मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए/नभएका विषयमा विशेष अनुगमन गरिरहेको स्मरण गराएको हो ।

काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

यो उम्मेदवारले जित्नेछन्, ‘यो उम्मेदवार त्योभन्दा धेरै अगाडि’ ‘नयाँतिर आकर्षित’ ‘यसको लहर छ, यसको छैन’ ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आममतदाता दिग्भ्रमित हुने समाचार सामग्री प्रकाशित भएकामा काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको स्पष्ट पारेको छ ।

प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ/हानि पुग्नसक्नेतर्फ सचेत गराउँदै काउन्सिलले तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्त्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकार यस महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनुपर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए ।

निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न काउन्सिलले आग्रह गरेको छ ।

आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न/नगराउन ध्यानाकर्षण गराइएको छ ।

शेयर गर्नुहोस:

135
Shares