मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्रलाई वामदेवको खुलापत्र : ओलीको पक्राउ कानुनविपरीत

प्रधानमन्त्री बालेन्द्रलाई वामदेवको खुलापत्र : ओलीको पक्राउ कानुनविपरीत


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ कानुनविपरीत भन्दै रिहाईको माग गरेका छन् । शनिबार प्रधानमन्त्री बालेन्द्र शाह बालेन का नाममा खुल्लापत्र जारी गर्दै गौतमले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

उनले ७४ वर्षका वृद्ध र शारीरिक रूपमा अस्वस्थ नेतालाई अपमानित हुने गरी थुनामा राख्नु उचित नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि लागेको आरोप पहिला अदालतबाट प्रमाणित हुनुपर्ने र छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा मात्र कारबाही हुनुपर्ने जिकिर गरेका छन्।

साथै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बनेकोमा बधाई दिँदै गौतमले न्यायपूर्ण र कानुनी प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्न सुझाव पनि दिएका छन्।

उनले यस्तो लेखेका छन्-

सम्माननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलिजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो ।

यस वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंशको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यू भयो । त्यसपछि अरु धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भंग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।

त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रुपमा भूमिका निर्वाह गर्नुभयो ।

आज तपाई नेपालको ४३ औं प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरुमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।

प्रधानमन्त्रीज्यू,

म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानवीन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्ने हो ।

प्रधानमन्त्री ज्यू !

हाम्रो संविधानबमोजिम कसैलाई मृत्यूदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्यूदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियोे । त्यसो नगरी रातारात घर घेरेर, एकाविहानै पकाउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।

अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित,

वामदेव गौतम

– पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

– केन्द्रीय सदस्य, नेपाली कम्युनिष्ट पार्टी

२०८२/१२/२१