टेक्सस

विदेशमा वस्ने नेपालीको नेपाली नागरिकता निरन्तर गर्दा देशलाई हानी छैन गभर्नर डा. पौडेल

विदेशमा वस्ने नेपालीको नेपाली नागरिकता निरन्तर गर्दा देशलाई हानी छैन गभर्नर डा. पौडेल


ड्यालस (अमेरिका)- नेपाल राष्ट्र बैंक गभर्नर डा. विश्वनाथ पौडेलले विदेशमा वस्ने नेपालीको नेपाली नागरिकता निरन्तरता गर्दा देशलाई कुनै हानी नगर्ने वरु यसले देशलाई फाइदानै हुने वताएका छन्

शनिबार टेक्ससको ड्यालसमा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरकृयामा गभर्नर डा. पौडेलले विदेशको नागरिकता लिँदैमा नेपाललाई कुनै हानी नहुने धारणा राखेका हुन । नेपालीले १० वटा देशको नागरिकता लिएपनि हामीलाई के समस्या उनले भने । पढेको सक्षम व्यक्ति, लगानी गरेर नेपालमै रोजगारी दिनसक्ने ल्याकतको लगानीकर्ता, नेपाललाई योगदान गर्नसक्ने व्यक्ति छ भने जुनसुकै देशको नागरिकता लिएपनि नेपालले समस्याको रुपमा लिनु नहुने विचार राखे ।

Advertisement
नेपाल राष्ट्र बैंक गभर्नर डा. विश्वनाथ पौडेल

विदेशमा रहेका नेपालीहरुले आफू बसेको देशको नागरिकता लिएपछि पुरानो नेपाली नागरिकताको निरन्तरताको माग लामो समयदेखि गर्दै आएका छन् । बालेन्द्र शाहको नेतृत्वमा गठन भएको वर्तमान सरकारले गैर आवासीय नेपालीहरुको यो मागलाई सकारात्मक रुपमा लिएको छ ।

नेपालमा लगानी, ज्ञान र क्षमता यतिखेर जरुरत रहेको चर्चा गर्दै डा। पौडेलले बैंकिङ्ग क्षेत्रले पनि परम्परागत रुपमा मात्र लगानी नगरि नयाँकोणबाट गर्नुपर्नेमा आवश्यकता रहेको औंल्याए ।

अमेरिकामा बैंकहरुले लगानी गर्दा प्रोजेक्टमात्र हेर्छन, तर नेपालमा कर्जा माग्ने मान्छे, धितो र प्रोजेक्ट समेत हेर्ने चलनले लगानीकर्ता उत्साहित नभएको आपूmले पाएको समेत उल्लेख गरे ।

अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर केही वर्ष अघिमात्र नेपाल फर्किएका डा. पौडेलले आफू गनर्भर भएर आएपछि गैर आवासीय नेपालीहरुलाई लगानीका लागि स्विकृत लिन राष्ट्र बैंकसम्म आउनुपर्ने नीतिलाई खारेज गरिदिएको समेत बताए । अब सबै काम उद्योग विभागले हेर्छ, कोही पनि लगानीकर्ताले राष्ट्र बैंकको ढोका चाहार्नु पनि पर्दैन र कोही हाकिमलाई चिन्नु पनि पर्दैन उनले भने ।

देशको आर्थिक अवस्था सुदृढ रहेको चर्चा गर्दैै पौडेलले बैंकहरुसँग प्रयाप्त रकम मौज्दात रहेको तर कर्जाको माग निकै कम भएको बताए । अहिलेको अवस्थामा सन् १९३० ताका अमेरिकाले अवलम्बन गरेको लगानी नीति र चीनले लिएको नीतिलाई पछ्याएर अघि बढ्दा बैंकहरुसँग रहेको अत्यधिक तरलता उत्पादनमुलक क्षेत्रमा परिचालन भएर रोजगारी सिर्जना हुनसक्ने उल्लेख गरे ।

एनआरएनएका उपमहासचिव वेदराज बस्नेत

विगतमा अवस्था कस्तो थियो भने तपाईहरु कोही एक अर्ब रुपैयाँ लिएर नेपाल जानुभयो र कहाँ लगानी गरौं भनेर सरकारलाई सोध्नुभयो भने सरकारनै अलमलिने अवस्था थियो । अब त्यो अवस्था रहँदैन उनले भने । अब ठूला राजमार्ग, सुरुङमार्ग जस्ता धेरै रकम खर्च हुने क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने र त्यसले देश विकास हुने गभर्नर पौडेलले बताए ।

नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसाल

सरकारलाई अब बिक्रम सम्वत् २०४८ सालपछिको जस्तै सबै क्षेत्रमा निजीक्षेत्रलाई खुल्ला गर्ने र अघि बढाउने नीति लिन आफूले सुझाव दिएको समेत उनले उल्लेख गरे। स्कूल, मेडिकल कलेज, सडकको क्षेत्रमा अब निजी क्षेत्रलाई खुल्ला गर्नुपर्छ, सूचना प्रविधिको क्षेत्र सोचेभन्दा बढी खुल्ला हुँदैछु उनले भने ।

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उत्साहप्रद कुराकानी भएको उनले बताए । उहाँमा केही गरौँ, नयाँ गरौँ भन्ने चाहना रहेको र सानो भएपनि देखिने परिवर्तन गरौँ भन्ने इच्छा रहेको पाएँ डा. पौडेलले भने ।

हजुरबाको पैसा पनि नातीले पाउनुपर्छः
सरकारले १० वर्षदेखि बैंकहरुमा निष्कृय रहेको रकम खर्च गर्ने नीति सार्वजनिक गरेको सन्दर्भमा गभर्नर पौडेलले त्यस्तो रकम हजुरबाको खातामा थियो भनेर प्रमाण लिएर नाती आउँदा पनि दिनुपर्ने बताए ।

अहिले निष्कृय खातामा रहेका रकम राष्ट्र बैंक अन्तरगतकै बैंकिंग विकास कोषमा जम्मा हुँदै आएको छ । सरकारलाई आफूले सुझाव दिँदा हरेक व्यक्ति जहाँ भएपनि उसको रकम सुरक्षित गर्ने दायित्व राष्ट्र बैंकको भएकोले संरक्षण गर्नुपर्छ भनेर सुझाव दिएको समेत उनले बताए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्ब महासचिव गौरीराज जोशी

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्ब महासचिव गौरीराज जोशीले एक खर्ब रुपैयाँको डायस्पोरा फण्डको अवधारणा नेपाल सरकारले ल्याएको र त्यसमा लगानी गर्न उत्साहित भएको उल्लेख गरे । अमेरिकाले यताबाट पठाउने रकममा ५ प्रतिशत कर लगाउने चर्चा चलेको उल्लेख गदैै जोशीले त्यसमा दुबै सरकारले पहल गरेर कर हटाउन सुझाव दिए ।

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स अध्यक्ष श्रद्धा श्रेष्ठ

चेम्बरकी अध्यक्ष श्रद्धा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनएका उपमहासचिव वेदराज बस्नेत, नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसाल लगायतले नेपालको नयाँ सरकारसँग प्रवासी नेपालीहरुले ठूलो आशा र अपेक्षा राखेको उल्लेख गर्दै प्रवासी नेपालीहरुलाई साथ लिएर, सुझाव लिएर नेपाल सरकार अघि बढ्ने हो भने नेपालको भविष्य उज्ज्वल रहेको बताएका थिए ।