisement

प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको बताएका हुन् ।

उनले नियत सफा राखेर जिम्मेवारीप्रति इमानदार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन् । नयाँ सरकारले सुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ । त्यही इमानदार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।’

प्रधानमन्त्री शाहले सार्वजनिक गरेका उद्योग एवम् संस्थानको विवरण यस्तो छ :

नेपाल औषधि लिमिटेड : वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु दुई करोड ३८ लाखको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आएको हो । कम्पनी गत आर्थिक वर्षमा रु तीन करोड नाफा आर्जन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षमा रु.३० करोडको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ । सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सोही लक्ष्यअनुरूप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।

हेटौँडा कपडा उद्योग : वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परीक्षण उत्पादनपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्नेछ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको छ ।

नेपाल वायुसेवा निगम : नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो ।

यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी) बढेर ८६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा अकुपेन्सी ६ प्रतिशतले बढेको हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको रु एक अर्ब छ करोड १९ लाख किस्तासमेत यसै अवधिमा भुक्तानी गरिएको छ ।

दुग्ध विकास संस्थान : दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्रलाई आठ महिनाको अवधिबाट घटाएर दुईदेखि तीन महिनामा झारेको छ । यसअघि रु ७२ करोड रहेको बक्यौता रकम अहिले ३५ करोड रुपैयाँमा झारिएको छ ।

किसानलाई दूधमा प्रतिलिटर रु एक प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरू भएपछि डिडिसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ । राजस्व सङ्कलनसमेत औसत दैनिक रु ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ ।
कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गर्दै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ । डिडिसीले चाँडै खाडीमुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको छ ।

सिंहदरबार वैद्यखाना विकास समिति : सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि रु.११ करोड १६ लाख बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ । गत आर्थिक वर्षमा औषधिको कारोबार करिब रु.१३ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो ।

निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर भएको छ । हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ ।

राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको यो सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको छ । इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ । माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको छ ।

रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेका सुधारका आशालाग्दा परिणामका सूचक हुन् । यी उपलब्धिले इच्छाशक्ति, इमान्दार प्रयास र प्रभावकारी व्यवस्थापनका साथ अघि बढ्दा लामो समयदेखि समस्याग्रस्त राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिने विश्वास बलियो बनाएको छ ।