काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। गृहमन्त्री गुरुङले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्। उनलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ प्रहरी कर्मचारीले स्वागत गरे।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त गरेको जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेकामा धन्यवाद दिए। उनले आगामी दिनमा निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए। प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरुङको भनाइ थियो।
गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए। नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम् प्रयोग गर्न उनले जोड दिए। विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको व्यवस्था गरिने गृहमन्त्री गुरूङले उल्लेख गरे।
प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै गृहमन्त्री गुरूङले साङ्गठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री एवं साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइका बाबजुद प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण रुपले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गरे।
निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले नेपाल प्रहरी जस्तोसुकै परिवेशमा कार्यसम्पदान गर्न सक्षम रहेको पुष्टि गरेको गृहसचिव श्रेष्ठले बताए। विगतभन्दा फरक शैलीमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार तथा मानवअधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आएको बताए। प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षा वास्तविक रूपमा सम्बोधन हुने उनको भनाइ थियो।
महानिरीक्षक कार्कीले प्रहरी संगठन र संगठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धिमा प्रहरी सङ्गठन नेतृत्व लाग्दै आएको बताए। सो अवसरमा प्रहरीले हालसम्म गरेको कार्यसम्पादनबारे गृहमन्त्री गुरुङलाई जानकारी गराइएको थियो।
प्रहरी प्रधान कार्यालयमा रहेका डाटा सेन्टरलगायतको गृहमन्त्री गुरुङले अवलोकन समेत गरेका थिए।












प्रतिक्रिया