मुख्य समाचार

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शीरूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।

काठमाडौँमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा आज प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरे ।

Advertisement

उनले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रियरूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मञ्चमा एकता कायम हुनु सकारात्मक भएको बताए । उनले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखे ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ सुदृढ बनाएको बताए ।

नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले गैरआवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री कार्कीले नेपाललाई अवसरयुक्त र समृद्ध राष्ट्र बनाउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक रहेको धारणा राखे । उनले यस महाधिवेशनबाट व्यक्त भएको एकता र प्रतिबद्धताले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरे ।