बिश्व घटना

प्रेम र विश्वास: एक आत्मिक स्मृति

प्रेम र विश्वास: एक आत्मिक स्मृति


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

कविता
वासुदेव पौडेल

दिने सामर्थ्य जसमा हुन्छ –
उसैले खोस्न पनि सक्छ,
तर साँच्चै प्रेम दिएको हातले
एकदिन फेरि –
टुटेको मुटुमाथि उज्यालो राख्न सक्छ।

Advertisement

यो संसार कस्तो अनौठो,
यहाँ माया पाउने मान्छे –
मौनता ओढेर रातभरि तड्पिन सिक्छ।
अनि माया दिने मान्छे –
आफ्नै पीडा लुकाएर मुस्कुराउन सिक्छ।

माया केवल शब्द मात्र कहाँ हो र?
यो त कहिलेकाहीँ –
घाउ बनेर नसा नसामा बग्ने स्मृति रहेछ,
अनि कहिलेकाहीँ –
पाप्राले ढाकिएको पुरानो चोटभित्र
अझै जीवित रहेको
ऊर्जावान् पोखरीको बिम्ब रहेछ।

आफूलाई चिन्ने मानिसले मात्र
भित्रै एउटा ब्रह्माण्ड भेट्न सक्छ,
किनकि उसले आफ्नै मौनताभित्र
आत्माको स्पष्ट आवाज सुन्न सक्छ।

तर संसार चिनेँ भन्नेहरू –
अक्सर आफैलाई चिन्न सकिरहेका हुँदैनन्,
अरूको अनुहार पढ्न खोज्नेहरूले
आफ्नै आँखाभित्रको आँसु देख्न सक्दैनन्।

कति अनौठो यो मानव स्वभाव –
हामी सारा संसार जित्न त खोज्छौँ,
तर आफ्नै हृदय जित्न भने कहिल्यै खोज्दैनौँ।

निस्वार्थ मायाको ताप
साँच्चै अद्भुत हुँदो रहेछ –
जसले वर्षौंदेखि कठोर बनेको
त्यो ढुङ्गालाई पनि
बिस्तारै-बिस्तारै पगाल्न सक्छ।

एउटा सानो टुकीले मात्र पनि
विशाल अँध्यारो चिर्न सक्छ भने –
मानिसको अटल श्रद्धाले त
मौन पत्थरलाई पनि बोलाउन सक्छ।

सायद त्यसैले त –
मन्दिरका ती ढुङ्गाहरू
आज देवता बनेका हुन्,
र मानिसहरू आफ्नै विश्वास बोकेर
त्यहाँ शिर झुकाउन पुगेका हुन्।

याद राख प्रिय –
यदि प्रेम साँचो छ भने,
यो कठोर संसार पनि एकदिन पक्कै पग्लन सक्छ,
अनि तिम्रो पवित्र श्रद्धाले
त्यो निष्प्राण पत्थर पनि बोल्न सक्छ।

हो, प्रेम साँचो भए –
यो पत्थर जस्तो कठोर संसार पनि
एकदिन पग्लन सक्छ।

किनकि-
दिने सामर्थ्य जसमा हुन्छ,
उसैले लिन पनि सक्छ,
र यही संसारलाई
नयाँ बिहानी दिन पनि सक्छ।
जसले जिन्दगी दिन्छ,
उसैले एकदिन
मौन भएर फिर्ता लिन पनि सक्छ।

बलेको प्रेमको दियोलाई
हावाले मात्र कहाँ निभाउँछ र?
सायद –
त्यही अदृश्य स्पर्शले शान्तसँग निभाइदिन्छ,
जसले यसलाई पहिलोपटक बालेको थियो।

त्यसैले –
अलमलमा धेरै नपरौँ प्रिय,
किनकि यो जीवन त,
साँझको ओइलाउँदो उज्यालो जस्तै,
केवल एक क्षणिक सत्य रहेछ।

माया बाँड्न सके बाँडौँ,
विश्वास रोप्न सके रोपौँ,
किनकि अन्त्यमा,
मानिससँग बाँकी रहने भनेको,
धन, वैभव वा भीड होइन रहेछ।

मात्र आफैलाई गरेको माया रहेछ,
मात्र अरूलाई दिएको प्रेम रहेछ,
मात्र कसैबाट पाएको अपनत्व रहेछ,
मनभित्र बाँचिरहने एउटा अटल विश्वास रहेछ,
र समयको आँधीले पनि मेट्न नसक्ने
एउटा पवित्र ‘आत्मिक स्मृति’ मात्र रहेछ।

त्यसैले, हृदयमा राखिराख्नु,
अनि मनले बुझिराख्नु –
कि साँच्चै प्रेम दिएको हातले नै
एकदिन फेरि –
टुटेको मुटुमाथि उज्यालो राख्न सक्छ।