मुख्य समाचार

वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ ।

वर्षाका कारण सवारी आवागमन प्रभावित हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायत विभिन्न स्थानको निरीक्षण गर्दा वर्षाका कारण सवारी जाम बढेको छ ।

Advertisement

उहाँका अनुसार वर्षाका कारण सडकमा पानी जम्दा सवारी सञ्चालनमा थप समस्या देखिएको हो । यसले ट्राफिक ‘फ्लो’ अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो । सबैलाई हतार नगरी धैर्यताका साथ सवारी चलाउन र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।

“सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ”, प्रहरी उपरीक्षक सुवेदीले भने, “ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्छ । हतारको मनस्थितिले दुर्घटना हुनसक्छ ।” हुरीबतासका कारण सडक किनारमा रहेका रुख ढल्ने, बिजुली तथा टेलिफोनका तार चुँडिने, पोल लड्ने तथा घरका छाना उड्ने जोखिम पनि रहेको अवस्थामा सकेसम्म अनावश्यक यात्रा नगर्न र यात्रा गरिहाल्नुपरेमा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ ।

यस्तै, वर्षाका समयमा दुर्घटनाको जोखिम बढ्नुका मुख्य कारणमा चालकको हतारो मनस्थिति, लेन मिच्ने प्रवृत्ति, ट्राफिक बत्ती तथा सङ्केतको उल्लङ्घन प्रमुख रहेको ट्राफिक प्रहरीले जनाएको छ । साथै, काठमाडौँका सडकमा रहेका खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटनाको सम्भावना अझ बढ्ने बताइएको छ ।

माइतीघर, पुतलीसडक र तीनकुनेलगायत स्थानमा वर्षाका कारण सडकमा समेत पानी जमेको छ ।