काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन्। ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ। तीमध्ये ४६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न सकेको छैन।
चट्याङबाट तीन हजार ४०८ जना घाइते भएका छन्। तीमध्ये एक हजार ३१७ पुरुष, एक हजार ६३३ महिला छन्। चार हजार २९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ। साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ।
पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८४९ वटा पशुचौपायामा क्षति पुगेको छ। केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल ११ करोड ८२ लाख १८ हजार २६० मूल्य बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिए।
विसं २०७० देखि २०८२ सम्मको अवधिमा मकवानपुरमा सबैभन्दा बढी १८२ वटा चट्याङका घटना दर्ता भएका छन्। उक्त जिल्लामा २१ पुरुष र २० महिला गरी ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्। साथै तीन सय परिवार प्रभावित भएका छन्।
झापामा एक सय १३ घटना, उदयपुरमा एक सय चार, दैलेखमा एक सय पाँच र मोरङमा ९५ वटा घटना दर्ता भएका छन्। मानवीय क्षतिको हिसाबले मकवानपुरमा सबैभन्दा बढी ७५, मोरङमा ४२ र उदयपुरमा ३९ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
पूर्वी पहाडी जिल्लामा पनि चट्याङको प्रभाव उल्लेखनीय देखिएको केन्द्रको भनाइ छ। खोटाङमा ९२, संखुवासभामा ८६ र ओखलढुङ्गामा ७६ वटा घटना दर्ता भएका छन्। यसले यी क्षेत्रमा चट्याङको निरन्तर जोखिम देखाएको छ। मधेश प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, पर्सालगायत जिल्लामा दर्जनौँको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ।
पश्चिम नेपालतर्फ रोल्पामा ९१, गुल्मीमा ७२, प्युठानमा ७२ र अछाममा ७३ वटा घटना दर्ता भएका छन्। आर्थिक क्षतिमा झापामा सबैभन्दा बढी करिब एक करोड सात लाख मूल्य बराबरको क्षति भएको छ भने खोटाङ, उदयपुर र संखुवासभामा पनि बढी नोक्सानी भएको छ।
यसैबीच, विज्ञहरूले मनसुन र प्रि–मनसुन अवधिमा चट्याङका घटना बढी हुने भएकाले सचेतना अभिवृद्धि र सुरक्षात्मक उपाय अपनाउन जोड दिएका छन्।
वार्षिक औसत ६७ जनाको मृत्यु
विसं २०७९ देखि विसं २०८१ सम्मको तथ्यांक विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने गरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकले देखिएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार विसं २०७७ मा दुई दुई ४८ वटा घटना हुँदा ७० जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएका थिए। विसं २०७८ मा घटनाको संख्या दुई सय तीनमा झरेकामा ती घटनामा ५६ जनाको मृत्यु र एक सय ७९ जना घाइते भएका थिए।
वरिष्ठ हाइड्रोलोजिष्ट शर्माका अनुसार विसं २०७९ मा दुई सय ९० घटना दर्ता हुँदा ८४ जनाको मृत्यु, दुई सय ३८ जना घाइते, विसं २०८० मा दुई सय ४७ घटनामा ४४ को मृत्यु र दुई सय २८ घाइते, विसं २०८१ मा चार सय ३६ घटना हुँदा वर्ष ७९ जनाको मृत्यु र तीन सय २२ जना घाइते भएका छन्। विसं २०८२ को वैशाखदेखि चैत्र १४ गतेसम्मको अवधिमा चार सय ४१६ घटना हुँदा ४७ को मृत्यु र तीन सय सात जना घाइते भएका उनले जानकारी दिए।
यसैबीच, जल तथा मौसम विज्ञान विभागको प्रवक्ता एवं मौसमविद् विभूती पोखरेलले हावाहुरी चलिरहेको तथा चट्याङ परिरहेको समयमा घरबाहिर ननिस्कन सबैलाई आग्रह गरे। विभागका मौसमविद् गोविन्द झाले चट्याङ आउन लागेको छ कि छैन भनेर सर्वसाधारणले केही स्पष्ट प्रारम्भिक संकेतबाट पहिचान गर्न सक्ने बताए।
उनका अनुसार अस्थिर वायुमण्डल, दिउँसो गर्मी बढ्नु र विस्तारै कालो बादल लाग्नु, बादल तीव्रगतिमा सर्नु र अचानक चिसो हावा चल्नु चट्याङको प्रमुख संकेत हुन्।
टाढाबाट गड्याङगुडुङको आवाज सुन्नु पनि चट्याङ आगमनको स्पष्ट संकेत रहेकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा मौसमविद् झाले जोड दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थाली गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर वा संरचना भए भित्र जानुपर्ने जनाएको छ।












प्रतिक्रिया