मुख्य समाचार

पत्नी राधिका शाक्यको जिम्मामा घर फर्किए ओली

पत्नी राधिका शाक्यको जिम्मामा घर फर्किए ओली


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालबाटै उनकी पत्नी राधिका शाक्यको जिम्मामा रिहा गरिएको छ । ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी राधिका शाक्यको जिम्मा लगाइएको भट्टराईले बताए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । लेखक हिरासतमा रहे पनि ओली भने जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा थिए ।

Advertisement

त्यसलगत्तै ओलीकी पत्नी शाक्य र लेखकपत्नी यशोदा लेखकले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र लेखकमाथिको अनुसन्धान २६ चैतसम्म टुङ्ग्याउन परमादेश जारी गरेको थियो । अदालतले बिहीबारसम्म पनि अनुसन्धान टुङ्गिन नसके शर्तसहित छाड्न भनेको थियो । सोही आदेशअनुसार ओलीलाई परिवारको जिम्मा लगाइएको हो ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका आधारमा ओली र लेखक निवासबाटै पक्राउ परेका थिए । जनजी प्रदर्शनमा प्रहरी गोलीबाट किशोरहरूको मृत्यु भएको घटनाको छानबिनका लागि पक्राउ गरिएका उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले आदेश दिएको थियो ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो । अदालतले उनीहरूको पक्राउलाई गैरकानुनी नभने पनि विभिन्न चार वटा मुख्य कारण देखाउँदै थुना बाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई आदेश दिएको हो । ओलीलाई अस्पतालमा र लेखकलाई सशस्त्र प्रहरी गणमा राखिएको थियो । पूर्वगृहमन्त्री लेखकलाई पनि आजै छाड्ने तयारी भइरहेको छ ।