ड्यालस (अमेरिका) । भरखरैमात्र लगभग दुई तिहाई बहुमतका साथ नेपालमा सरकार बनाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीको अमेरिकी प्रवास संगठनमा चाँही भाँडभैलो सुरु भएको छ ।
रास्वपाको प्रवासी भातृ संस्था प्रवास नेपाली सम्पर्क विभाग अमेरिका भित्र नेपालको दुई तिहाईको प्रभाव गतिलैसँग परेको छ । फलस्वरुप कार्यसमितिको दुई तिहाई बहुमतले सभापति दिपक सुनुवारलाई पदच्युत गरेका छन् । आफूले मनोनित गरेर समितिमा राखेका पदाधिकारी तथा सदस्यहरुले पदच्यूत गरेपछि सभापति सुनुवारले गत शनिबार कार्यसमिति र १३ राज्यका सबै च्याप्टरहरु विघटन गरिएको घोषणा गरेका छन् ।
केही दिन अघि बसेको बैठकले सभापति सुनुवार अनुशासनहिन भएको आरोप लगाउँदै निष्कासनको निर्णय गर्नुका साथै त्यसको जानकारी रास्वपा केन्द्रिय समिति काठमाडौंमा पठाउने निर्णय गरेको थियो । सभापति सुनुवारले आफूले कुनै अनुशासनहिन काम नगरेको र संस्थालाई जन्माएर, हुर्काएर यहाँसम्म आफ्नै बलबुतामा ल्याएको बताए ।
अहिले पार्टी दुई तिहाई बहुमतका साथ सरकारमा छ । यस्तो भएपछि स्वार्थ चाहने, नियुक्ति लिन चाहनेदेखि लिएर ठेक्कापट्टा समेत पाउन चाहनेहरुकको बोलवाला प्रवासमा समेत देखिएको छ । त्यही भएर मलाई निष्कासनको नाटक मञ्चन गरिएको छ सुनुवारले हिमालयखबरसँग भने ।
संस्थाभित्र विवादको मुल कारणनै नेपालको सत्ता भएको उनले बताए । पार्टीले सोमबार आपूmलाई पार्टीको विभागले २४ घण्टे स्पष्टीकरण सोधेकोमा चकित परेको उल्लेख गर्दै सुनुवारले त्यसको जवाफ समेत पठाईसकेको बताएका छन् । प्रवास नेपाली सम्पर्क विभागले सभापति सुनुवारलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि उल्लेख गर्दै निलम्बन गरिएको समेत उल्लेख गरेको छ ।
अहिलेसम्म रास्वपाको अमेरिका प्रवास विभाग तदर्थ समितिकै रुपमा रहेको छ । सभापति सुनुवारले अधिवेशन भव्य रुपमा गरेर बिदा हुने सोच बनाएको भएपनि संस्था कव्जा गर्न खोज्नेहरुले यस्तो गरेको समेत आरोप लगाए ।
सभापति सुनुवारले संस्थाको हित विपरित कार्य गरेको आरोप कार्यसमितिका सदस्य आशिष मिश्रले लगाएका छन् । हित विपरित के के हुन् भनेर जानकारी माग्दा उनले सभापतिले सामाजीक सञ्जालमा संस्था कमजोर हुने हिसाबले टिप्पणीहरुले लेखेको आरोप लगाए ।
मिश्रले त यतिसम्म भने कि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपसभापतिलाई दिइसकेका व्यक्ति फेरि फर्किएर संस्थाको नेतृत्व गर्न खोजेको हुँदा कारवाही गरिएको हो ।
स्रोतका अनुसार संस्थाका मनोनित सचिव चेतराज उपाध्यायले टेक्सस च्याटरलाई विघटन गर्ने प्रस्ताव केही महिना अघि राखेका थिए । आफ्नो अनुकुल नभएको र आफूलाई अध्यक्ष रविन पाठकले सम्मान नगरेको झोँकमा विघटन गर्ने प्रस्ताव प्रति सभापति सुनुवारले सहमति नदिएपछि दुईबीच विग्रह बढ्दै गएको थियो । त्यसैको कारण सभापति सुनुवारलाई बहुमतको आडमा कारवाही गरिएको बताइएको छ ।
स्रोतका अनुसार, सचिव उपाध्यायले स्वेच्छाचारी तरिकाले केन्द्रीय सदस्यहरू मनोनीत गर्ने तथा केन्द्रमा बहुमतको धम्की दिँदै आफ्नो अनुकूल एजेन्डाहरूमा छलफल गराउने गरेको पनि आरोप छ।उनी डा. तोसिमा कार्कीको अमेरिका भ्रमणका बेला दीपक सुनुवारले नै समर्थन गरेर ल्याएको पात्र भएको बताइन्छ। हाल रास्वपाको विदेश विभाग हेर्ने दीपक बोहरा र सचिव पदम पन्थीसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै नेपालमा गएर पटक–पटक फोटो पोस्ट गर्दै आफ्नो पकड रहेको सन्देश सामाजिक सञ्जालमार्फत दिँदै आएको अारोप पनि उनी माथि रहेको छ । अहिलेको विवाद र भाँडभैलोको जड सचिव उपाध्यायनै भएको गुनासो सदस्यहरूले गरेका छन् ।
भरखरै जन्मिएको र बामे सर्दै गरेको नेपालको सत्ताधारी दलको अमेरिकी प्रवासी भातृसंस्थाभित्रको यो पछिल्लो भाँडभैलोले विशेषगरि संस्थाप्रति आशावादी रहेको युवाहरु भने निराश भएका छन् । पार्टी सरकारमा गएको एकसय दिन समेत पुरा नहुँदै पदको लागि यस्तो वितण्डा गर्छन् भने अमेरिकामा रहेका रास्वपाका कार्यकर्ताबाट के आशा गर्ने ? यी पनि पुरानै दलहरु भन्दा कहाँ र कुन कोणबाट फरक देखिए त ? रास्वपाको प्रवास विभाग गठन गर्न सुरुदेखि कृयाशील एक युवाले चिन्ता प्रकट गरे ।












प्रतिक्रिया