काठमाडौँ । रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक दिनेशप्रसाद थानीले विभिन्न चार सुरक्षा निकायका प्रमुखहरूलाई प्रशंसा पत्र र दोसल्लासहित सम्मान गरेका हुन्।
सम्मानित हुनेमा चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिशचन्द्र हमाल तथा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना रहेका छन्।
फागुन २१ मा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनीहरूले निर्वाह गरेको भूमिकाको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको प्रशासनले जनाएको छ। संवेदनशील मानिएको जिल्लामा सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन हुन सुरक्षा समितिका सदस्यहरूको समन्वय र सक्रियता निर्णायक बनेको प्रमुख जिल्ला अधिकारी थानीको भनाइ छ।
उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले उच्च व्यावसायिकता, अनुशासन र समन्वय क्षमता प्रदर्शन गरेका थिए।
यसअघि जिल्ला प्रहरी कार्यालयले पनि निर्वाचनमा योगदान पुर्याउने २४ जना प्रहरी कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरेको जनाएको छ।












प्रतिक्रिया